अन्तर्वार्ता/विचार बुधबार, माघ २२, २०७६

‘प्रचण्डसँगको सम्बन्ध भर्खर लभ परेको केटाकेटीको जस्तो होइन’

हिमालखबर

‘प्रचण्डसँगको सम्बन्ध भर्खर लभ परेको केटाकेटीको जस्तो होइन’

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार केही छापा र अनलाइन मिडियाका सम्पादकहरुसँग सरकारी निवास बालुवाटारमा छलफल गरेका छन्। राम्रो काम देख्ने मुटु भएका सम्पादक नभएको भन्ने अभिव्यक्तिकै कारण विवादित प्रधानमन्त्री ओलीले सम्पादकहरुसँग एक घण्टा लामो विचार राखे। प्रधानमन्त्री ओलीले राखेको मन्तव्यको सम्पादित अंशः

‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदैन’

आमन्त्रण स्वीकारेर आउनु भएकोमा धन्यवाद।

हामी स्वतन्त्र समाजमा छौं। र हामी स्वतन्त्र समाजमा बाचेका छौ। यसमा त्यस्तो खतरा केही पनि छैन । पहिलो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकारका तर्फबाट आश्वस्त पार्न चाहन्छु । प्रेस स्वतन्त्रतामा किञ्चित पनि बन्देज हुँदैन। प्रेस स्वतन्त्रतालाई सीमित गर्ने, प्रकाशन र प्रसारणका कुनै पनि माध्यमका हकहरुलाई कुण्ठित गरिदैन। किनभने, म आफै ५५ वर्ष स्वतन्त्रताका निम्ति लडेको छु।

मानव अधिकारको निम्ति मैले लडेको छु। मानव अधिकारको अभाव र स्वतन्त्रताको अभाव कस्तो हुन्छ भन्ने साथीहरुले थोरै भोग्नु भएको छ। मैले अलि धेरै भोगेको छु। त्यसैले चिन्ता गर्नुपर्दैन । कुनै कुरा त्रुटीपूर्ण हुन गएको छ भने त्यो सच्याउन सकिन्छ। यसमा साथीहरुले कुनै शंका गर्नुपर्ने अवस्था छैन। पूर्ण प्रेस स्वतन्त्रता हुन्छ।

केही कामहरु केही ‘रेस्टिक्सन’हरु सभ्य समाजका लागि राख्नु पर्ने हुन्छ। हामी सभ्य समाज चाहन्छौ। हामीले आफनो स्वतन्त्रताको प्रयोग गर्दा अर्को ब्यक्तिको स्वतन्त्रता हनन् हुनु भएन। मैले आफ्नो सम्मानको कुरा गर्दा अर्काको अपमान हुनु भएन। यी बिषयमा हाम्रो सजगता आवश्यक छ।

यो प्रेस स्वतन्त्रता कुष्ठित गर्ने बिषय होइन। प्रेस सम्मानजनक होस् भन्ने आकांक्षा हो। कसैको ब्यक्तिगत र पारिवारिक जीवन, कसैको कारोबार अनुचित ढंगले क्षति पु¥याउने हिसाबले मिडिया नचलुन् भन्ने हो। मान्छे सबै हिसाबले राम्रो हुन्छ भन्ने हुँदैन। मान्छे नराम्रो पनि हुन सक्छ।

कसैले कसैको परिवार डामाडोल पार्न खोज्यो, कसैले कसैको बिजनेस डामाडोल बनाउने गरी समाचार सम्प्रेषण गर्यो भने त्यसका निम्ति सच्याउने बाटो होलान्। अथवा त्यसलाई त्यस्तो नर्गनु भनि रोक्नुपर्ने बाटो होलान्। बाटोमा हिँडने अधिकार त हामीसँग हुन्छ, तर बाटोमा कसरी हिँडने भन्ने सभ्यता हामीलाई त चाहियो।

कुनै देशमा विकास छ र अर्कोमा सभ्यता छ । हामीले दुवै कुरा भएको देश निर्माण गर्न खोजिरहेका छौं । यसमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुरा होइन।

‘बम र बन्दुक सहित पक्राउ परेका नि छुट्छन्’

विप्लव नामको एउटा समुह पैसा लुट्नका लागि आतंक मच्चाएर हिंडछ, पोलिटिक्सको नाममा। तपाईहरु लेख्न स्वतन्त्र हुनुहुन्छ। तर, त्यस्ता समूह सबैका लागि हानिकारक हुन्छन्। यसमा बिचार गरिदिनु हुन आग्रह गर्दछ।

अब कुन ब्यवस्थाका लागि संघर्ष त? मान्छे मारेर अर्थ संकलन गर्ने पद्दती सभ्य समाजका लागि स्वीकार्य छैन। यद्यपी, बम र बन्दुक सहित पक्राउ परेका मान्छे छुट्छन्। कसरी छुटेका छन्? गम्भीर हुन जरुरी छ।

‘सरकार असहिष्णु?’

