समाचार बुधबार, माघ २९, २०७६

रौतहटको श्रीराम सुगर मिल सञ्चालनमा

हिमालखबर

रौतहटको श्रीराम सुगर मिल सञ्चालनमा

चिनी मिल सञ्चालनका लागि आन्दोलन गर्दै आएको रौतहटको चिनी मिल (श्रीराम सुगर मिल्स) आजदेखि सञ्चालनमा आएको छ।

किसानको करोडौं रुपैयाँ बक्यौता राखेको रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेड बुधबारदेखि सञ्चालनमा आएको हो।

करीब ३२ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी राखेको उद्योग बुधबारदेखि सञ्चालनमा आउँदा किसानहरू हर्षित भएका छन् । जिल्लामा दर्जनौं खाँडसारी उद्योगले किसानसँग प्रति क्विन्टल तीन सय रुपैयाँमा उखु किनिरहेका थिए भने बारा र सर्लाहीका चिनी उद्योगले जिल्लाका विभिन्न ठाउँमा संकलन केन्द्र मार्फत उखु लगिरहेका थिए।

प्रति क्विन्टल चार सय रुपैयाँमा नगदै उखु किनेर संकलन केन्द्र मार्फत केही व्यापारीले बाहिरका उद्योगलाई उखु पुर्‍याएर मोटो रकम कमाइरहेकोमा गरुडास्थित चिनी मिल संचालनमा आएपछि किसान हर्षित भएका हुन्।

चिनी मिलले यस वर्ष नगदै उपलब्ध गराउने भएपछि किसानलाई सन्तोष लागेको उखु उत्पादक संघ रौतहटका कोषाध्यक्ष मनोजकुमार सहनीले बताएका छन्।

गरुडास्थित चिनी मिल संचालनमा आउनुभन्दा पहिले विभिन्न खाँडसारी उद्योगले लाखौं क्विन्टल उखु खरीद गरिसकेका छन् भने विभिन्न जिल्लाका चिनी उद्योगले पनि संकलन केन्द्र मार्फत सस्तोमा उखु लगिसकेका छन्।

रौतहटमै संचालित बाबा बैजुनाथ सुगर तथा केमिकल इन्डस्ट्रिजले पनि लाखौँ क्विन्टल उखु किनिसकेपछि संचालनमा आएको जिल्लाको सबैभन्दा ठूलो उद्योगको रूपमा रहेको श्रीराम सुगर मिल्सले यो वर्ष कमै उखु पाउने सम्भावना छ।

ढिलै भएपनि चिनी उद्योग सञ्चालनमा आउँदा अर्को वर्षदेखि समयमा सञ्चालन हुने आशा पलाएको किसानहरूको भनाइ छ । अर्को वर्ष किसानले धेरै दुःख नपाउने सम्भावना बढेको गढीमाई नगरपालिकाका उखु किसान नरेन्द्र ठाकुरले आशा व्यक्त गरेका छन्।

सञ्जय मित्र, रौतहट

प्रतिकृया दिनुहोस