बनेपाको शुभकामना सिनेमा घर अब डिजिटल प्रविधिमा
काभ्रेको बनेपामा रहेको शुभकामना हाइ भिजन सिनेमा हलले डिजिटल प्रविधिको सुविधा थप गरेको छ । यससँगै उक्त सिनेमा हलको नाम समेत परिवर्तन गरेर शुभकामना सिनेमा हल राखिएको छ ।
तीव्र प्रतिस्पर्धा, बजारको माग र दर्शकको चाहनालाई ख्याल गर्दै काभ्रेको बनेपामा रहेको शुभकामना सिनेमा हलले पनि आफूलाई अपग्रेड गर्दै पूर्ण डिजिटल प्रविधिमा सञ्चालन भएको हो ।
निर्माणको लागि करिब ४५ दिन बन्द रहेको सिनेमा हल शुक्रबार, २४ माघदेखि अत्याधुनिक डल्बी डिजिटल साउण्ड, फूल एसी, आरामदायी सिटसहित सञ्चालनमा आएको छ । २४ माघदेखि बिहान ८ः३० र ११ः ३० बजे साङ्लो, दिउँसो २ः३० बजे सेल्फी किङ र साँझ ६ बजे हिन्दी चलचित्र मलङ्ग प्रदर्शन भइरहेका छन् ।
पुनः सञ्चालनमा आएको अवसरमा सिनेमा हलले विशेष छूटको व्यवस्था गरेको छ । केही समयको लागि टिकटदर १५० रूपैयाँ तोकिएको छ । त्यस्तै बुधबार, बिहीबार तथा हरेक बिहानी सो मा १०० रूपैयाँ मात्र टिकटदर रहेको छ ।
प्रविधिको विकास र विस्तारसँगै सिने क्षेत्रमा पनि थुप्रै खालका नयाँ प्रविधिहरू भित्रिएका कारण शुभकामना सिनेमा हलले पनि आफूलाई सोही अनुसार विकास गरेको जनाएको छ ।