रिपोर्ट विहीबार, माघ २३, २०७६

महिला गाइडले खेप्नुपरेको आम प्रश्न, “बाहिर बाहिर हिंड्छे, यस्तालाई कसले बिहे गर्छ ?”

शुष्मा बराली

महिला गाइडले खेप्नुपरेको आम प्रश्न, “बाहिर बाहिर हिंड्छे, यस्तालाई कसले बिहे गर्छ ?”
निना सिंह स्कामब्राक्स ।

पदयात्रा र पर्वतारोहणका लागि नेपाल विश्वकै चर्चित गन्तव्यमा पर्छ । नेपाली पहाड र पर्वतमा रोमाञ्चक र साहसिक यात्राको मज्जा लिन विभिन्न देशका पर्यटक आउँछन् ।

यी पर्यटकलाई उनीहरूले चाहेको गन्तव्यमा सहज ढङ्गले घुमाउने जिम्मा हो, गाइड (पथप्रदर्शक) को । विभिन्न ट्रेकिङ तथा ट्राभल एजेन्सीमा आबद्ध भएर तथा स्वतन्त्र रूपमा पनि गाइडहरूले सेवा दिन्छन् ।

कठिनाइको हिसाबले ट्रेकिङ तथा माउन्टेन गाइडको चुनौतीपूर्ण काममा पुरुषको बाहुल्य छ । तर, यो क्षेत्रमा पछिल्लो समय महिलाहरूको प्रवेश उत्साहजनक छ । तीन दशकदेखि गाइडको काम गर्दै आएकी निना सिंह स्कामब्राक्स (५३) नयाँ पुस्ता भित्रिने क्रम उल्लेखनीय रहेको बताउँछिन् ।

उनले पनि १९ वर्षकै उमेरमा गाइड पेशामा कदम राखेकी थिइन् । पहिलो पटक नै २३ जापानी पर्यटक लिएर धुलिखेल जाँदा उठाउनुपरेको चुनौती उनले अझैसम्म बिर्सेकी छैनन् । “एक त कामको अनुभव नै थिएन, अर्कातिर समाजले कोरिदिएको परिभाषा अनुसार छोरी मान्छे एक्लै कसरी काम गर्ने भन्ने पीर थियो”, उनी भन्छिन् ।

गाइड बन्नु अघि ब्याडमिन्टन सिक्ने क्रममा जापानी प्रशिक्षकका कुरा बुझन उनले तीन महीना जापानी भाषा सिकेकै थिइन् । साथै, गाइड तालिममा जानेका ज्ञान प्रयोग गर्दा उनको पहिलो जिम्मेवारी नै सफल साबित भयो । “त्यसपछि दायाँ–बायाँ केही नसोची यही पेशामा केन्द्रित भएँ”, उनी भन्छिन् ।

दावा शेर्पा

ट्रेकिङ गाइडका रूपमा अन्नपूर्ण क्षेत्रदेखि लुक्ला र कालापत्थरसम्म पुगेको उनी सुनाउँछिन् । पछिल्लो समय भने सिटी गाइडका रूपमा काम गर्छिन् । लामो समय स्वतन्त्र गाइडका रूपमा काम गरेकी उनी ६ वर्षयता ट्रान्स हिमालयन टुरमा सहायक प्रबन्धक छिन् ।

दावा याङ्जुम शेर्पा (२९) अल्पाइन एसेन्ट्स इन्टरनेशनलकी माउन्टेन गाइड हुन् । सन् २००८ मा ट्रेकिङ गाइडको काम थालेकी उनले सन् २०१६ मा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको प्रमाणपत्र पाएपछि व्यस्तता बढेको छ ।

शेर्पा परिवारमा जन्मिएकाले हिमालको मोह स्वाभाविकै थियो, सगरमाथा चढ्ने सानैदेखिको सपना थियो । सपना पछ्याउँदै आरोहणको तालिम लिने क्रममा उनलाई गाइड पेशाले तान्यो । “जीविकोपार्जनका लागि गाइडको काम गर्नु आफ्नो ठाउँमा थियो, सपना पूरा गर्ने तयारी पनि मैले गरिरहेको थिएँ”, उनी भन्छिन् ।

उनले हिमाल आरोहणको पाँचवर्षे तालिम लिइन्, त्यसै अवधिमा पाँच हजार मिटर माथिका विभिन्न हिमाल चढिन् । अन्ततः सन् २०१२ मा सगरमाथाको चुली चुमेरै छाडिन् । उनी महिलाहरूलाई हिमाल आरोहणको तालिम पनि दिन्छिन् ।

