कला/साहित्य शनिबार, माघ २५, २०७६

नेपालकै जेठो संस्मरण

हिमालखबर

नेपालकै जेठो संस्मरण

पुस्तक– भक्तपुरमा गोर्खाली हमलाः गरुडनारायण गोंगलको सम्झना, ग्रन्थकार– देविचन्द्र श्रेष्ठ, प्रकाशक– जगदम्बा प्रकाशन, पृष्ठ ९०+२, मूल्य– रु.२५०

पृथ्वीनारायण शाहको वि.सं. १८२६ को भक्तपुर हमलाका प्रत्यक्षदर्शी गरुडनारायण गोंगलको चौध पृष्ठ लामो हस्तलिपि संस्मरणमा आफ्नो ऐतिहासिक अध्ययन प्रयोग गर्दै देविचन्द्र श्रेष्ठले नवीन कृति बाहिर ल्याएका छन्– भक्तपुरमा गोर्खाली हमलाः गरुडनारायण गोंगलको सम्झना ।

आफूलाई लेखक नभई ग्रन्थकारको परिचय दिएका देविचन्द्रले पुस्तकमा ऐतिहासिक छलफल, लेखन समय, अन्तरिमकाल, संस्मरणको ऐतिहासिक विशेषता, हमलाको खास वर्णन, परिणाम, रणजित मल्लका विवाहित रानी तथा अनेक उपरानीहरूका सन्तति, भाषा वंशावली, राजकुल भक्तपुरको भौतिक स्वरूपः संक्षिप्त चर्चा, संस्मरण विधामा जेठो कृति, गरुडनारायणको वंश परिचय जस्ता उपशीर्षक चयन गरेका छन् । यस्ता छोटाछोटा उपशीर्षकले कृति बुझ्न सजिलो छ ।

गरुडनारायणले हस्तलिपिको एकठाउँमा युद्धको मिति ने.सं. ९०९ लेखेका छन् । तर, यो युद्धको मिति नभई लेखनीको समय हो भन्ने संकेत मिल्छ । हमलाको मिति त ने.सं. ८९० अर्थात् १ मार्ग १८२६ हो । देविचन्द्रले यसमा तथ्य स्थापित गरेका छन् ।

यस हिसाबमा भक्तपुरको पतनको २० वर्षपछि गरुडनारायणले यो संस्मरण लेखेको थाहा हुन्छ । यसरी हेर्दा यो दस्तावेज नेपालको संस्मरणात्मक निबन्धकै जेठो कृति हुनसक्ने देखिन्छ । किनकि पृथ्वीनारायणको ‘दिव्योपदेश’ (यसलाई संस्मरण मात्र भन्न नसकिने लेखकको तर्क छ) वि.सं. १८३१ तिरको भएको दाबी छ ।

हमलाको समय बारे पछिल्लो युगका इतिहासकार सहमत छन् । “साइत हेरी वि.सं. १८२६ को कात्तिक महीनाको शुक्लपक्षको ठूलो एकादशीका दिन राजा पृथ्वीनारायण शाहले दुईतिर मुख गरी भक्तपुर शहरमाथि जोडदार आक्रमण गर्ने भनी काजी वंशराज पाँडेको प्रमुख नेतृत्वमा गोरखा राज्यका सैनिकहरूलाई भक्तपुर शहरभित्र बलपूर्वक प्रवेश गर्ने आदेश जारी गरिदिए (कात्तिक २९ गते, तदनुसार १० नोभेम्बर इ.सं. १७६९)”— श्रीकृष्ण आचार्यको पुस्तक ‘अन्तःकलह’ मा लेखिएको छ ।

कान्तिपुर र ललितपुरको विजयपछिको लगभग एक वर्षसम्म केही नलेखिए पनि त्यसबीचमा आत्मसमर्पण गराउने प्रयास पृथ्वीनारायणले गरेका हुनसक्ने सम्भावना देखिन्छ । “यहाँबाट हामीले खेदेर पठाएका दुईवटा मृगहरू त्यहाँ तपाईंकहाँ पसिरहेका छन्, तिनीहरूलाई पक्रिई यहाँ हामीकहाँ यथाशीघ्र सुम्पिदिनुहोस्” भन्ने मीतछोरा पृथ्वीनारायणको पत्रको जवाफमा रणजितले प्रजासँग सल्लाह गरी– २४ वटै टोलमा प्रबुद्ध नागरिकहरूबाट रायसुझावहरू संकलन गर्न छरिदारहरू पनि खटाई जवाफमा– ‘शरण पर्न आएकाहरूको मरण गराउनमा मेरो सहमति रहेको छैन’ भन्ने जवाफ दिएका थिए ।

