हार्दिक पटेल १८ जनवरीदेखि बेपत्ता भएको परिवारको दाबी
भारतको गुजरातका कांग्रेस नेता हार्दिक पटेलको परिवारले उनी बेपत्ता भएको जनाएको छ । देशद्रोहको मुद्दा लागेका पटेल १८ जनवरीमा प्रहरीले पक्राउ गरेको र त्यसपछि सम्पर्कमा नआएको उनकी पत्नी किन्जलले सार्वजनिक गरेकी हुन् ।
पाटिदार समुदायलाई कोटाको माग गर्दै सन् २०१५ मा भएको आन्दोलनको नेतृत्व गरेका पटेललाई भारत सरकारले देशद्रोहको मुद्दा चलाएको छ । अदालतले उनलाई उक्त मुद्दाको सुनुवाईमा उपस्थित नभएको भन्दै पक्राउका लागि आदेश दिएको थियो ।
यससँगै उनलाई पाटन र गान्धिनगरमा भएका थप दुईवटा घटनामा पनि प्रहरीले मुद्दा चलाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
"हार्दिक १८ जनवरीमा प्रहरीले पक्राउ गरेदेखि सम्पर्कमा छैनन्, तर प्रहरी निरन्तर घरमा आएर उनको बारेमा सोधपुछ गरिरहेको छ," पटेल पत्नी किन्जलले पटिदार कोटाको मागका लागि गठित समूहद्वारा आयोजित कार्यक्रममा भनेकी छन् ।