यी महिला गाइडको कर्म गाथा जान्दा उनीहरूले सफलता सजिलै हात पारेको जस्तो लाग्न सक्छ । तर, उनीहरूले गाइड पेशाका क्रममा जति कठिन भूगोल छिचोलेका छन्, यो क्षेत्रमा आउन र काम गरिरहँदा उनीहरूले सामना गर्नुपरेका चुनौती पनि त्यत्तिकै विकट छन् ।

साबित गर्दै

डाेल्मा पाख्रिन

देशभरिमा पुरुष गाइडको संख्या ३५ हजार ५७ र महिला गाइड ५ हजार ४०९ रहेको नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) को तथ्याङ्क छ । राम्रो पारिश्रमिकका कारण यो पेशाप्रति आकर्षण बढ्दो छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले निर्धारण गरे अनुसार, गाइडले दैनिक रु.१५०० देखि रु.२१०० सम्म पारिश्रमिक पाउँछन् । यससँगै उनीहरूले सेवा र अनुभवका आधारमा पर्यटकबाट ‘टिप्स’ पनि पाउँछन् । तर, यस्तो आकर्षक पेशामा रहेका महिलाहरूले विभिन्न समस्या भोग्दै आएका छन् ।

पर्यटक गाइडको धेरैजसो समय घरबाहिरै बित्छ । पेशाका क्रममा लामो समय बाहिर हिंड्नुपर्ने भएकाले महिला गाइडले समाजमा विभिन्न शङ्का र लाञ्छना खेप्नुपर्ने भुक्तभोगीहरू बताउँछन् । दावाको अनुभवमा गाइडको काम गर्ने छोरी सक्षम र विश्वासिलो भए पनि परिवारलाई समाजले दिने तनावको लेखाजोखा नै गर्न सकिंदैन ।

‘बाहिर बाहिर हिंड्छे, यस्तालाई कसले बिहे गर्छ ?’ भन्ने जस्ता प्रश्नले समाजमा महिलाको स्थान देखाउने उनी बताउँछिन् । “यो स्थितिमा उच्च मनोबलसहित अभिभावक र समाजसामु आफूलाई साबित गर्नुपर्ने दायित्व थप बढ्छ”, उनी भन्छिन् ।

पुरुष गाइडले महिला पर्यटक लिएर जाँदा आपत्ति नहुने तर महिला गाइडले पुरुष पर्यटक लिएर हिंड्दा अनावश्यक आशंका गरिने धेरैको भोगाइ छ । समाजको संकुचित सोचकै कारण अधिकांश महिला गाइडले विवाहपछि बीचैमा पेशा छोड्नुपर्ने समस्या छ ।

आफ्नै पौरखमा बाँचिरहे पनि गोमाले ‘विवाह गर्ने उमेर घर्किसक्दा पनि अझै डुल्दै हिंडेको’ जस्ता टिप्पणी नियमित सुन्नुपर्छ, जुन अधिकांश कामकाजी युवतीको साझा अनुभव हो।

महिला गाइड उत्पादन गर्दै आएको एभरेष्ट वुमन ट्रेक्स एक्सपिडिसनकी प्रबन्ध निर्देशक माया गुरुङ पनि उत्पादित जनशक्ति व्यावसायिक रूपमा स्थापित हुन नसकेको बताउँछिन् । “पारिवारिक असहयोग र सामाजिक सोचाइका कारण यो पेशामा लाग्न र टिक्न गाह्रो छ”, उनी भन्छिन् ।

घर–समाजकै आँखी बन्नुपरे पनि पर्यटन बजारमा महिला गाइडको राम्रो माग रहेको शेर्पा इन्काउन्टर ट्रेक्स एन्ड टुरकी कार्यकारी निर्देशक डोल्मा पाख्रिन (३५) बताउँछिन् । सिटी गाइड समेत रहेकी उनको भनाइमा पर्यटकको राम्रो हेरचाह गर्ने भएकाले ट्राभल एजेन्सीहरूले महिला गाइड खोज्छन् । “वृद्धवृद्धा र महिला पर्यटक नेपाल आउँदा महिला गाइड नै माग गर्छन्”, उनी भन्छिन् । गाइड पेशा चुनौतीपूर्ण भएकाले आफ्नोे क्षमता र सामथ्र्य पहिचान गर्न सिकाउने उनको अनुभव छ ।

