समाचार मंगलबार, माघ २८, २०७६

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढ्दो : मृतकको संख्या एक हजार नाघ्याे

हिमालखबर

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढ्दो : मृतकको संख्या एक हजार नाघ्याे

कोरोनाभाइरसको प्रकोपले चीनमा मृत्यु हुनेको संख्या हरेक दिन उकालो लाग्दै गइरहेको छ । नोभल कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुपेई प्रान्तमा सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ ।

आइतबार ९७ जनाको मृत्यु भएको थियो । प्रकोपले हरेक दिन मृत्यु हुने बिरामीको सङ्ख्या निरन्तर उकालो लागि रहेको छ । यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १,०१८ पुगेको छ ।

सोमवारसम्म मृतकको संख्या बढे पनि नयाँ सङ्क्रमणको सङ्ख्या हरेक अघिल्लो दिनको तुलनामा घटेको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २,०९७ जनामा नयाँ सङ्क्रमण भएको जनाएको जुन संख्या आइतबार २,६१८ थियो ।

यससँगै अहिलेसम्म चीनमा मात्रै उक्त भाइरसबाट सङ्क्रमितको संख्या ४२,६३८ र विश्वभर ४३,१०० पुगेको छ ।

यो संख्या सन् २००२-२००३ मा फैलिएको सार्स प्रकोपभन्दा ठूलो महामारी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सङ्कट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले चिकित्सकहरुको टोली बेइजिङ पठाएको छ ।

चीनका राष्ट्रपति सी जिन्पिङले सोमवार बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उपचार गराइरहेका स्वास्थ्यकर्मीहरूलाई भेटेका छन् ।

उनले स्वास्थ्यकर्मीलाई भेटेर आत्मविश्वास बढाएर काम गर्न निर्देशन दिएका छन् । यसअघि पार्टीको पोलिट्ब्युरोलाई पनि अहिलेको मुख्य काम प्रकोप नियन्त्रण भएको र यसको निराकरणका लागि पनि चीनले नै मुख्य भूमिका निभाउनु पर्ने बताएका थिए ।

तर चीनले प्रकोप नियन्त्रणका लागि परिचालित पार्टी सचिवलाई हिनामिना गरेको आरोपमा कारबाही गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन् ।

उनीसँगै उक्त आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशकलाई पनि पदमुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस