ओमानलाई नेपालले दियो २५० रनको चुनौती
कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीमा नेपालले ओमानलाई २५० रनको चुनौती दिएको छ ।
कीर्तिपुर मैदानमा जारी एक दिवसीय सिरिजमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । ६९ बलमा एक छक्का र ६ चौका सहित ५३ रन बनाए ।
एक दिवसीय क्रिकेट (ओडीआई) मा ज्ञानेन्द्रको यो दोस्रो अर्धशतक हो । यसअघि १ अगष्ट २०१८ मा नेदरल्याण्ड विरुद्ध ज्ञानेन्द्रले अर्धशतक गरेका थिए । तर, कप्तान भएपछि भने पहिलो पटक अर्धशतक गरेका हुन् ।
पूर्वकप्तान पारस खड्काले एक छक्का र चार चौका सहित ३८ रन जोडे भने बिनोद भण्डारीले ३५ रन जोडे । आरिफ शेख र कुशल मल्लले २८–२८ रन जोडे । करण केसी १० रनमा आउट भए भने सन्दीप लामिछाने १० रनमा अविजित रहे ।
विकेटको क्षतिमा नेपालले २४९ रन जोड्दा कमलसिंह ऐरी ९ रनमा अविजित रहे । नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् ।
ओमानका लागि खवार अलीले ४ विकेट लिए भने मोहम्मद नादिमले तीन विकेट लिए । नादिमकै बलमा नेपालका विनोद भण्डारी रनआउट भएका थिए ।