एक दशकदेखि गाइडको काम गरिरहेकी गोमा थापा (३२) यो क्षेत्रमा प्रवेश गर्ने वेला परिवारबाटै अवरोधको सामना गर्नुपरेको बताउँछिन् । यो पेशालाई सम्मानजनक नजरले नहेरिने भएकाले परिवारले अझैसम्म यसलाई कामको दर्जा नदिएको सुनाउँछिन् । “यही क्षेत्रमा लागेर जीवन निर्वाह गरिरहेकी छु, र पनि परिवारले अब त कुनै जागिर गरे हुन्थ्यो भन्छन्”, उनी भन्छिन् ।

आफ्नै पौरखमा बाँचिरहे पनि गोमाले ‘विवाह गर्ने उमेर घर्किसक्दा पनि अझै डुल्दै हिंडेको’ जस्ता टिप्पणी नियमित सुन्नुपर्छ, जुन अधिकांश कामकाजी युवतीको साझा अनुभव हो।

कैयौं पटक विवाहका प्रस्ताव आए पनि काम छोड्नुपर्छ भनेपछि उनले तत्काल विवाह नगर्र्ने निर्णय गरेकी छिन् । भन्छिन्, “इच्छाशक्ति र क्षमता हुँदाहँुदै महिलालाई रुचि अनुसार काम गर्ने छुट नभएको समाजलाई हामी नयाँ पुस्ताले नै हस्तक्षेप गर्ने हो ।” 

‘स्थापित हुन कठिन’

माया गुरुङ

२०६५ सालमा दश नेपाली महिला सम्मिलित ‘प्रथम समावेशी महिला सगरमाथा आरोहण दल’ ले सर्वोच्च शिखरको सफल आरोहण गर्‍यो । जसमा माया गुरुङ (३९) पनि थिइन् । सगरमाथा सहितका हिमाल आरोहण गर्ने क्रममा गाइडसहित पर्यटनका अन्य फाँटमा महिलाको संख्या कम देखेपछि जनशक्ति उत्पादनमा हात हाल्ने निर्णयमा उनी पुगिन् । त्यसैको प्रतिफल हो, ‘एभरेष्ट वुमन ट्रेक्स एक्सपिडिशन प्रालि’ ।

यो कम्पनीले बेचबिखनको जोखिममा रहेका तथा बेचिएर फर्किएका महिलाहरूलाई चार वर्षयता गाइडसहितका तालिम दिंदै आएको छ । ‘चेलीबेटी बेखबिखनको जिल्ला’ को रूपमा बदनाम सिन्धुपाल्चोकमा जन्मिएकी मायाले बेचबिखन नियन्त्रण गर्ने अर्को सपना अन्तर्गत तालिम र आत्मनिर्भरताको काममा आफूलाई केन्द्रित गरेकी हुन् ।

कम्पनीको प्रबन्ध निर्देशक रहेकी उनी उत्पादन भए अनुसारका महिला गाइड व्यावसायिक रुपमा स्थापित हुन भने नसकेको बताउँछिन् । गाइडको तालिम लिए पनि आउटडोरमा काम गर्ने महिलाहरू निकै कम रहेको उनको भनाइ छ ।

उनी भन्छिन्, “परिवारले अनुमति नदिंदा, सामाजिक टीका–टिप्पणीको डर, भविष्य सुनिश्चित नहुने चिन्तादेखि विवाहपछि पारिवारिक साथ नपाउने समस्याले महिला पथप्रदर्शक स्थापित हुनसकेका छैनन् ।”

२०६५ सालको सगरमाथा आरोहण दलकी अर्की सदस्य शैली बस्नेत पनि मायासँगै यही कम्पनीमा आबद्ध छिन् । उनका अनुसार, कम्पनीबाट प्रशिक्षित पहिलो ब्याचका पाँच महिलामध्ये तीन जनाले गाइडको अनुमति लिएर व्यावसायिक काम गरिरहेका छन् ।

कम्पनीले बेचबिखनमा परेकाहरूलाई उद्धार गर्ने गैरसरकारी संस्था ‘शक्ति समूह’ बाट छानिएका महिला तथा युवतीहरूलाई गाइडको तालिम दिंदै आएको छ । तालिम अन्तर्गत कम्तीमा एक वर्षसम्म अंग्रेजी भाषा सिकाइन्छ भने पहाड–पर्वतको जानकारी, प्राथमिक उपचार, आत्मरक्षा लगायतका तालिम दिइने गरिएको छ ।

 

प्रतिकृया दिनुहोस