कहिलेकाही सुन्छु, सरकार कति असहिष्णु? सरकार असहिष्णु छैन र हुन पनि सक्दैन्। म पनि बेलाबखत भन्ने गर्छु, तपाईहरु कति असहिष्णु? अरुलाई चाहिं असहिष्णु भन्ने अनि मैले राम्रो कुरा गर्ने मुटु छैन भन्दा उत्पात मच्याउने। अलिकति कहिलेकाँही त तपाईँहरु पनि सहिष्णु हुनुहोस् न हौं। (हाँसो...)

तपाईहरुको भन्न हुने, लेख्न हुने, छाप्न हुने, व्यंग चित्र छाप्न हुने, जे पनि लेख्न हुने। अनि, अलिलि त हामीले पनि त भन्न पाउनुपर्छ नि हौं। यसको पनि त संरक्षण गरिदिनुहोस्। सरकार असहिष्णु हुनै सक्दैन । सानोतिनो मूल्य तिरेर यहाँसम्म आइपुगेका होइनौं। सरकारले चाह्यो भने पनि स्वतन्त्रता जान सक्दैन।

अहिलेको सरकार आन्दोलन, बलिदान र संघर्षबाट बनेको हो। सवभन्दा पछिल्लो जनताको विश्वास अहिलेको सरकार हो। त्यसकारण जनताप्रति उत्तरदायी छ। इतिहासलाई सम्मान गर्छ। मैले बारम्बार इतिहासलाई सम्मान गर्ने र जनताप्रति उत्तरदायी हुने हो।

‘जनता निराश भए देश बर्वाद’

जनता निराश भए भने देश बर्बाद हुन्छ। मेरो आग्रह भनेको जनतालाई आशावादी बनाऔं। आत्मविश्वासी बनाउने र मनोबल बढाउने काम गरौं। अहिले स्थीर सरकार छ। पहिले कामै गर्न नपाइने अवस्था थियो। पहिले पनि म प्रधानमन्त्री भएको थिएँ। राम्रो काम गर्दागर्दै राम्रो गरेबापत हट्नुपरेको थियो।

चुनौतीहरुलाई मैले बुझेको छु। तपाईहरुले बुझ्नु भएको छ। अहिले दुई तिहाईको सरकार छ। म प्रधानमन्त्री छु। पार्टीको अध्यक्ष पनि हुँ। फेरि पनि मैले कुनै काम गर्नुअघि तीन पटक तपाईलाई सम्झनुपर्छ। मैले प्रतिपक्षलाई पनि सम्झनु पर्छ। मैले संविधानमा असहमती राख्ने समुह पनि छन् भन्ने सम्झिनु पर्छ।

हामीले ल्याएको गणतन्त्रको टेको निकाल्ने बेला भइसकेको छैन। यसका अनेक पक्षहरु छन्। त्यसमा बिशेष ध्यान राख्नुपर्नेछ।

प्रेस तथा अभिव्यक्ति लगायत स्वतन्त्रता हनन् हुँदैन: प्रम ओली

भर्खर पार्टी एकीकरण भएको छ । त्यसको पनि टेको निकाल्ने बेला भएको छैन। यस्ता थुप्रै चुनौतीहरुको मैले सामना गर्नुपर्नेछ। यस्ता थुप्रै कुराहरुसँग सम्झौता गर्नुपर्छ। ब्यूरोक्रेसी पुरानै छ। दुई वर्ष अगाडि पार्टी सरकारमा आयो तर, अरु सवै यथायत नै छ। हाम्रो समाजको सत्य सम्झौताबाट अगाडि बढेको छ। २००७ सालमा राणा ढालियो, तर फेरि राणाकै नेतृत्वमा सरकार बन्यो। भागेको राजा ल्याइयो, सम्झौताको बातावरण बन्यो। २०४६ र ०६२/०६३ मा पनि सम्झौताबाटै अगाडि बढ्यौं।

