कर्णाली प्रदेशका सुत्केरीलाई ४८ सय रुपैयाँ प्रोत्साहन भत्ता
-यज्ञराज थापा, सुर्खेत
कर्णाली प्रदेशका सुत्केरी महिलाले अब रु. ४ हजार ८ सय पाउने भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायात बापत रु.२ हजार र चार पटक गर्भ जाँच गरे बापत रु. ८ सय संघीय सरकारले उपलब्ध गराउँदै आएको थियो ।
कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा प्रसुती हुने महिलालाई पोषण बापत थप रु. २ हजार रकम दिने भएपछि सुत्केरी महिलाले पाउने रकम रु. ४ हजार ८ सय पुगेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले गत मंसीर महीनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषण बापतको रकम बढाएको हो ।
कर्णालीका महिलाहरू अधिकांश अहिले पनि घरमै सुत्केरी हुने गरेको भन्दै स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउन प्रोत्साहन स्वरुप प्रदेश सरकारले सुविधा थपेका बुझिएको छ ।