समाचार मंगलबार, माघ २८, २०७६

चिनियाँ प्राविधिकद्वारा दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण, ८० प्रतिशत सर्वे सकियो

हिमालखबर

चिनियाँ प्राविधिकद्वारा दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण, ८० प्रतिशत सर्वे सकियो

-यज्ञराज थापा, दैलेख

दैलेखका केही स्थानमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण सर्वेक्षण कार्य ८० प्रतिशत सकिएकोे खानी तथा भूगर्भ विभागले जनाएको छ ।

पंचकोशी तीर्थस्थलमा पर्ने नाबिस्थान, शिरिस्थान र पादुका लगायतका क्षेत्रलाई आधार बनाएर गरिएको अन्वेषण कार्य अन्तर्गत साइस्मिक सर्वे सात वटा लाइनको काम सकिएको जनाइएको छ ।

गत कातिकदेखि सुरु गरिएको अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तरदक्षिणमा गरी १० वटा साइस्मिक सर्वे लाइन छन् । यी मध्ये सात वटा लाइनमा चिनियाँ प्राविधिक टोलीले सर्वेको काम सम्पन्न गरेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए ।

त्रिपाठीका अनुसार, बाँकी रहेका तीन वटा लाइनको काम फागुनको दोस्रो सातासम्म सक्ने गरी चिनियाँ प्राविधिक टोलीले काम गरिरहेको छ ।

अन्वेषण अन्तर्गत पेट्रोलियम जियोलोजिकल सर्वे, म्याग्नेट सर्वे, टेल्युरिक सर्वे, जिओ केमिकल सर्वे, स्याम्पलिङ सर्वे भन्दा महत्वपूर्ण मानिएको साइस्मिक सवको अहिलेसम्म ८० प्रतिशत सम्पन्न भएको त्रिपाठीको भनाइ छ ।

भारतले नेपालमा नाकाबन्दी लगाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरी पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति गरेका थिए ।

उक्त सहमति अनुसार, नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो ।

सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि २ अर्ब ४० करोड आर्थिकसहित प्राविधिक सहयोग गर्ने उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस