इटहरीमा मोबाइल चोरीको समस्या बढेपछि प्रहरी सक्रिय
सुनसरीको इटहरीमा गएको वैशाख यता मात्रै प्रहरीले चोरी भएका र हराएका २ सय ३१ थान मोबाइल फेला पारेको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिकाभित्र हालसालै फेला पारिएका ३६ थान मोबाइल सोमबार मात्रै सम्बन्धित धनीलाई बुझाइएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक रमेशकुमार बस्नेतका अनुसार यस अवधिमा मोबाइल चोरीमा संलग्न १० जना पक्राउ परिसकेका छन् । मोबाइल चोरी र हराएका महिनामा ६० वटा जति निवेदन आउंने गरेको इप्रका इटहरीले जनाएको छ ।
तीमध्ये २० प्रतिशत चोरी र ८० प्रतिशत हराएका निवेदन पर्छन् । इटहरीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले मोबाइल खोजतलास गर्ने शाखा नै स्थापना गरेर दुई जना प्रहरी परिचालन गरिएकाले फेला पर्ने क्रम बढेको बताए । “दुई जना प्रहरीको मोबाइल खोज्ने र अनुसन्धान गर्ने मात्रै काम भएकाले फेला पर्ने संख्या बढी रहेको छ” उनले भने ।
मोबाइल फेला पर्नेक्रम इटहरीमा बढी भएकाले मोरङ र झापा जिल्लाबाट पनि खोजीका लागि सेवाग्राही आउंने गरेको उनले जानकारी दिए ।
मोबाइल चोरीमै संलग्नलाई पक्राउ गरि कारवाही गरिन्छ भनें फेला परेको मोबाइल चलाउंनेलाई सम्झाएर छाड्ने गरिएको छ । हराएको मोबाइल फेला पार्नेलाई सम्बन्धित धनी वा प्रहरीलाई दिन प्रहरीले आग्रह गर्दै आएको छ ।