घरेलु मैदानको पहिलो ओडीआईमा नेपाल पराजित
नेपालले घरेलु मैदानमा पहिलो पटक भएको एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा खराब रकर्ड राखेको छ । योसँगै नेपालले आइसीसी क्रिकेट विश्वकप लिग–२ पनि हारबाट सुरुवात गरेको छ ।
लिग–२ अन्तर्गत ओमानसँग किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल १८ रनले पराजित भयो । १९८ रनको लक्ष पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि चार ब्याट्स्म्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । मध्यम लक्ष पछ्याएको नेपाल सुरुदेखि नै दबाबमा परेको थियो ।
आपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल १२ बल खेल्दै १ रन र पारस खड्का १४ बल खेल्दै ३ रनमा बाहिरिए । तेस्रो विकेटका लागि शरद भेषवाकर र दीपेन्द्रसिंह ऐरीले ६२ रनको साझेदारी गर्दै केही आशा जगाएका थिए ।
तर, दीपेन्द्र ३६ रनमा बाहिरिएपछि आरिफ शेख र रोहित पौडेल पनि लगातार आउट भए । रोहित ‘गोल्डेन डकआउट’ भएका थिए ।
विनोद भण्डारीले २५ बलमा २६ रन बनाए । शरद भेषवाकरले १०८ बलमा ५५ रन बनाउँदै ओडीआईको पहिलो अर्धशतक बनाए । नवौँ क्रममा आएका सन्दीप लामिछानेले केही आशा जगाउँदै २७ बलमा २८ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरेको थियो । ओडीआईमा डेब्यु गरेका सुसन भारीले १० ओभरमा १४ रन मात्र दिएर तीन विेकेट लिए । करण केसीले पनि ओडीआईमा आफ्नो रेकर्ड सुधार्दै ९ ओभरमा ४७ रन दिएर ४ विकेट लिए ।
ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । ओमानका लागि मोहम्मद नदिमले ९६ बलमा ६९ रन बनाए । एक समय ५७ रनमा नै ५ विकेट गुमाएर धर्मराएको ओमानलाई नदिम र सन्दीप गौडले सम्हालेका थिए । गौडले ७२ बलमा ३३ रन बनाए ।