समाचार बुधबार, माघ २२, २०७६

बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित

हिमालखबर

बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्य पदबाट स्वत: निलम्बित भएका छन् । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता समेत रहेका बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट पनि स्वतःनिलम्बित भएका हुन् ।

व्यवस्थाअनुसार उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा पाउने छैनन् । त्यसका लागि उनीमाथि लागेको भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट गलत ठहर हुनुपर्नेछ ।

प्रतिनिधिसभा नियमावली २०७५ अनुसार भ्रष्टाचार मुद्दा लागेपछि सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ । "भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन नपाउने" व्यवस्था राजनीतिक दल सम्बन्धी कानूनमा छ ।

भ्रष्ट्राचार निवारण ऐनको दफा ३३ मा र अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ मा पनि सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभएसम्म स्वत: निलम्बन हुने व्यवस्था गरिएको छ ।

यदि यो मुद्दामा उनी दोषी ठहर भए कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् ।

 

प्रतिकृया दिनुहोस