समाचार बुधबार, माघ २२, २०७६

ललिता निवास प्रकरणमा मरिसकेकाविरुद्ध पनि मुद्दा

हिमालखबर

ललिता निवास प्रकरणमा मरिसकेकाविरुद्ध पनि मुद्दा

ललिता निवासको १ सय ४० रोपनी जग्गा ब्यक्तिको नाममा नामसारी गर्न मुख्य भूमिका खेल्ने मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठ बिरुद्ध मृत्याेपरान्त मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठ बिरुद्ध २ करोड २९ लाख ५७ हजार बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा बुधबार विशेष अदालतमा दर्ता गरेको हो। श्रेष्ठले १२ साउनमा माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर आत्महत्या गरेका थिए। अवकाश प्राप्त खरिदार श्रेष्ठ पर्वत कांग्रेसका नेता समेत थिए।

श्रेष्ठ बालुवाटारको चर्चित ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न मुख्य आरोपी थिए। ललिता निवास जग्गा प्रकरण बाहिरीएपछि तनावमा रहेका श्रेष्ठ मुद्दा मिलाउन दौडधुपमा लागेपनि कतैबाट उन्मुक्तिको बाटो नदेखेपछि आत्महत्या रोजेको उनी निकटका मानिसहरुको अनुमान थियो।

ललिता निवासको सो जग्गा व्यक्तिका नाममा पुर्‍याउनका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो।

सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरदार समेत श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो।

तत्कालीन प्रधानमन्त्री ‘मन्त्रिपरिषद्, मुख्य सचिव, मन्त्रालयका सचिव, भूमिसुधार विभाग हुँदै मालपोत कार्यालयमा आएका कागजात सदर गरेर ललितानिवासको जग्गा सुवर्णशमशेरका भोगाधिकारीलाई दिने काममा कांग्रेस निकट कर्मचारीको नेता भएका कारण श्रेष्ठले खरिदार भएपनि सबै प्रक्रिया मिलाउन महत्वपूर्ण भूमिका खेलेको भेटिएको अख्तियारको दावी थियो।

उनी नेपाली कांग्रेस पर्वतका सचिव थिए। लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी १ का पूर्व गर्भनरसमेत रहेका श्रेष्ठ कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद अर्जुनप्रसाद जोशीका निकट र विश्वासपात्र मानिन्थे।

ललितानिवासको जग्गा व्यक्तिका नाममा जानेगरी २०४७, २०४९ र २०६२ साल तथा आर्थिक वर्ष २०६६-६७ र २०६८-६९ मा निर्णय गर्ने प्रमुख मालपोत अधिकृत, अधिकृत, नायब सुब्बा, खरिदारलगायतलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

२०४९ कात्तिक २५ र पुस २३ गते तत्कालीन प्रमुख मालपोत अधिकृत रामशरण देउजासहितका कर्मचारीले मिसिल नम्बर १०२४ र १०२५ को करिब एक सय १४ रोपनी जग्गा सुवर्णशमशेरका तत्कालीन हकदारहरूका नाममा नामसारी गरेको अख्तियारले जनाएको छ।

प्रतिकृया दिनुहोस