समाचार विहीबार, फागुन १, २०७६

जुगल गाउँपालिकाका अध्यक्षले गलत सुचना फैलाएः स्वास्थ्य मन्त्रालय

हिमालखबर

जुगल गाउँपालिकाका अध्यक्षले गलत सुचना फैलाएः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बा गाउँका स्थानीयमा देखिएको रुखाघोकीको लक्षण नोभल कोरोना भाइरसको नभएको दावी गरेको छ ।

प्रवक्ता श्रेष्ठले भने, “रुघाखोकीलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले रुघाखोकीसँग मिल्ने रोग भन्दै पत्र लेखेर पठाउनु भयो । उहाँले भनेको विषयमा मन्त्रालयको गम्भिर ध्यानआर्कषण भएको छ । उहाँले भनेको कुरा गलत हो ।”

उनले गुम्बा गाउँमा देखा परेको स्वास्थ्य समस्या मौसमी रुखाखोकी (सिजनल फ्लु) हुनसक्ने बताए । जुगल गाउँपालिकाका स्थानियहरु २३ माघदेखि ज्वरो र रुघाखोकीका कारण बिरामी परेका थिए ।

जुगल गाउँपालिका–३ का प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले स्थानीयहरुमा ‘नोभल कोरोना भाइरससँग मिल्ने रुघाखोकी र ज्वरोको लक्षणका बिरामीहरु देखा परेको’ भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेका थिए ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले २८ माघमा सामाजिक सञ्जाल फेसबुक मार्फत ‘कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरु भेटिएको’ दाबी गर्दै पोष्ट गरेका थिए ।

अध्यक्ष श्रेष्ठको निर्देशनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकले कुनै चिकित्सकीय आधार प्रमाण बिना स्वास्थ्य मन्त्रालयलाई पात्राचार गरेका थिए ।

गाउँपालिकाको पत्राचारपछि जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर, नर्ससहितको टोली घटनास्थल पुगिसकेको मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार २३ देखि २९ माघसम्म जुगलका करिब दुई सयलाई रुघाखोकी र ज्वरोबाट बिरामी परेका छन् । उनले प्रभावित क्षेत्रका स्थानीय कसैको पनि ज्यान नगएको, कडा खालको रोग नलागेको र रेफर गर्न नपरेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले जुगल गाउँपालिकाका स्थानीयमा देखिएको स्वास्थ्य समस्याको पहिचान गर्न बिरामीको ‘स्वाब’को नमुना लिन मन्त्रालयको टोली प्रभावित क्षेत्रमा जाने तयारी गरिरहेको बताएका छन् । “गाउँपालिकाका अध्यक्षले रुखाघोकी र ज्वरो देखिएकै आधारमा कोरोना भाइरससँग मिल्दो भन्नु भएछ । के को आधारमा यसो भन्नु भयो” उनले भने, “मन्त्रालय गाउँपलिका अध्यक्षले भनेको कुरालाई खण्डन गर्छ ।”

उनले जुगल गाउँपालिकाको गुम्बा गाउँमा बाहिरबाट कुनै यातायातका साधन नपुग्ने र चिनियाहरुको आवतजावत बन्द भएकाले कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना नभएको दाबी गरे ।

प्रतिकृया दिनुहोस