अन्तर्वार्ता/विचार आइतबार, माघ २६, २०७६

"चल्ला मार्न बाध्य छौं", टीकाराम पोखरेल– अध्यक्ष, नेपाल ह्याचरी संघ

हिमालखबर

"चल्ला मार्न बाध्य छौं", टीकाराम पोखरेल– अध्यक्ष, नेपाल ह्याचरी संघ

तपाइँहरूले चल्ला मारेको एक महीनापछि मासुको मूल्य अस्वाभाविक बढ्यो, किन चल्ला मार्नुभयो ?

हामी कुखुरा उत्पादन गर्ने किसान होइनौं । हामीले उत्पादन गरेका चल्ला बिक्री भएनन्, अनि मार्‍यौं । नबिकेपछि चल्ला मार्नु हाम्रो बाध्यता हो।

नबिकेका चल्ला यत्तिकै राख्न सकिंदैन ?

अण्डाबाट चल्ला उत्पादन हुन २२ दिन लाग्छ । चल्ला निस्केको ७२ घण्टाभित्र खोरमा हाल्नुपर्छ । नभए ती चल्लालाई मार्नुबाहेक अर्को विकल्प छैन । हामीले चल्ला अहिले मात्र मारेका होइनौं । डेढ वर्षदेखि नबिकेका चल्ला मार्दै आएका छौं ।

डेढ वर्षसम्म असर देखिएको थिएन तर, यसपटक चल्ला मार्दा मासुको मूल्य किन बढ्यो त ?

किसानले कुखुरा पाल्नै छोडे । किनभने कुखुरापालन व्यवसायमा टिक्न सक्ने अवस्था नै छैन । किसान दुई वर्षदेखि लगातार घाटामा छन् । घाटाको व्यापार किसानले कहिलेसम्म गर्ने ?

घाटाको व्यवसाय कसरी धानिरहनुभएको छ त ?

ब्याङ्कमा ऋण छ । त्यसैले ब्याङ्कलाई देखाउन पनि व्यवसाय गर्नुपर्ने बाध्यता छ । किसानको समस्या बुझिदिने कोही छैन । भन्ने ठाउँ पनि छैन । एक दिन नाफा होला भन्ने आशैआशमा डुब्यौं ।

किसानको समस्या समाधान गर्न सरकारले के गर्नुपर्छ ?

चल्ला मारेका कारण मासुको मूल्य बढेको भन्दै हामीलाई दोष दिएका छन् । प्रतिकेजी रु.२० मा पाइने मकैको मूल्य रु.५० र भटमासको मूल्य रु.८० पुगेको छ । तर, कुखुराको मूल्य चार वर्षदेखि एउटै छ ।

जिउँदो कुखुरा किसानले कम्तीमा प्रतिकेजी रु.२२० मा बेच्न पाउनुपर्दछ । सरकारले अण्डा, कुखुरा र चल्लाको लागत मूल्य तोकिदिनुपर्छ ।

 

प्रतिकृया दिनुहोस