बिमल घर्तिमगरले लिगकै महत्वपूर्ण खेल खेल्ने
जारी शहीद स्मारक ए डिभिजन लिगको उपाधि भिडन्त शनिबार हुँदैछ । लिगको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी र दोस्रो स्थानमा रहेको सान मिगेल मछिन्द्र युवा क्लब बीच शनिबार दिउँसो १ः३० खेल हुनेछ ।
१२ खेलबाट २९ अंक जोडेको आर्मी समान खेलबाट एक अंक कम ल्याउँदै दोस्रो स्थानमा रहेको मछिन्द्रबीच हुने खेलको नतिजाले उपाधिको छिनोफानो हुनेछ ।
गएको सिजनमा अन्तिम दोस्रोमा परेको मछिन्द्र उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने होडमा छ । मछिन्द्रले बिमल घर्तिमगरको निलम्बनको समय सकिने भएकाले अन्तिम खेलमा उनलाई खेलाउने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी मछिन्द्रले अन्तिम खेलमा बिमललाई खेलाउने जानकारी दिएको हो । कुवेत विरुद्ध विश्वकप छनोटका लागि भुटान जाने अघिल्लो साँझ नाइट क्लबमा गएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिमललाई ९० दिन निलम्बन गरेको थियो ।
त्यही निलम्बनका कारण यो सिजनको लिग बिमल घर्तिमगरले खेल्न पाएका थिएनन् । तर, शनिबार दिउँसो आर्मी विरुद्ध दशरथ रंगशालामा हुने खेलमा बिमललाई उतार्ने मछिन्द्रले जानकारी दिएको छ ।