युवा अलराउण्डर कुशलको अमेरिका विरुद्ध बिस्फोटक ब्याटिङ
अमेरिका विरुद्ध लगातार विकेट गुमिरहेका बेला नेपालका युवा अलराउण्डर कुशल मल्लले बिस्फोटक ब्याटिङ गरिरहेका छन् ।
२० ओभरको खेल नसकिदै ५० रन जोडेर पाँच विकेट गुमाइसकेको नेपालका लागि मल्लले आशा जगाएका छन् । १५ वर्षीय क्रिकेटर कुशलले २९ बलमा २७ रन जोडिसकेका छन् । उनले दुई छक्का र दुई चौका प्रहार गर्दै अनुभवी ब्याट्सम्यान बिनोद भण्डारीसँग साझेदारी गरिरहेका छन् । कुशलको एक दिवसीय क्रिकेटमा डेब्यू हो ।
बिनोदले पनि ३२ बलमा २५ रन जोडिसकेका छन् । अहिले ३० ओभर सकिदा नेपालले १०२ रन जोडेको छ ।
घरेलु मैदान कीर्तिपुरमा जारी एक दिवसीय सिरिजमा नेपाल अमेरिकासँग खेलिरहेको छ ।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । शरद भेषवाकरको ठाउँमा स्थान बनाएका सुवास खकुरेल, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखजस्ता भरपर्दा ब्याट्सम्यान नेपालले गुमाइसकेको छ ।
ओपनिङमा आएका खकुरेलले ३ रनमै आउट भए । कप्तान मल्लले २१, खड्का १९ रनमै आउट भए । उपकप्तान ऐरीले खाता खोल्न नै सकेनन् । नेपालले बुधबार ओमानसँग पनि हार बेहोरेको थियो ।