लडाइँको स्थिति हेर्दा रणजितका छोरा धनसिंह मल्ललाई पृथ्वीनारायणले आफ्नो मतमा लिएका हुनसक्ने सम्भावना देविचन्द्रको पुस्तकबाट सूचित हुन आउँछ । त्यस्तै जयप्रकाश मल्लले सुगठनमा लिएका नगरकोटी सैन्यको प्रसङ्ग रहन्छ, जसले तोपलाई घिसार्दै ल्याएर मूल सडकमा राखी सञ्चालन गरेपछि गोर्खाली सैनिकले घरका छानामा चढेर गोली चलाउन थालेको बताइन्छ । त्यसै वेला जयप्रकाशको गोडामा गोली लाग्छ ।

भक्तपुर विजयपछि पृथ्वीनारायण शाहले आफ्ना सभासद् पण्डित ललितावल्लभलाई ‘भक्त विजय’ काव्य लेखाएका थिए । तर, यो कृति गरुडनारायणको प्रत्यक्षदर्शीको अनुभूति दिलाउन नसक्ने ग्रन्थकारको तर्क छ ।

जयप्रकाश घाइते भएपछि नै रणजितलाई आत्मसमर्पण गर्ने काम भएको बुझिन्छ । परन्तु त्यसदिन त्रयोदशी टुट भएर चतुर्दशी लागेको कुरा ज्योतिष गणनाबाट सिद्ध भएको ग्रन्थकारको व्याख्याबाट प्रष्ट हुन्छ । संशोधन मण्डलको गणना अनुसार, उक्त दिन ने.सं.८९० कात्तिक शुक्लचतुर्दशी आइतवार (सं.१८२६ मार्ग १ गते) परेको थियो ।

पुस्तकाकारमा समावेश लिखतपत्रमा जम्मा २०३ हरफका छविचित्र छन्, त्यस पुरानो लिपिलाई देविचन्द्रले सक्दो सचेततापूर्वक उतार गर्ने प्रयास गरेर पाठकलाई सजिलो पारिदिएका छन् । केही नेपाल भाषा (नेवारी भाषा) का शब्द र तिनका अर्थ प्रदान गर्ने प्रयास भएको छ । 

गरुडनारायणको संस्मरणमा युद्धमा गोली लागेर मर्नेहरूको सूची सही ठहर्छ । मारिएका भनिएका तीन जनामा एकजना क्वाछे टोलका धंजु त्यो वेलासम्मै जीवित रहेको प्रमाण पनि प्रस्तुत गरिएको छ । पृथ्वीनारायणका मीतको भने चाँडै मृत्यु भयो ।

मढ्या, धनजुजु, डाटिम्ह जुजु, मेल डाटी लगायतका नाम स्मरणमा उल्लेख छ । छुटेको एउटा चाहिं अवधूत सिंहको प्रसङ्ग हो, उनी रणजितका मठ्या कान्छा छोरा थिए । उनी ‘बाबुसँगै काशी गएका थिए र पछि गोर्खा बागी भएर असफल जीवन बाँचे’ भनिन्छ ।

रणजित अतिदयालु थिए भन्ने प्रमाण धेरैतिरबाट जुटेका छन् । जयप्रकाश मल्ल र तेजनरसिंह मल्ललाई शरण दिंदा, जनताको जमीन कर्मचारीले हडप्दा उनी जनताका पक्षपाती थिए; कवि, नाटककार थिए । “शासनका अन्तिम समयतिर यिनी बढी प्रजातान्त्रिक देखिन्छन्”, इतिहासका अध्येता श्रीरामप्रसाद उपाध्यायको तर्क छ । अर्का इतिहासकार डा.बलराम कायस्थको भनाइमा रणजितका पालामा कलाकृति एवं साहित्यका क्षेत्रमा उल्लेख्य काम भएको थियो ।

भक्तपुर विजयपछि पृथ्वीनारायण शाहले आफ्ना सभासद् पण्डित ललितावल्लभलाई ‘भक्त विजय’ काव्य लेखाएका थिए । तर, यो कृति गरुडनारायणको प्रत्यक्षदर्शीको अनुभूति दिलाउन नसक्ने ग्रन्थकारको तर्क छ ।

गरुडनारायणको अति दुर्लभ सांस्कृतिक सम्पदाको संरक्षण, लेखन र प्रकाशन मार्फत देविचन्द्र र प्रकाशक जगदम्बा प्रकाशनलाई धन्यवाद नदिइरहन सकिंदैन ।

प्रा.डा. खेम दाहाल

प्रतिकृया दिनुहोस