रिपोर्ट विहीबार, फागुन १, २०७६

के काेराेनाभाइरस वन्यजन्तु तस्करी रोक्ने अवसर बन्न सक्छ ?

मुकेश पोखरेल

के काेराेनाभाइरस वन्यजन्तु तस्करी रोक्ने अवसर बन्न सक्छ ?
नेपाल हुँदै चीन लैजान लागिएकाे अवस्थामा भारतकाे पानीट्यांकीमा गएकाे कात्तिकमा भारतीय प्रहरीद्वारा पक्राउ गरिएकाे चितुवाकाे छाला।

गएको डिसेम्बरमा वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट २४ माघसम्ममा ६३८ जनाको मृत्यु भएको छ । ३१ देशमा फैलिसकेको यो भाइरसबाट चीनमा मात्र ३१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । कोरोना मानिसमा कसरी आइपुग्यो भन्ने पत्ता लागेको छैन । चिकित्सकहरूले चमेरोबाट कुनै जनावर हुँदै मानिसमा सरेको अनुमान गरेका छन्।

वुहान शहरस्थित एउटा माछाबजार (सी फूड मार्केट) बाट संक्रमण शुरू भएको वैज्ञानिकहरूको आशङ्का छ । उक्त बजारमा माछा मात्र नभई सर्प, दुम्सी जस्ता वन्यजन्तु पिंजडामा राखेर बेचिन्छ । भाइरस फैलिएपछि उक्त बजार बन्द गरिएको छ।

क्वाङ्चौ विश्वविद्यालयबाट चमेरोमा विद्यावारिधि गरिरहेका सन्जन थापा चमेरोमा ४० देखि २०० किसिमका भाइरस पाइने बताउँछन् । मानिसले जीवजन्तुको मासु प्रयोग गर्दा र उनीहरूको संसर्गबाट त्यस्ता भाइरस सर्छ।

वन्यजन्तु तथा तिनका अङ्गहरूको कारोबार हुने चीन विश्वकै ठूलो बजार हो । कोरोना भाइरसले महामारीको रूप लिएपछि चीनले वन्यजन्तुको व्यापारमा अस्थायी प्रतिबन्ध लगाएको छ । तर, विश्वभरका संरक्षणकर्मीले चीनमा हुने वन्यजन्तुको व्यापारमा स्थायी प्रतिबन्ध नै लगाउनुपर्ने माग गरेका छन्।

बीबीसीका पर्यावरण संवाददाता नवीनसिंह खड्का वन्यजन्तुको अवैध व्यापारलाई रोक्न चीनमाथि विश्वभरका संरक्षणकर्मीले पहिलेदेखि दबाब बढाएको बताउँछन् । उनी भन्छन्, “यदि वन्यजन्तुकै कारण कोरोना भाइरस फैलिएको पुष्टि भए चीनमाथि यस्तो कारोबार रोक्न विश्वव्यापी रूपमा झनै ठूलो दबाब बढ्छ । यो घटना वन्यजन्तुका लागि वरदान हुनसक्छ।”

कोरोना भाइरसका कारण अर्थतन्त्र नराम्ररी प्रभावित भएकाले वन्यजन्तुको अवैध व्यापार जारी राख्नु चीनका लागि आत्मघाती कदम हुने संरक्षणकर्मीहरूको भनाइ छ । चमेरोमा विद्यावारिधि गरिरहेका थापाका अनुसार चीनमा वन्यजन्तुका अङ्गहरूलाई परम्परागत औषधिका रूपमा प्रयोग गरिन्छ। त्यही कारण वन्यजन्तुको व्यापार बढी हुने गरेको छ ।

तत्कालका लागि चीनले व्यापारमा प्रतिबन्ध लगाए पनि त्यसलाई जारी राख्नेमा उनी शङ्का व्यक्त गर्छन् । अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन चीनले पहिल्यैदेखि वन्यजन्तुको व्यापार रोक्ने बताउँदै आए पनि रोकिएको छैन । थापा भन्छन्, “कोरोना भन्दा घातक इबोला भाइरसको प्रमुख स्रोत वन्यजन्तु नै भए पनि व्यापार घटेन । चीनको प्रतिबन्ध पनि केही समयलाई मात्र हुनसक्छ ।”

