गोरखाको धार्चेमा सिभिल बैंकको नयाँ शाखा उद्घाटन
गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको नयाँ शाखा खुलेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले १७ माघमा एक समारोहका बीच उद्घाटन गर्दै नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गरे ।
मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्याउने लक्ष्यलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको उनले जानकारी दिए ।
मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने राष्ट्र बैंकको नीतिगत अभियानमा सिभिल बैंकको धार्चे शाखाले अर्को ईंटा थपेको उल्लेख गर्दै उनले भने, “सिभिल बैंकले गोरखाको विकट ठाउँमा वित्तीय सेवा विस्तार गरेकोमा म एकदमै खुशी छु ।”
यसरी ग्रामीण भेगमा बैंकको शाखा विस्तारले वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विचार गभर्नर डा. नेपालले राखे । “वित्तीय सेवाको पहुँच यसरी नै विस्तार हुँदै जाँदा त्यसले मुलुकको आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउनेछ” उनले भने ।