समाचार मंगलबार, माघ २८, २०७६

आठ भारतीय पर्यटकको मृत्यु प्रकरणमा दामनकाे रिसोर्ट निलम्बनमा

हिमालखबर

आठ भारतीय पर्यटकको मृत्यु प्रकरणमा दामनकाे रिसोर्ट निलम्बनमा
तस्वीर: सुरजकुमार भुजेल

आठजना भारतीय पर्यटकको निसास्सिएर ज्यान गएपछि मकवानपुर थाहा नगरपालिका–४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरामा रिसोर्ट निलम्बनमा परेको छ। नेपाल सरकार सचिवस्तरबाट २६ माघमा निर्णय गरी रिसोर्ट निलम्बन गरिएको हो।

गत ६ माघमा साँझ दामनस्थित एभरेष्ट पानोरामा रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएको घटनालाई लिएर पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको हो।

२०७० चैतबाट फच्र्युना इन्टरनेशनल कम्पनीले संचालन गरेको उक्त रिसोर्टले पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिए बमोजिम स्तर वर्गीकरण समेत नगराएको, रिसोर्ट संचालनको क्रममा पर्याप्त सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी पाइएको निलम्बनपत्रमा उल्लेख छ।

पर्यटकको मृत्यु भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन गर्न समिति गठन गरी घटनाको अनुसन्धान गराएका थिए ।

अबको तीन महीनापछि रिसोर्ट संचालन प्रक्रिया पुर्‍याएर मात्र संचालन गर्न निलम्बन पत्रमा भनिएको छ।

पर्यटन ऐन, २०३५ बमोजिम होटल, लज, रेष्टुराँ, रिसोर्ट, बार तथा पथप्रदर्शन नियमावली, २०३८ र होटल वर्गीकरण तथा मापदण्ड सम्बन्धी सरकारले २०७६ पौस ७ गते प्रकाशित सूचना अनुसरण तथा प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण\वातावरण प्रभाव मूल्याङ्कन सम्पन्न गराई अनुमति लिएर मात्र रिसोर्ट संचालन गर्न सकिने पत्रमा उल्लेख छ।

 

- सुरजकुमार भुजेल, मकवानपुर (दामन)

 

प्रतिकृया दिनुहोस