डेब्यू खेलमै कुशलले बनाए विश्व कीर्तिमान
अमेरिका विरुद्ध लगातार विकेट गुमिरहेका बेला नेपालका युवा अलराउण्डर कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दै विश्व कीर्तिमान बनाएका छन् ।
सवैभन्दा कम उमेरमा एक दिवसीय क्रिकेटमा विश्व कीर्तिमान बनाएका नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान कुशलले तोडेका हुन् । रोहितले सचिन तेन्दुलकरको २९ वर्ष पुरानो विश्व कीर्तिमान तोडेका थिए । सँगै, रोहितले शाहिद अफ्रिदीको कीर्तिमान समेत तोडेका थिए ।
तर, तिनै रोहितको ठाउँमा प्लेइङ इलेभेनमा अवसर पाएका कुशलले कुशल मल्लले १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक बनाए । कुशलले ४९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अर्धशतक बनाए ।
एक दिवसीयमा रोहितकुमार पौडेलले विश्व कीर्तिमान बनाउँदा उनी १६ वर्ष १४६ दिनका थिए । सचिन तेन्दुलकर १६ वर्ष २१३ दिन र शाहिद अफ्रिदी १६ वर्ष २१७ दिनका थिए ।
पछिल्लो खेलहरुमा खासै राम्रो गर्न नसकेपछि रोहितको ठाउँमा कुशललाई खेलाइएको थियो । बुधबार कीर्तिपुर मैदानमै रोहितले खाता खोल्न सकेका थिएनन् ।
तर, कुशलले डेब्यू खेलमै अर्धशतकीय पारी खेल्दै विश्व कीर्तिमान बनाए । कुशललाई कीर्तिमान बनाउनमा भने अमेरिका फिल्डरले गरेको कमजोरी समेत महत्वपूर्ण बन्यो । ३८ रन बनाउँदा कुशलको बल हावामा थियो तर, अमेरिकी फिल्डरले क्याच मिस गरे । कुशल क्रिजमै रहन सफल भएका थिए ।
कुशलले २७ डिसेम्बर २०१९ बाट राष्ट्रिय टीममा डेब्यू गरेका हुन् । सिंगापुरमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा जिम्बाबे विरुद्ध मल्लले डेब्यू गरेका थिए । उनले जिम्बाबे विरुद्ध दुई र सिंगापुर विरुद्ध एक खेल खेले ।
गत महीना विश्वकै पुरानो क्रिकेट क्लब एमसीसीको नेपाल भ्रमणका क्रममा कशलले १२ रन र एक विकेट लिएका थिए ।
४९ रन जोड्दा नै पाँच विकेट गुमाएको नेपालका लागि कुशल र विनोद भण्डारीले ८४ रनको साझेदारी गर्दा नेपालको इनिङ सम्मालिन पुगेको छ ।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । तर, शरद भेषवाकरको ठाउँमा स्थान बनाएका सुवास खकुरेल, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखजस्ता भरपर्दा ब्याट्सम्यान भटाभट पेभेलिन फर्किए ।
ओपनिङमा आएका खकुरेलले ३ रनमै आउट भए । कप्तान मल्लले २१, खड्का १९ रनमै आउट भए । उपकप्तान ऐरीले खाता खोल्न नै सकेनन् ।