दरबार हत्याकाण्डबाटै राजतन्त्र सकिएको थियो, तर जनताको स्ट्रेन्थ नपुग्दा खोजेर राजा बनाइएको थियो। पछि पुनस्र्थापित संसदले राजतन्त्रको अन्त्य गर्नुपरेको छ। हाम्रो समाजको चरित्र नै सम्झौतामा आधारित भएर उभिएको छ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरु निर्माण गर्नु चुनौतीपूर्ण थियो। पहिले बनिसक्नुपर्ने कानूनहरु बन्न सकेको थिएन। तपाईँहरुले भनेजस्तै ब्यापक छलफल गरेर कानून बनाउन भ्याइएको छैन। कानून निर्माण सँगै, विकास निर्माणका काम पनि गर्नुपर्ने थियो।

‘काठमाडौं पुरानै छैन’

विकास निर्माणका काम पनि हामीले तत्काल लोकप्रिय हुने भन्दा दीर्घकालीन सोंचका साथ अघि बढेका छौं। हामी टनेल युगमा प्रवेश गरेका छौं। एउटा उद्घाटन भयो अन्य ६ वटाको चाँडै सुरुवात हुँदैछ। हामीले रेल र पानीजहाजको बिषयमा समेत काम गर्नुपर्ने छ।

विमानस्थलहरु छिटो बनाउन जोड दिएका छौं। दिन र रात विमान उडाउने काम गर्ने योजना छ। बालबालिकालाई स्कूल जाने अवस्था बनाएको छौं। अवको दुई वर्षमै विजुली सवै ठाउँमा पुग्छ। काठमाडौंका शहर विकसित देशको जस्तो छैन, तर पहिलेको जस्तो छैन। केही भिन्नता त आएकै छ।

‘भष्टाचार होइन, कार्बाही बढेको’

ललिता निवास मेरो पालामा उठेको होइन, तर म यसको छानबिन गराउँदैछु। प्रश्न उठ्छ, ३३ किलो सुन। सुन त भागिसक्यो। तर, सुन तस्करी हुने रहेँछ भन्ने थाहा भयो। छानबिन भइरहेको छ, धेरै जेलमा छन्। अख्तियारकै आयुक्तमाथि कार्बाही भएको छ। विभिन्न ठूला अहोदामा रहेकाहरुमाथि कार्बाही भएका छन्।

जुनसुकै अपराध र मानिस कार्बाहीमा परेका छन्। भ्रष्टाचार बढेको होइन, कार्बाही गर्दा थाहा भएको हो। दरबारमार्ग अगाडिको जग्गा दिनु हुन्थ्यो, हुँदैनथ्यो। पहिले नै दिइएको रहेँछ। त्यसमा विधि र प्रक्रिया पु¥याएरै दिइएको छ। मलाई विश्वास छ, मेरो सरकारले बदमासी गर्दैन। किनभने, मलाई बदमासी गर्नु छैन।

अस्तिको (नेकपाको केन्द्रीय कमिटी बैठक) बैठकमा पनि निर्वाचन प्रणाली महँगो भयो, यसले भ्रष्टाचार बढाउँछ भन्ने कुरा उठ्यो। तर, कुनै हालतमा भ्रष्टाचार चाहिँ हुनु हुँदैन।

‘म भाग्यमानी रहेँछु’

म पनि जग्गा खोज्दै हिंडेको थिए। हेर्नुहोस्, जग्गा किन्दा हेर्ने धनीपूर्जा हो, मालमा गएर पास गर्ने हो। धन्न म बचेछु, बालकोटमा गएर किनेछु।

यो प्रकरण आएपछि मैले साथीहरुलाई सोधे– कतै त्यो पनि यस्तै त होइन? होइन रहेँछ। त्यो (महासचिव बिष्णुप्रसाद पौडेलले खरीद गरेको बालुवाटार जग्गा तर्फ इंगित गर्दै) भवितव्यले परेको हो।

अहिले मैले सार्वजनिक जग्गा फिर्ता ल्याउँदैछु। ललिता निवासको जग्गा चाँडै सरकारको नाममा जान्छ। प्रहरी र प्रशासनमा दबावमा काम नगर्न निर्देशन दिएको छु।

‘एमसीसी पारित हुन्छ’

