हिमाली गाउँमा ‘होम स्टे’मा आकर्षण
दोलखाको रोल्वालिङ पदमार्ग हुँदै गौरीशङ्कर हिमाल, च्छो रोल्पा हिमताल, दूधकुण्ड लगायत पर्यटकीय गन्तव्य पुग्ने स्वदेशी तथा विदेशी पर्यटक अहिले होम स्टेमा बस्न थालेका छन्।
हिमाली गाउँको रहनसहन, संस्कार संस्कृति र सामाजिक वातावरणमा रमाउन पर्यटकले वासस्थानका लागि होम स्टे रोज्न थालेको टाँसिनामका रामबहादुर ठकुरीले बताए।
दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा पर्ने टाँसिनाममा विगत लामो समयदेखि होम स्टे सञ्चालन गर्दै आएका रामबहादुर केही वर्ष यता पर्यटकहरूले होम स्टेमा बस्न रुचि देखाउन थालेको बताउँछन् ।
पर्यटकहरू अहिले रोल्वालिङ पदमार्गको ग्रामीण परिवेश, खानपान, रीतिरिवाज र भेषभूषामा समेत चासो देखाउन थालेका छन् । रामबहादुरले भने, “त्यसैले उनीहरू होम स्टेमा बसेर परिवारका सदस्यहरूसँग गफिने, स्थानीय परिकार खाने र हिमाली गाउँको वातावरणमा रमाउने गर्न थालेका छन् ।
रोल्वालिङको वैकल्पिक पदमार्गमा रहेको गौरीशङ्कर गाउँपालिकाकै चंखु ल्वासामा होम स्टे सञ्चालन गर्दै आएका वाङ्छु शेर्पा पनि भूकम्पपछि हिमाली गाउँमा होम स्टे लोकप्रिय हुँदै गएको बताउँछन् ।
दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने चारवटा हिमाली गाउँमा गौरीशङ्कर संरक्षण क्षेत्रले होम स्टे सञ्चालनका लागि स्थानीयलाई आर्थिक सहयोगसँगै तालिमको समेत व्यवस्था गरिदिएको छ ।
रोल्वालिङ पदमार्गमा सुविधासम्पन्न होटलहरूको अभावले पनि गाउँघरमा सञ्चालनमा रहेका होम स्टे लोकप्रिय भएको वाङ्छु बताउँछन् ।
संरक्षण क्षेत्रको सहयोगमा रोल्वालिङ पदमार्गमा पर्ने गौरीशङ्कर गाउँपालिकाको सिमिगाउँमा १० वटा, टाँसिनाममा तीनवटा, चंखुको ल्वासामा सातवटा र मार्वुमा १० वटा होम स्टे सञ्चालनमा रहेको संरक्षण क्षेत्रका याङ्टी शेर्पा बताउँछन् । त्यसरी सञ्चालनमा रहेका होम स्टेका लागि संरक्षण क्षेत्रले १५ हजार बराबरका २ वटा बेड र कोठाका विभिन्न सामान सहयोग गरेको याङ्टीले बताए।
सर्मिला बुढाथोकी