माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक उद्घाटन
माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको आज एक औपचारिक कार्यक्रम गरेर उद्घाटन भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा क्यापिटलको उद्घाटन भएको हो ।
समारोहमा नेपाल धितो पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले माछापुच्छ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफलताको शुभकामना व्यक्त गरे ।
साथै, पुँजीबजार क्षेत्रमा नवीनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यावसायिकता र नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्ने विश्वास लिएको जानकारी दिए ।
त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष बिरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानीभित्र मात्र नभई देशभरि रहेका लगानीकर्ता हरुलाई सेवा पुर्याउनु पर्नेमा जोड दिए ।