थप समाचार शुक्रबार, माघ २४, २०७६

मुगुलाई लागुऔषधमुक्त बनाउन जुट्याे प्रहरी

हिमालखबर

मुगुलाई लागुऔषधमुक्त बनाउन जुट्याे प्रहरी

मुगुमा युवायुवतीहरू चरेश, ब्राउन सुगर र ट्याब्लेट जस्ता लागुऔषधका दुर्व्यसनमा फस्दै गएपछि लागुऔषध सेवन र ओसारपसार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीहरू आक्रामक रूपमा खटिएका छन्।

गत ७ साउनमा मुगु स्थित रारा विमानस्थलबाट २ ग्राम २५ मिली ग्राम परिमाणको ब्राउन सुगर सहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लियो । २२ दिनको हिरासतपछि मुगु जिल्ला अदालतको आदेश अनुसार सोही महीनाको २९ गते १ लाख २० हजार धरौटीमा उनी छुटे ।

गत १८ कात्तिकमा रारा विमानस्थलबाटै एक अर्का २४ वर्षीय युवकलाई पनि नाइट्राभेट ३५ र ट्रमाडोल ४ ट्याब्लेट लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लियो । युवक एक महीना हिरासतमा बसेर १८ मंसीरमा अदालतकै आदेश अनुसार १ लाख धरौटीमा रिहा भए ।

२१ माघमा सदरमुकामको कृष्ण चोक नजिक रहेको चन्दननाथ होटलबाट ०.१० मिलिग्राम ब्राउन सुगर सहित एक जोडी युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लियो उनीहरूमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गत साउन यता नेपाल प्रहरीले लागुऔषध सम्बन्धमा ९ वटा मुद्दामा १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा मुद्दा चलाइरहेको छ । यो अवधिमा प्रतिवादीहरूबाट प्रहरीले २ ग्राम ६३ मिलिग्राम ब्राउन सुगर, १७३० ग्राम ९५ मिलिग्राम चरेश र नाइट्राभेट ३५, ट्रमाडोल ४ ट्याब्लेट बरामद गरेको छ ।

पछिल्लो समय जिल्लामा युवायुवतीहरू चरेश, ब्राउन सुगर र ट्याब्लेट जस्ता लागुऔषधका दुर्व्यसनमा फस्दै गएपछि लागुऔषध सेवन र ओसारपसार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीहरू आक्रामक रूपमा खटिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख भुवनेश्वर प्रसाद साहले जनाए ।

उनका अनुसार लागुऔषध सेवन र ओसारपसारलाई शून्यमा झार्न पछिल्लो समय मुगु प्रहरी आक्रामक रूपमा लागेको छ । यसमा प्रहरीले कडा कदम चालेपछि लागुऔषध नियन्त्रणमा सफलता मिल्दै आएको जिप्रका मुगुले जनाएको छ ।

लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रहरी नायब उपरीक्षक साहले बताए ।

गत साउन यता नेपाल प्रहरीले लागुऔषध सम्बन्धमा ९ वटा मुद्दामा १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा मुद्दा चलाइरहेको छ । यो अवधिमा प्रतिवादीहरूबाट प्रहरीले २ ग्राम ६३ मिलिग्राम ब्राउन सुगर, १७३० ग्राम ९५ मिलिग्राम चरेश र नाइट्राभेट ३५, ट्रमाडोल ४ ट्याब्लेट बरामद गरेको छ ।

गत साउन यता जिल्लामा ८ वटा लागुऔषधका घटनामा ९ जना विरुद्ध मुद्दा चलेर धरौटीमा छुटेका र २ जना माथि अनुसन्धान चलिरहेको प्रनाउ साहले बताए । अघोषित रूपमा मुगु जिल्लालाई लागुऔषध निषेधित जिल्ला बनाउने अभियानमा नेपाल प्रहरी लागेको उनको भनाइ छ ।

लागुऔषध सेवनकारी र कारोबारी बढ्दै गएपछि प्रहरी कठोर रूपमा प्रस्तुत भएको र दिनरात नभनी नाका नाका र शंकास्पद स्थानमा चेकजाँच बढाएको प्रहरीले जनाएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

गत वर्ष लागुऔषध घटनामा १ जना प्रतिवादी रहेको र विभिन्न घटनाका विरुद्ध ४१ वटा उजुरी परे भने यो वर्षको मध्यमै लागुऔषधमा ९ वटासहित कुल ८२ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा देखिन्छ ।
विगतका वर्षभन्दा यो वर्षको शुरुदेखि नै यस जिल्लामा लागुऔषध नियन्त्रणमा सुरक्षा निकाय कडाइका साथ लागिपरेकाले दुव्र्यसनीलाई नियन्त्रणमा लिन सफल हुँदै आएको साहको भनाइ छ ।

गृह मन्त्रालयको कार्ययोजना अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम टोलदेखि जिल्ला स्तरसम्म संचालित छ । प्रत्येक समितिमा स्थानीयहरूको सहभागिता छ । मुगु जिल्लामा २ सय ७० वटा टोल, वडा, विद्यालय, पालिका र जिल्लास्तरीय समिति गठन भएका छन् । सधैंजसो नेपाल प्रहरीले सामुदायिक र जनचेतनामूलक कार्यक्रम जारी राखेको छ ।

गत साउन यता समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाभरि २४० कार्यक्रम संचालन गरिएका छन् ।

समुदाय प्रहरी साझेदारीले गाउँघर कतै झैंझगडा, अस्वाभाविक क्रियाकलाप र लागुऔषधको कारोबार भएमा स्थानीय समितिका सदस्यहरूले सीधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले विभिन्न आपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सहज भएको पनि प्रहरीले बताएको छ ।

अच्युत राज भण्डारी

 

प्रतिकृया दिनुहोस