वडा सदस्य र इन्जिनियर ७५ हजार घुससहित पक्राउ
तनहुँको भानू नगरपालिकाको वडा नं. १३ का वडा सदस्य कृष्ण बहादुर अधिकारी र इन्जिनियर सुकदेव अधिकारी ७५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
वडा सदस्य कृष्ण बहादुर अधिकारीमार्फत भानू नगरपालिकामा कार्यरत इन्जिनियर सुकदेव अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिश प्रतिवेदन बनाईदिएको समेत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको अख्तियारमा परेको थियो ।
सोही उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले वडा सदस्य कृष्ण बहादुर र इन्जिनियर सुकदेवलाई ७५ हजार घुस लिइसकेको अबस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।