कला/साहित्य शुक्रबार, फागुन २, २०७६

हर दिन ‘भ्यालेन्टाइन डे’

हिमालखबर

हर दिन ‘भ्यालेन्टाइन डे’

-अनुशील

एक दशकअघिसम्म पश्चिमाहरूको नक्कल भनेर आलोचित हुने गरेको ‘भ्यालेन्टाइन डे’लाई नेपाली समाजले वरण गरिसके जस्तो छ । १४ फेब्रुअरी आउनु एक साताअघिदेखि नै नेपाली मिडियाहरूमा भ्यालेन्टाइन डेको रङ चढिसकेको छ ।

पश्चिमा देशहरूमा १४ फेब्रुअरीमा प्राचीन रोमका प्रेम पक्षधर पादरी भ्यालेन्टाइनको स्मरण गर्दै प्रणय दिवस/उत्सव मनाइन्छ । नेपालमा पनि अहिले ‘भ्यालेन्टाइन डे’ को अवसरमा खास गरेर शहरी क्षेत्रका होटल र रिसोर्टहरू धमाधम बुक भइरहेका छन् । रेस्टुरेन्टहरूमा डान्स र विभिन्न ब्रुअरीहरूको सेल्स पार्टीको तयारी भइसकेको छ । ग्रिटिङ्स कार्ड र गिफ्ट सपहरूमा भीडभाड बढ्न थालिसकेको छ ।

फूल पसलहरूमा ताजा गुलाबका थुँगाहरू ल्याईंदैछन् । राजधानीको दरबारमार्ग, ठमेल, विभिन्न रिसोर्ट, होटल र रेस्टुरेन्टहरू पार्टीमय हुने अवसर ‘भ्यालेन्टाइन डे’ नै भएको छ, अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस इभ पछि  ।

यस्तो माहोलमा रमाउनेहरूको सङ्ख्याले जितेकैले हुनुपर्छ, ‘भ्यालेन्टाइन डे’ मनाउनुलाई अब सांस्कृतिक अतिक्रमण वा आयातीत संस्कृति भन्न छाडिएको छ । महिनौँ अगाडिदेखि यसको तयारीमा जुट्ने युवायुवतीहरूका लागि त यो दशैँ, तिहार जस्तो विशेष चाड नै भएको छ । विवाहित जोडीहरू समेत यो दिनलाई सकेसम्म भव्य र स्मरणीय बनाउन थालेका छन् । यस पटकको प्रणय दिवसमा हिमाल ले केही त्यस्ता जोडीको प्रेम अनुभव बाँड्ने जमर्को गरेको छ जो विवाहपछि ‘भ्यालेन्टाइन डे’ मनाउँदै आएका छन् ।

हर दिन ‘भ्यालेन्टाइन डे’

डीसीबीएल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधीर खत्री बैंसको आँगनमा पाइलो टेक्दा रसियामा इन्जिनियरिङ पढ्दै थिए । साढे दुई दशकअघिको त्यो समयमा नेपालमा त के रसियामा समेत ‘भ्यालेन्टाइन डे’को खासै प्रभाव थिएन । त्यसैले, बैंसका ती चञ्चल र आफ्नो परम्परावादी समाज भन्दा धेरै दूरको त्यो उन्मुक्त दिनहरूमा उनी धेरै परीहरूको पछि लागे ।

“तर, छोराले रसियन बुहारी ल्याइदेला भन्ने पीरले बुबाआमाले ‘वुमेन्स डे’ को अवसर पारेर बिहे गरिदिइहाले”, रसिक स्वभावका सीईओ सुधीर भन्छन्, “यसरी २६ वर्षअघिको ८ मार्चदेखि रेणु र मेरो ‘भ्यालेन्टाइन्स् डे’ शुरु भयो । अर्थात् हाम्रो लागि हर दिन प्रणय दिवस । त्यस बेला रेणु १९ र म २३ वर्षका थियौँ ।”

आउँदो नारी दिवस (८ मार्च) सुधीर र रेणुको २६औँ ‘एनिभर्सरी’ हो, जसलाई यो जोडीले हरेक साल आफन्त र साथीसँगी बोलाएर भव्य बनाउँदै आएको छ, यसपालि पनि त्यही हुन्छ । यसको अर्थ, उनीहरू ‘भ्यालेन्टाइन डे’ मनाउँदैनन् भन्ने हैन । उनीहरूलाई बिहे भएको तीन वर्षपछि कामको सिलसिलामा फिलिपिन्समा बस्दा नै ‘भ्यालेन्टाइन डे’को चस्का लागेको हो । त्यसयता हरेक ‘भ्यालेन्टाइन डे’मा एकअर्कालाई ‘सरप्राइज गिफ्ट’ दिने चलन बसाएका छन् ।

