दुर्गानाथ सुवेदी नेपालका दोस्रो ओडीआई एम्पायर
सन् २०१८ मा एक दिवसीय क्रिकेट (ओडीआई) को मान्यता पाएको नेपालले बुधबार पहिलो खेल ओमानसँग खेलेको छ ।
पहिलो खेल नै नेपालले १७ रनले गुमाउन पुग्यो । शनिबार दोस्रो खेल अमेरिकासँग खेल्दैछ । ओमान, अमेरिका र नेपालबीचको सिरिजमा नेपालले अझै तीन खेल खेल्नै बाँकी छ । तर, नेपालका दुर्गानाथ सुवेदीले भने बिहीबार नै ओडीआईको एम्पायर बन्ने अवसर पाएका छन् ।
अमेरिका र ओमान बीचको खेलबाट सुवेदी 'देवेन्द्र' ले ओडीआई एम्पायरमा डेब्यू गरेका छन् । ४३ वर्षीय सुवेदीले हिमाल खबरसँग भने, “आईसीसी र एसीसी गरी सय बढी खेलमा एम्पायर भए पछि ओडीआईमा डेब्यूको अवसर पाए, खुशी लागेको छ ।”
घरेलु मैदानमा हुने ओडीआईमा एक घरेलु एम्पायर हुनुपर्ने आईसीसीको प्रावधान छ । यसको अवसर भने नेपालका बुद्धि प्रधानले पाइसकेका छन् । नेपालको पहिलो ओडीआई एम्पायर इतिहास बनाएका प्रधानले २८ वटा ओडीआई खेलाइसकेका छन् । सन् २००६ मा केन्या र बर्मुडा बीचको खेलबाट प्रधानले डेब्यू गरेका थिए ।
नेपाल र ओमान बीचको खेलमा समेत प्रधान एम्पायर रहे । अब भने प्रधानसँगै ओडीआईमा सुवेदी पनि एम्पायर थपिएका छन् । सन् २००६ बाटै अन्तर्राष्ट्रिय प्रतियोगितामा
सुवेदी एम्पायर गर्न थालेका हुन् । आईसीसीको एसोसियट अन्तर्राष्ट्रिय प्यानलमा नेपालका प्रधान, सुवेदी र विनय झा छन् । तर, विनयले भने अहिलेसम्म ओडीआई खेलाउने अवसर पाएका छैनन् ।