समाचार बुधबार, माघ २९, २०७६

संगठनको साझा बन्ने प्रयास गर्नेछु : नवनियुक्त आईजीपी ज्ञवाली

हिमालखबर

संगठनको साझा बन्ने प्रयास गर्नेछु : नवनियुक्त आईजीपी ज्ञवाली

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुर ज्ञवालीले कार्यकालभरि संगठनमा सबैको साझा बन्ने प्रयास गर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा आयोजित दर्ज्यानी चिन्ह ग्रहण विशेष समारोहमा बोल्दै ज्ञवालीले नेपाल प्रहरी संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढसंकल्पित रहेको बताउँदै आफू संगठनमा सबैको साझा भएर काम गर्ने बताएका हुन्। 

"नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यावसायिक र पारदर्शी तवरबाट सम्पादन हुनेहुँदा गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही उत्कृष्ट संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गराउन म सक्रिय रहने छु,"  उनले भने।

उनले नेपाल प्रहरीलाई जस्तोसुकै चुनौतीमा पनि उच्च व्यावसायिक धर्म र मनोबलका साथ कर्तव्य पथमा समर्पित राख्न महानिरीक्षकदेखि जवानसम्मका सबै दर्जा प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

ज्ञवालीले नेपाल प्रहरीको सांगठनिक सुदृढीकरण र कर्मचारीको वृत्ति विकासमा थप जोड दिनु आजको आवश्यकता रहेको बताए । "शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायको मार्गनिर्देशन, सद्भाव र सहकार्य रहिरहने विश्वास गरेको छु," उनले भने । 

मन्त्रिपरिषद्को माघ २८ गतेको निर्णयअनुसार ज्ञवाली माघ २९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका हुन्। सोही अवसरमा सिंहदरबारस्थीत गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए। 

गृहसचिव न्यौपानेले गृह मन्त्रालयका तर्फबाट प्रहरी महानिरीक्षक ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै महानिरीक्षक ज्ञवालीले व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन र संगठनलाई अझ उच्च मनोबलयुक्त र सक्षम संगठनको रुपमा विकास गर्न सम्पूर्ण लगन, मेहनत, तत्परता, ईमानदारिता, कार्यकुशलता र क्रियाशीलता वहन गर्ने अपेक्षा रहेको बताए।

उनले प्रहरी संगठनलाई सुधार गर्दै सधै चुस्त राख्नका लागि गृह मन्त्रालय सकारात्मक रहेको भन्दै व्यक्तिकेन्द्रित प्रतिस्पर्धाभन्दा व्यावसायिकतातर्फ ध्यान दिन उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिए। 

कार्यक्रममा गृहमन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी उपस्थित थिए। 

त्यसपछि नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबारै पदबहाली गरेका छन्। उनलाई प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए।

प्रतिकृया दिनुहोस