भक्तपुरको सूर्यविनायकमा कैद गरिएको सालक । तस्वीरः तुलसीलक्ष्मी सुवाल

नेपालमा प्रभाव

कोरोना भाइरसका कारण भविष्यमा नेपालबाट हुने वन्यजन्तुको चोरीशिकारमा कमी आउन सक्ने विज्ञहरू बताउँछन् । ‘न्याशनल पिन्तुङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’ ताइवानबाट सालकमा विद्यावारिधि गरिरहेकी तुलसीलक्ष्मी सुवाल चीनमा वन्यजन्तुका अङ्गहरूको खपत कम हुने वित्तिकै नेपालमा चोरीशिकार कम हुने बताउँछिन् ।

“अहिलेसम्मका अध्ययन अनुसन्धानले वन्यजन्तुका अङ्गहरूको प्रमुख बजार चीन भएको देखिएको छ, त्यहाँ स्थायी रूपमा प्रतिबन्ध लगाउने हो भने नेपालमा वन्यजन्तु संरक्षणमा टेवा पुग्छ ।”

कत्लाबाट औषधि बनाउन सालक मारिने हुँदा चीनमा उक्त जनावर लोप भइसकेको छ । नेपालमा पनि सालक लोपोन्मुख छ । चीनमा गैंडाको सिङ पनि औषधि बनाउन प्रयोग हुन्छ । वन्यजन्तुका यस्ता अङ्ग नेपालबाट पनि चीन तस्करी हुने गरेको छ।

अफ्रिका र एशियाका अन्य देशबाट पनि वन्यजन्तुका अङ्ग नेपाल हुँदै चीन तस्करी हुने वन्यजन्तुविज्ञ थापा बताउँछन् । उनी भन्छन्, “व्यापारीहरूले नेपाललाई वन्यजन्तुका अङ्गहरूको व्यापारका लागि ट्रान्जिट पोइन्ट बनाएका छन् ।”

डिभिजन वन कार्यालय काठमाडौंका अनुसार आर्थिक वर्ष २०५६/५७ देखि २०७४/७५ सम्म १० वन्यजन्तुका १,७९८ आखेटोपहार बरामद गरिएको थियो । सबैभन्दा बढी चराचुरुङ्गीको १,४६८ थियो । त्यसैगरी चितुवाको ९२, रेडपाण्डाको ९४, सालकको ४० आखेटोपहार बरामद गरिएको थियो । 

१८ वर्षको अवधिमा काठमाडौं जिल्लामा मात्र वन्यजन्तुको अङ्गको व्यापारमा संलग्न वार्षिक औसत ४८ जना पक्राउ परेका छन् । यो अवधिमा प्रहरीले ८८० जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धु ढुङ्गाना वन्यजन्तुका अङ्गहरूको तस्करी रोक्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयको आवश्यक पर्ने बताउँछन् । नेपालले भारत र चीनसँग समन्वय नगरी तस्करी रोक्न नसकिने उनी बताउँछन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लामो समय काम गरेका पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल पनि वन्यजन्तुका अङ्गहरूको व्यापार रोक्न तीन देशकै सहकार्य आवश्यक पर्ने बताउँछन् । उनका अनुसार वन्यजन्तुका अङ्गको व्यापारमा भारतीय घरानाहरूको पनि संलग्नता छ ।

भारतबाट वन्यजन्तुका अङ्ग नेपाल हुँदै चीन तस्करी हुन्छ । प्रहरीको अनुसन्धानमा नेपालीहरू वन्यजन्तुको शिकारी र ‘ब्रोकर’ का रूपमा प्रयोग भएका छन् ।

वन्यजन्तुको अवैध व्यापारकै कारण एकसिङ्गे गैंडा, पाटेबाघ, रेडपाण्डा, हात्ती लगायत वन्यजन्तु लोपोन्मुख छन् । त्यसैगरी सुनगोहोरो, घडियाल गोही पनि लोपोन्मुख छन् । 

७० वर्षअघि विश्वमा एक लाखको संख्यामा रहेको पाटेबाघ सन् २०१० सम्ममा तीन हजारमा झरेको थियो । सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा बाघ पाइने देशहरूको सम्मेलनले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने निर्णय गरेको थियो । सन् २०१३ को सर्वेक्षण अनुसार नेपालमा १९८ वटा पाटेबाघ थिए । सन् २०१८ मा भएको गणनामा यो संख्या २३५ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस