रिपोर्ट मंगलबार, माघ २८, २०७६

अँधेरी रातकाे पर्यटकीय आकर्षण

हिमालखबर

अँधेरी रातकाे पर्यटकीय आकर्षण
तस्वीरः येभेन सामुचेन्को\नेपाली टाइम्स

–हिमाली दीक्षित

सन् २०१६ मा न्याशनल जियोग्राफिक पत्रिकाले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलाई सबैभन्दा राम्रोसँग तारा देखिने धर्तीकै उत्कृष्ट पाँच गन्तव्यमध्येको एकमा सूचीकृत गर्‍यो । सोही पत्रिकामा प्रकाशित फोटोग्राफर जेफ डाईले रातमा खिचेको गोक्यो क्षेत्रको तस्वीरमा ताराहरूसँगै गेस्ट हाउसबाट निस्किएको तीव्र उज्यालो पनि देखिन्थ्यो ।

यो प्रकाशन र प्रचारले पर्वतारोही, पदयात्री र स्थानीयलाई थाहा भइसकेको कुरामा अन्य धेरैको ध्यान गयो । ‘अन्तरिक्ष–पर्यटन’ का लागि सगरमाथा भन्दा ठीक मुनिको ‘अपर खुम्बु’ क्षेत्रको सम्भावना धेरै छ किनभने यो ठूला शहरभन्दा धेरै टाढा, धूलो र धुवाँभन्दा माथि छ ।

“कतिपय सन्दर्भमा हाम्रो विकटता नै हाम्रो साधन–स्रोत पनि हो” अमेरिकास्थित एरिजोना स्टेट युनिभर्सिटीका प्राध्यापक पर्यटनविद् ज्ञान न्यौपाने भन्छन्, “हरेक कुरामा पश्चिमा जस्तो बन्ने प्रयत्न गर्नुभन्दा हामीले आफूसँग जे छ त्यसको संरक्षण र सदुपयोग गर्नुपर्छ, जस्तो कि अँध्यारो, रात्रिकालीन आकाश । स्तरीय पर्यटन निम्त्याउने हो भने अरूले भन्दा हामीले के राम्रो दिन सक्छौं भन्ने कुराको विचार गर्नै पर्छ । हामीले छुट्टै र विशेष चिनारी बनाउनुपर्छ ।”

वास्तवमा ‘अँध्यारो’ यस्तै एउटा विशिष्ट पहिचान, पर्यटकीय आकर्षण बन्न सक्छ । तर, यसका लागि रात्रिकालीन आकाशलाई कृत्रिम प्रकाशको प्रदूषणबाट भने जोगाइराख्नुपर्छ । पर्यटनविद्‌का अनुसार रातिको आकाशको अँध्यारो बचाउन आवश्यक बिजुली मात्र प्रयोग गर्न र उज्यालो आकाशतर्फ नजाने व्यवस्था गर्न सकिन्छ । भू–सतहबाट आकाशतर्फ जाने प्रकाशको अत्यधिक चमकले तारामण्डल नै नरहे जस्तो हुन्छ ।

न्यौपाने र उनका विद्यार्थीले गरेको अध्ययन अनुसार ‘तारा–पर्यटक’ प्रकृतिमा आधारित पर्यटन गतिविधिमा पनि रुचि राख्छन्, जस्तैः पदयात्रा, र्‍याफ्टिङ, वन्यजन्तु र चरा अवलोकन, नेचर फोटोग्राफी । “त्यसै पनि नेपाल भ्रमण गर्ने धेरैजसो पर्यटक प्रकृतिसँग साक्षात्कार हुनै आउँछन् । अन्तरिक्ष–पर्यटनले पर्यटनमा थप योगदान दिन सक्छ”, न्यौपाने भन्छन् ।

नेपालका निकुञ्जहरूभित्र निकुञ्ज कार्यालय, सेनाका ब्यारेक र छरिएका वस्तीहरू कृत्रिम प्रकाशका मुख्य स्रोत हुन् । तर, नजिकका शहर र मध्यवर्ती क्षेत्रका गाउँहरूबाट आउने प्रकाशले पनि रात्रिकालीन आकाश प्रदूषित बनाउन सक्छ । यस कारण बत्तीको अनावश्यक प्रयोग घटाउनुपर्छ भने वायुमण्डलतर्फ कम उज्यालो गर्ने सोच र योजना राख्नुपर्छ ।

