समाचार मंगलबार, माघ २८, २०७६

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैदको फैसला

हिमालखबर

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैदको फैसला

प्रहरीले खतरनाक गुण्डा नाइकेको सूचीमा राखेका रामेछाप दुरागाउँका रमेश बाहुन भनिने सुजन पौडेललाई अदालतले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसला गरेको छ। पाैडेल केन्द्रीय अनुसन्धान ब्यूराेले बनाएकाे गुण्डा सूचीमा छन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार (२६ माघ २०७६) मा सजायको फैसला गरेको हो। यसअघि १५ माघ २०७६ मा पौडेल विरुद्धको लागूऔषध मुद्दाको कसुर ठहर सजाय निर्धारणको आदेश भएको थियो।

अदालतका  स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले पूर्पक्षका लागि कारागारमा रहेका पौडेललाई पक्राउ गरेको मितिले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको जानकारी दिए।

प्रहरीले पौडेललाई लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको गोलीसहित १० असार २०७१ मा काठमाडौं कलंकीबाट पक्राउ गरेको जानकारी सार्वजनिक गरेको थियो।

काठमाडौं प्रहरीले उनलाई कल‌ंकीबाट पक्राउ गरेको दाबी गरेपनि उनी भारतको लखनउस्थित भारतीय विधायक बिनायक सिंहको घरबाट पक्राउ गरी नेपाल ल्याइएका थिए।

प्रहरीले उनी विरुद्ध लागूऔषध मुद्दा १४ साउन २०७१ मा दर्ता गरेको थियो। भारतमा बसेर नेपालमा निर्माण व्यवसायी र ठूला व्यापारीसँग अवैध असुलीमा सक्रिय भएपछि तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पौडेललाई पक्राउ गर्न विशेष टोली परिचालन गरेका थिए।

उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याइएको थियो।

नेपाली सेनाका भगौडा पौडेललाई पहिलो पटक १० जेठ २०६४ मा काठमाडौं प्रहरीले दरबारमार्गस्थित हटब्रेड अगाडिबाट हतियारसहित पक्राउ गरेर कारबाही गरेको थियो।

त्यसअघि उनी विरुद्ध २९ वैशाख २०६४ मा सन्तोष अग्रवाललाई अपहरण गरी रु. ५ लाख फिरौती रकम लिई रिहा गरेको विषयमा प्रहरी अनुसन्धान भइरहेको थियो। उनी विरुद्ध ललितपुरका  कांग्रेस नेता मिनकृष्ण महर्जनलाई ज्यानमार्ने उद्योग गरेको मुद्दामा समेत कारबाही भएको थियो।

 

प्रतिकृया दिनुहोस