नेपाली समाज प्रणय दिवस अर्थात् “भ्यालेन्टाइन डे” बाट रङ्गिनु अघि नै गहिरो प्रेममा परेर विवाहबन्धनमा बाँधिएकाहरुका लागि हरेक दिन “भ्यालेन्टाइन डे” ।

समयको पाँचदशक तय गर्न लागेका सुधीरका निकट मित्र मण्डलीमा युवा महिलाहरू पनि प्रशस्त छन् । उनीहरूलाई पनि ‘भ्यालेन्टाइन सरप्राइज गिफ्ट’ जान्छ । अमेरिकामा पढिरहेका तीन तन्नेरी छोराका बाबुआमा सुधीर र रेणुको प्रेमजीवन बडो मादक छ । उनीहरू विन्दास जोडी बनेर संसार घुमिसकेका छन् । उनीहरूको प्रेम साथीभाइ र आफन्तसँगको जमघटमा पनि देखिन्छ ।

सुधीर आफूलाई ‘योङ्ग हर्ट’ र नयाँ जमानासँग चल्न सक्ने व्यक्ति ठान्छन् । उनका भनाइमा यो जमानामा लभ एउटासँग र बिहे अर्कासँग गर्नु÷हुनु खासै ठूलो कुरा हैन । ‘लिभिङ रिलेशन’मा बस्ने जमानाको युवा पुस्ताको प्रेम र सम्बन्धहरूलाई असहज मान्दैनन् । बुबाआमाको रोजाइकै केटीसँग बिहे गरेर धुमधाम प्रेममा परेका सुधीर भन्छन्, “मैले छोराहरूलाई पनि भन्द्याछु, साँच्चै लभ प¥यो भने जहाँको जोसुकै केटीसँग बिहे गर्नु तर केटासँग चाहिँ नगर्नु ।”

युवा उद्योगी शेखर गोल्छा भने विवाह बन्धनमा बाँधिनुअघि ६ वर्षसम्म प्रेममा परेका थिए, दिल्लीकी सीमासँग । ती दिनमा शेखर र सीमा दिल्लीका दुई कलेजमा पढ्थे, आउँदा–जाँदा आँखा जुध्दथ्यो । देखादेख हुँदाहुँदै भेटघाट हुन थाल्यो र भेटघाटहरूले एकअर्काको जे पनि मन पर्ने असल साथी बनायो । यसरी समय बितेको थाहै नपाई शेखर थप पढाइका लागि बेलायततिर लागे । “सीमालाई दैनिक देख्न÷सुन्न नपाएपछि पो मलाई थाहा भयो, उनी त मेरो ‘साथी भन्दा बढी’ भइसकेकी रहिछन्” शेखर सम्झ्न्छन् ।

अनि लन्डनबाट फोन गरेर प्रेम प्रस्ताव राखे, जुन अस्वीकार हुने कुनै चान्स थिएन । किनकि आगो एकातिर मात्र लागेको थिएन । अनि चल्यो प्रेमपत्र आदान–प्रदानको लामो शृङ्खला । यसरी २० वर्षअघि मारवाडी समुदायको संयुक्त परिवारका शेखर र ब्राह्मण समुदायका एकल परिवारकी सीमाको सन् १९९० मा धुमधामसँग विवाह भयो ।

उनीहरूले थाइल्याण्डको फुकेटमा हनिमुन मनाए । विवाहपछिको दुई दशकमा गोल्छा अर्गनाइजेशनको ठूलो कारोबारको व्यस्तताले उनीहरूको प्रेम जीवनलाई कुनै प्रभाव पारेको छैन । उनीहरूका दुई सन्तान छन्, अभिमन्यु (१७) र गरिमा (१२) । हरेक वर्ष दुई पटक १५/२० दिनको ‘होली–डे’ मा निस्कने शेखर अनुभव सुनाउँछन्, “बिहेपछि प्रेम अझ् परिपक्व हुनेरहेछ । छोराछोरी हुर्कंदै गएपछि समयसँगै मायामा बदलाव आउने रहेछ ।”

नयाँ पुस्तामा प्रेमको अर्को नाम बन्दै गएको ‘भ्यालेन्टाइन डे’ लाई भने मार्केटिङको नतिजा ठान्छन्, शेखर । तर, प्रेमलाई ‘लजिक’ हैन, ‘इमोशन’को रूपमा ठम्याउने शेखरलाई कुनै खास दिनमा प्रेमको सुरुआत वा प्रेमोत्सव गर्नुलाई सकारात्मक नै लाग्छ ।