विज्ञहरू चितवन राष्ट्रिय निकुञ्जमा समेत दिउँसो सफारी र राति तारा हेरेर पर्यटकले लाभ पाउन सक्ने बताउँछन् । नेपालमा विद्युतीकरणको काम ढिला भएकाले वातावरणीय दृष्टिकोणले र दीर्घकालीन हित हुने हिसाबले विद्युतीय साधनको प्रयोग गर्ने सम्भावना अन्यत्र भन्दा शायद सजिलो होला ।

गएको शताब्दीमा विश्व तीव्र गतिमा परिवर्तन भयो । यो परिवर्तनले हिजो वास्ता नगरिएका कुरा अहिले आएर अत्यावश्यक र लोपोन्मुख स्रोतका रूपमा चिनिएका छन् । जस्तो कि ढुक्कले सास फेर्न सकिने स्वच्छ हावा, शुद्ध पानी, वनजङ्गल र फाँटहरूमा रहेका वनस्पति र जन्तुका जैविक विविधता । हुँदाहुँदा हामीले रातको अँध्यारो समेत गुमाउँदैछौं ।

रातको समयको अन्तरिक्षको दृश्यले ऐतिहासिककालदेखि नै सृष्टिप्रति मानिसको मनमा आश्चर्य र श्रद्धाको भावना जगाउँथ्यो, र ब्रह्माण्डमा मानवको स्थान कति सानो रहेछ भन्ने बोध गराउँथ्यो । रातको अन्तरिक्षले मानिसमा कला सृजना गर्न प्रेरित गर्‍यो, खगोल र ज्योतिष विद्याको विकास र विस्तार गरायो ।

अफशोच हाम्रा पुर्खाहरूले हेरेर रोमाञ्चित र उत्साहित हुने रातको अन्तरिक्ष हाम्रो पुस्ताको लागि पृथ्वीको अधिकांश स्थानमा उपलब्ध छैन । बिजुलीको अभावले कृत्रिम प्रकाशमा अलिपछि परेको नेपाल पनि अब ‘उज्यालो’ हुँदैछ र हामीले ‘विकास’ गर्दै गर्दा केही ऐतिहासिक र सांस्कृतिक चीज गुमाउँदैछौं ।

इटालीस्थित लाइट पोलुशन साइन्स एण्ड टेक्नोलोजी इन्ष्टिच्यूटका अनुसार, पृथ्वीको ८० प्रतिशत जमीन प्रकाश प्रदूषणबाट प्रभावित भइसकेको छ भने यूरोप र संयुक्त राज्य अमेरिकाका ९९ प्रतिशत मानिसका लागि रातको आकाश बिजुली बत्तीले दुरुह बनाइसकेको छ । अँध्यारो र चकमन्न आकाशको खोजीमा कतिपय वैज्ञानिकदेखि पर्यटकसम्म संसार चहारिरहेका छन् ।

सन् २०१९ मा रातको स्वच्छन्द आकाश खोजी पर्यटकको प्राथमिकतामा परेको भन्दै पर्यटन प्रकाशक लोन्ली प्लानेट ले लेख्यो, “संसारभरिका मानिस बचेको अन्तिम अँध्यारा आकाशहरूको खोजीमा छन्, जहाँबाट ताराहरूको सफा र प्रदूषणरहित दृश्य देख्न सकियोस् ।”

वर्तमान र भावी पुस्ताका लागि रात्रिकालीन आकाश जोगाउन कार्यरत इन्टरनेशनल डार्क स्काई एसोसिएशन (आईडीए) ले सन् २००१ देखि अँध्यारो आकाशको संरक्षणको पहल गर्ने निकुञ्जहरूलाई प्रमाणपत्र समेत दिन थालेको छ । यस्तो प्रमाणपत्रको अर्थ कृत्रिम प्रकाश निषेध नै भन्ने चाहिं होइन । बरु, आवश्यक प्रकाशलाई तलतिर र चाहिएको ठाउँमा मात्र फैलने गरी राख्ने र माथितिर प्रकाश ‘चुहावट’ हुन नदिने भन्ने हो । यसले ऊर्जा खपत पनि कम गर्छ ।

