समाचार शुक्रबार, फागुन २, २०७६

सिडिओको सुरक्षार्थ खटिएकी प्रहरीको हतियार खोसी प्रहरी जवानले आफैंलाई गोली हाने

हिमालखबर

सिडिओको सुरक्षार्थ खटिएकी प्रहरीको हतियार खोसी प्रहरी जवानले आफैंलाई गोली हाने
null

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमको सुरक्षार्थ खटिएकी महिला प्रहरीको हतियार खोसी प्रहरी जवानले आफैंलाई गोली प्रहार गरेका छन् ।

सिडियोको सुरक्षार्थ निवासको गेटमा खटिएकी प्रहरी जवान संगीता चौधरीको हतियार खोसेर सिन्धुली कारागार सुरक्षामा खटिएका प्रहरी जवान चन्द्रकिशोर रायले आफैंलाई गोली हानेका हुन् । थ्रि नट थ्रि राइफल खोसेर रायले आफ्नै दायाँ कोखामा गोली चलाएका थिए ।

गोली लागेर घाइते रायलाई जिल्ला अस्पतालमा सामान्य उपचार गरी काठमाडौं ल्याइएको छ । सिन्धुली प्रहरी प्रमुख रञ्जु सिग्देलले घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको बताइन् । घटनाबारे बुझ्ने काम भइरहेको उनले बताइन् ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट १० जनाको टोली घटनास्थलमा खटिएको छ । प्रमुख जिल्ला अधिकारीको निवास जिल्ला प्रहरी कार्यालयबाट सय मिटरको दुरीमा छ ।

प्रतिकृया दिनुहोस