प्रेममा जिम्मेवारी

१६ वर्षकै उमेरमा विदेशिएका सिद्धान्तराज पाण्डेले अमेरिका र बेलायतमा पढाइ पूरा गरेपछि बेलायतमै जागिर थाले । विदेशमा पढेर उतै काम गरे पनि उनलाई शुरुदेखि नै नेपालीसँगै बिहे गर्छु र नेपालमै जीवन बिताउँछु भन्ने थियो । नभन्दै, बिदामा नेपाल आएको बेला ११ वर्षअघि बबरमहलस्थित रिभिजिटेड ग्यालरीमा भएको एक कार्यक्रममा आज्ञा राणासँगको भेटले उनको जीवनलाई चाहेकै मोडतिर मोडिदियो ।

त्यसबेला अहिले जस्तो इमेल, च्याट, फेसबुक नभए पनि त्यो भेटपछिको मित्रतालाई टेलिफोनले एक वर्षमै गहिरो प्रेममा परिणत गर्न सघायो । प्रेम प्रस्ताव राख्ने र स्वीकार्ने काम फोनबाटै भयो । अनि १४ फेब्रुअरी २००१ मा ६० वर्ष जतिको एक व्यक्तिले आज्ञाको कार्यालयमै गुलाबको विशाल बुके लिएर आए जुन सिद्धान्तले बेलायतबाटै पठाएका थिए ।

२००२ को ‘भ्यालेन्टाइन डे’मा पनि यही क्रम दोहोरियो । अर्को वर्षमा त ‘भ्यालेन्टाइन डे’ आउनुअघि नै यो जोडी युरोपका विभिन्न ठाउँ घुम्दै हनिमुन मनाइसकेका थिए । अहिले उनीहरूका सात र अढाइ वर्षकी दुई छोरी छन्, श्रीवल्ली र सान्वी ।

हाल एस डेभलपमेन्ट ब्याङ्कका सीईओ रहेका सिद्धान्त सपरिवार नेपाल बस्न थालेको पनि ६ वर्ष भयो । सिद्धान्तको अनुभवमा उमेरसँगै प्रेमजीवनले नयाँ रुप लिन्छ । जस्तो कि, उनीहरूको भ्यालेन्टाइन उत्सवमा हिजोआज श्रीवल्ली र सान्वी पनि हुन्छन् । भ्यालेन्टाइन कार्ड र गिफ्ट पनि त्यही रूपमा बढेको छ । सिद्धान्त भन्छन्, “प्रेममा जिम्मेवारी पनि हुन्छ, जुन अहिलेको पुस्तामा त्यति पाइन्न ।” जिम्मेवारी कस्तो भने, काठमाडौँ बानेश्वरका रेष्टा झ र अञ्जु न्यौपानेको जस्तो । सँगै हुर्किएका उनीहरू सँगसँगै पढ्दै तन्नेरीवयमा अनन्त प्रेममा परे, विवाह गरे ।

रेष्टा अहिले प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत छन् भने अञ्जु पतिकै नाममा स्थापित फाउण्डेशनमार्फत समाजसेवामा । समाजशास्त्रमा स्नातकोत्तर उनी समाजका सुविधाविहीन बालबालिकाको शिक्षाका लागि खटिरहेकी छन् ।

पहिला उनीहरू जन्म दिन, नयाँ वर्ष र चाडपर्वलाई विशेष दिन मानेर एकअर्कालाई उपहार दिन्थे, अहिले ‘भ्यालेन्टाइन क्याण्डिल लाइट डिनर’ थपिएको छ । रेष्टा र अञ्जुका जुम्ल्याहा छोरी सेलिना र सायल छन् । जति परिपक्व बन्दै गयो उति जिम्मेवारी र माया बढ्ने उनीहरूको अनुभव छ । रेष्टा भन्छन्, “अहिलेको पुस्ता हामीभन्दा बढी नै रोमान्टिक छ । तर, जीवनमा रोमान्टिक भएर मात्र पुग्दैन, रेस्पोन्सिबल पनि हुनुपर्छ । ह्याप्पी भ्यालेन्टाइन !”

(हिमाल खबरपत्रिकाकाे १–१५ फागुन २०६८ अ‌ंकमा प्रकाशित सामग्री पुनः प्रकाशन गरिएकाे)

 

 

प्रतिकृया दिनुहोस