थ्रीस्टारको जितमा अनन्त तामाङको निर्णायक गोल
जारी शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लब विरुद्ध थ्रीस्टार विजयी भएको छ ।
थ्रीस्टारको यो छैटौं जित हो । ११ खेल खेलिसकेको थ्रीस्टार संकटालाई हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सकिएको खेलमा संकटा थ्रीस्टारसँग एक–शून्य गोल अन्तरले पराजित भयो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ७९औं मिनेटमा मात्रै थ्रीस्टारले गोल गर्यो । थ्रीस्टारका लागि अनन्त तामाङले गोल गरेका थिए । उनकै गोल निर्णायक बन्यो ।
संकटाले बराबर गर्ने अवसर पाए पनि गोल गर्न सकेन । संकटा समान एघार खेलबाट १५ अंक जोड्दै लिगको छैटौं स्थानमा छ ।