अहिलेसम्म आईडीएले ७७ वटा निकुञ्जलाई यस्तो प्रमाणपत्र प्रदान गरिसकेको छ, जसमध्ये अधिकांश यूरोप र संयुक्त राज्य अमेरिकाको दूरदराज क्षेत्रमा छन् । अन्तरिक्ष–पर्यटन प्रवद्र्धन गर्न अधिकांश ‘डार्क स्काई पार्क’ ले खगोल अवलोकन कक्ष पनि बनाएका छन् ।

रात्रि आकाशकाे तस्वीर कला

तस्वीरः येभेन सामुचेन्को\नेपाली टाइम्स

रात्रिकालीन आकाशको तस्वीरका लागि संसारमै विख्यात फोटोग्राफर येभेन सामुचेन्कोको भनाइमा तारापुञ्ज हेर्न र तिनको तस्वीर खिच्न सकिने कतिपय उत्कृष्ट स्थानहरू नेपालमा पर्छन् । रातको आकाशको तस्वीर खिच्न युक्रेनी नागरिक सामुचेन्को तीनपटक नेपाल आइसके, र यसका लागि लाङटाङ क्षेत्र उत्कृष्ट भएको बताउँछन् ।

येभेन सामुचेन्को

यहाँ छापिएका तस्वीरहरू सामुचेन्कोले सन् २०१७ मा लाङटाङ क्षेत्रमै खिचेका हुन् । “भव्य हिमाली शृंखला र भू–दृश्य तथा ठूला शहरका प्रकाशको प्रदूषणले नछोएको हिमाल माथिको सफा र तारामय आकाशले म असाध्यै प्रभावित छु”, सामुचेन्को भन्छन् ।

“यो तस्वीरका लागि मैले ‘फिशआई’ लेन्स चलाएँ । यसले मलाई गोसाइँकुण्ड, त्यसको अग्रभाग र आकाशलाई एकै ठाउँ समेट्न सजिलो बनायो । मैले तस्वीरलाई बुवाको सम्झनामा समर्पित गरें र ‘कामनेस अफ इटर्नटी’ (अनन्तकालसम्मको शान्ति) नाम दिएँ ।”  

निकोन डी–५२०० मा टोकिना १०–१७ फिशआई लेन्स मार्फत ४६ सेकेण्ड एक्सपोजर टाइममा खिचिएको माथिको यही तस्वीरले सामुचेन्कोलाई १४० देशका २० हजार प्रतिस्पर्धीहरूमाझ ‘सीएनएन ट्राभल फोटोग्राफर अफ द यिअर २०१९’ प्रतियोगितामा दोस्रो स्थान दिलायो । यो तस्वीर यसै महीना लण्डन साइन्स म्युजियममा पनि प्रदर्शन गरिएको छ र म्युजियमले सामुचेन्कोलाई ‘साइन्स फोटोग्राफर अफ द यिअर’ भनी सम्मान गरेको छ ।

सन् २०१८ मा लण्डनको रोयल फोटोग्राफिक सोसाइटीमा प्रदर्शन गरिएको थियो । “अभूतपूर्व रात्रि आकाश हेरिरहँदा मलाई आफू ब्रह्माण्डको एउटा कण मात्र भएको र सम्पूर्णतामा विलय भइरहेको आभास गराउँछ”, सामुचेन्को भन्छन् । 

छेकिंदै गएका ताराहरू

सन् २०२० को शुरूआतसँगै इन्टरनेट पहुँच विस्तार गर्न हजारौं नयाँ, पृथ्वीको एकदम नजिक भएर घुम्ने भू–उपग्रह छाडिएका छन् । इलन मस्कद्द्वारा स्थापित अमेरिकी एरोस्पेस कम्पनी स्पेस–एक्स स्टारलिङ्कका यी भू–उपग्रहहरूको संख्या रात्रिकालीन आकाशका ताराहरूको भन्दा बढी हुनसक्छ । एमाजन र अरू प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीहरू पनि सञ्चार क्षमता बढाउन भूउपग्रहहरू आकाशमा पठाउँदैछन् ।

