समाचार शुक्रबार, फागुन २, २०७६

कोरोनाभाइरसका कारण नेपालको पर्यटन क्षेत्र प्रभावित : चीनका लागि हुने ५७ वटा उडान रद्द

हिमालखबर

कोरोनाभाइरसका कारण नेपालको पर्यटन क्षेत्र प्रभावित : चीनका लागि हुने ५७ वटा उडान रद्द

कोरोनाभाइरसका कारण तीन वटा नेपाली वायुसेवाका चीनका लागि हुने उडान प्रभावित भएका छन् । चीनबाट नेपाल आउने दुई र चीन जाने एक नेपाली वायुसेवाका हप्ताका ५७ वटा उडान रद्द भएका छन् ।

कोरोनाभाइरसका कारण यात्रु संख्या घटेको र जोखिम न्यूनीकरण गर्न अरू वायुसेवाको पनि उडान कटौती भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले जानकारी दिए । नेपालको हिमालयन एयरलाइन्स र चीनका पाँच वटा वायुसेवाले गर्दै आएको साताका ६५ वटा उडानमा बिहीबारदेखि ५७ वटा रद्द गरेर जम्मा आठ वटा मात्रै उडान भरिरहेका छन् ।

नेपालबाट चीन जाने हिमालय एयरलाइन्स, चीनको ल्हासाबाट आउने सिचुवान एयर र सियानबाट आउने तिवेत एयरलाइन्सका सबै उडान बन्द भएका छन् ।

चीनको छेन्दुबाट आउने एयर चाइना र ग्वान्झाओबाट आउने चाइना साउदर्नले भने शुक्रबारबाट सातामा २-२ वटा मात्रै उडान गर्न थालेका छन् । चीनको कुन्मिङबाट आउने चाइना इस्टर्नले सातामा चार वटा मात्रै उडान गर्न थालेका छन् । यी वायुसेवाले काठमाडौंका लागि दैनिक दुई वटासम्म उडान गर्ने गरेको पौडेलले बताए।

चीनबाट नेपाल आउने र चीन जाने नेपाली वायुसेवाले कम्तिमा मार्च महीनासम्मका लागि उडान बन्द तथा कटौतीको सूचना दिएका हुन् ।

काेरोनाभाइरसका कारण दुई साता अगाडि मात्रै चीनको चोङचिङ, गुइयाङ र चाङ्साका सबै उडान रद्द गरेको हिमालय एयरलाइन्सले बेइजिङमा मात्रै सातामा १० वटा उडान गर्दै आएको थियो । चिनियाँ पर्यटक घटेका र कोरोनाको त्रासका कारण यो गन्तव्यको पनि उडान बन्द गरेको उक्त एयरलाइन्सले बताएको छ । हिमालयले चीनमा सातामा १५ वटा उडान गर्दै आएको थियो ।

एयर चाइना र चाइना साउदर्नले पनि साताको १४ वटा उडानलाई घटाएर जम्मा दुई वटामा झारेका छन् । चाइना इष्टर्नले भने सातामा गर्दै आएका ११ वटा उडानलाई घटाएर सोमबार र बुधबार बाहेक दैनिक एक उडानका दरले सातामा चार वटा मात्रै गर्न थालेको छ । कोरोनाका कारण चिनियाँ पर्यटकको आगमन घट्दा नेपाली पर्यटन क्षेत्रसमेत प्रभावित हुन थालेको छ ।

प्रतिकृया दिनुहोस