समाचार शुक्रबार, फागुन २, २०७६

पुष्पकमल दाहालको अभिव्यक्ति अराजनीतिक र आपत्तिजनकः कांग्रेस

हिमालखबर

पुष्पकमल दाहालको अभिव्यक्ति अराजनीतिक र आपत्तिजनकः कांग्रेस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको ‘गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाइदिनु र सदरमुकाम हान्न उत्प्रेरित गराउथे’ भन्ने अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसले विज्ञप्ती निकाल्दै दाहालले गैरजिम्मेवार र ऐतिहासिक तथ्य तोडमोड गर्नेगरी अभिव्यक्ति दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरी गरी दाहालले गैरराजनीतिक अभिव्यक्ति दिएको उल्लेख गरेका छन् ।

“माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्क भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजिक त छ नै आपत्तिजनक समेत छ”’, विज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष दाहालले गिरिजाप्रसाद कोइरालाको निधन भएको यतिका वर्ष पछाडि विरोधभासपूर्ण अभिव्यक्ति दिएको कांग्रेसले जनाएको छ । शान्ति प्रक्रियाका लागि महत्वपूर्ण भूमिका खेलेका व्यक्तिलाई हिंसाका लागि उत्प्रेरित गराएको आरोप लगाइएको कांग्रेसले जनाएको छ ।

“ऐतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो । हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ”, विज्ञप्तीमा लेखिएको छ ।

प्रतिकृया दिनुहोस