तल्लो भू–चक्रमा हिंड्ने भू–उपग्रहले सूर्यको किरण परावर्तन गर्दा पृथ्वीबाट स्पष्ट र चम्किलो देखिन्छन् । स्पेस–एक्सले मात्र यो दशकको मध्यसम्ममा करीब १२ हजार यस्ता भू–उपग्रह पठाउने तयारी गरिरहेको छ । जतिखेर पनि चलिरहने थुप्रै स–साना चम्किला भू–उपग्रहले आगामी दिनमा आकाशको शान्त स्वभाव विथोलिन सक्छ ।

प्रकाश परावर्तन गर्ने यी दशौं हजार भू–उपग्रहहरू रातिको समयमा हाम्रा नाङ्गा आँखाले सहजै देख्न सकिने झण्डै नौ हजार ताराको संख्याभन्दा धेरै हुनेछन् । भू–उपग्रहले काम गर्न छाडे पनि अन्तरिक्षको फोहोर बनेर पृथ्वी परिक्रमा गरिरहन्छन् । 

ताराभन्दा चम्किला यी नयाँ भू–उपग्रहहरूले अहिले नै खगोलशास्त्रीय अध्ययन–अवलोकन र तथ्याङ्क सङ्कलनमा बाधा पार्न थालिसकेका छन् । खगोलविद्हरू यी भू–उपग्रहले अन्तरिक्ष अध्ययन क्षमतामै प्रभाव पार्न सक्नेमा चिन्ता व्यक्त गर्छन् । यो विषय उठेपछि स्पेस–एक्सले आफ्ना केही भू–उपग्रहमा कम टल्कने लेप लगायो तर यसले समस्या कम हुन्छ वा हुन्न हेर्न बाँकी नै छ ।

आकाश प्रदूषण र खगोल अनुसन्धान दुवैका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून छैनन् । वास्तवमा प्रविधिको तीव्र गति अनुसार कानून निर्माण हुनसकिरहेको छैन ।

सबैलाई अँध्यारो चाहिन्छ

सन् २०१६ मा न्याशनल जियोग्राफिक पत्रिकामा छापिएको फोटोग्राफर जेफ डाईले खिचेको गोक्योको तस्वीर। तस्वीर: जेफ डाई न्याशनल जियाेग्राफिक

जीवजन्तु र बोटबिरुवाको अस्तित्व दिन–रातको उज्यालो र अँध्यारोको चक्रमा निर्भर हुन्छ । रातको अँध्यारोले कैयौं प्रजातिलाई आराम गर्ने, आहार बटुल्ने, खाने, प्रजनन् प्रक्रियामा संलग्न हुने र परभक्षीबाट लुक्ने वातावरण दिन्छ ।

कृत्रिम उज्यालोका कारण प्रकाशको स्रोत भन्दा निकै टाढासम्म उज्यालो फैलन्छ । यसको एउटा कारण उज्यालो परावर्तन गर्ने बादल वा तुवाँलो पनि हुन् । रातमा देखा पर्ने यस्तो उज्यालोले जीवजन्तुहरूले बाँच्नका लागि गर्नुपर्ने प्राकृतिक क्रियाकलापमा वाधा पुर्‍याउँछ । औद्योगिक क्रान्तिको २०० वर्षपछि बल्ल वैज्ञानिकहरूले कृत्रिम प्रकाशका कारण जैविक विविधतामा कति धेरै असर परेको रहेछ भनेर बुझ्न थालेका छन् ।

मानिसहरू पनि अन्य जनावर जस्तै जैविक घडी (सर्केडियन रिदम) बाट निर्देशित हुन्छन् । अनुसन्धानहरूले रातमा हुने प्रकाशको हस्तक्षेपले स्वास्थ्य समस्या, जस्तै अति मोटोपन, मधुमेह, अवसाद, अनिद्रा र केही प्रकारका क्यान्सरको सम्भावनाहरू बढाउने पुष्टि गरेको छ ।

 

प्रतिकृया दिनुहोस