मिसनमा खटिदा मानव अधिकारको उच्च सम्मान गर्न महानिरीक्षक खनालको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा खटिने सुरक्षाकर्मीलाई मानव अधिकारको उच्च सम्मान गर्न निर्देशन दिएका छन् ।
मिसनमा जान लागेको सशस्त्र प्रहरीको एक टोलीलाई शुक्रबार बिदाइ गर्दै महानिरीक्षक खनालले मानव अधिकार र महिला हिंसाको विषयमा शून्य सहनशीलताको रणनीति पालना गर्नुपर्ने बताएका हुन् ।
खनालले मिसन इलाकामा रहँदा त्यहाँको भाषा संस्कृति, रहनसहन र परिवेश फरक हुने हुनाले सुरक्षाकर्मीहरु थप सतर्क र चनाखो भई जिम्मेवारी निर्वाहमा क्रियाशील रहनुपर्ने बताए ।
उनले मिसनमा सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र संगठनको प्रतिनिधित्व गर्ने हुनाले उच्च व्यावसायिकता प्रदर्शन गर्दै अनुशासित र इमान्दारिताका साथ उत्कृष्ट कार्यसम्पादन गर्न समेत निर्देशन दिए।
साथै उनले विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय र सहकार्य गरी चेन अफ कमाण्ड र फौजी संस्कारमा रहेर पूर्ण व्यावसायिकताका साथ प्राप्त जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिए।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेको कमाण्डमा एफपीयूको रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा २० जना अधिकृतसहित कूल १८० जना रहेका छन् ।