एमसीसीबारे हामीले सम्झौतामा आधारित भएर काम गर्ने हो। सम्झौताअनुसार, पाँच वर्षभित्र काम सकिनुपर्छ। सकिएन भने जति बाँकी रहन्छ, छोडेर जाने भएकाले हतारहतार काम गर्नुपर्छ। भारत किन चाहियो भने सुनौली–गोरखपुर ट्रान्समिटरबारे सम्झौता भइसकेकाले हो। सन् २०१७ मा भएको सम्झौता अनुचित छैन।

पहिले पनि मैले ठीक भनेको छु। एमसीसी अनुमोदन हुन्छ। सैन्य क्षेत्रमा खर्च गर्न पाइदैन। हामीले बाटो र ट्रान्समिसन लाइनबारे पनि निर्धारित भइसकेको छ। यसै अधिवेशनबाट छिट्टै पारित हुन्छ।

हाम्रो साथीहरुमा कञ्फ्युजन देखियो। त्यसको अध्ययन गर्न कार्यदल बनाइएको छ। तीन दिन भइसक्यो, अब सात दिनभित्र सवै प्रष्ट हुन्छ। त्यसैले यो ठूलो विषय होइन।

‘हाम्रो भर्खर लभ परेको जस्तो होइन’

साथीहरु चार/पाँच जना त्यहाँ भैसेंपाटीमा भेला हुनुभएछ। अनि नेपालको राजनीति नै त्यही हो जस्तो गरेर भैसैंपाटी बैठक, भैंसैपाटी बैठक, भैसैंपाटी बैठक। भैसेपाटी बैठक हुन्छ, खुमलटार बैठक हुन्छ, कोटेश्वर बैठक हुन्छ, यहाँ (बालुवाटार) बैठक हुन्छ, सिंहदरबारमा बैठक हुन्छ। बैठक त हुन्छ नि। यसबारे भ्रम नरहोस्। त्यस्तो केही पनि छैन।

हाम्रो सम्बन्ध (पुष्पकमल दाहालसँग) भर्खर लभ परेको केटाकेटी जस्तो होइन। कसैसँग देख्यो कि हँ गर्ने। हाम्रो सम्बन्ध धेरै वर्ष लामो छ। गठबन्धन गर्दा नै पार्टी एकीकरण गर्ने भनेर, पार्टी एकीकरण गरेर आएका हौं। यो एकीकरण कसो गर्दा बलियो हुन्छ, थाहाँ छ। कसो गर्दा कमजोर हुन्छ, थाहाँ छ। बलियो बनाइन्छ, कमजोर हुन दिइदैन।

‘किड्नी ट्रान्सप्लान्ट तीन वर्ष काम गर्न’

किड्नी ट्रान्सप्लान्ट गर्दैछु छिटै। अलिअलि समस्या छ, किन समस्या राख्ने। एउटा किड्नी राख्छु। बेस्सरी काम गर्न सजिलो होस् भनेर किड्नी राख्छु। तीन वर्ष काम गर्छु।

हाम्रो पार्टीमा समस्या छैन। अस्ति प्रचण्डलाई आलोपालो गरौं भन्याथेँ। तर, उहाँले आलोपालो भन्ने हटाएर बाँकी अवधि निरन्तर लाने भनेर हामीले निर्णय गरेका छौं। पार्टीभित्र उहाँले नै स्थीर रुपमा लैजाने, यतातिर...।

केन्द्रीय कमिटी बैठक देख्नुभएकै छ। एकजुट भएर अगाडि बढेका छौं।

तपाईहरुलाई थाहा छ, हामी सवै ५० वर्ष राजनीतिमा अभ्यस्त भएका छौं। यहाँ कसैले कसैलाई भन्ने अवस्था छैन। म भन्दाअघि प्रधानमन्त्री भइसकेका र म भन्दा अगाडि पार्टी प्रमुख भएकाहरु हुनुहुन्छ। मैले आदेश दिन मिल्दैन। मैले बिचार गरेर काम गर्नुपर्ने हुन्छ। अलिअलि समस्या हुन्छ त। यहाँ कोही सम्पादक र सह–सम्पादक छैनौं। हामी सबै सम्पादक छौं।

एमाले र माओवादी कहाँ–कहाँ थियो। वल्लो डाडाँ र पल्लो डाडाँ तोप हानाहान गथ्र्यौ। मैले त, झन साह्रो तोपका गोलाका गोला ठोक्थेँ। तर, हामी यो ठाउँमा आइपुगेका छौं। यो वाइचान्स भएको त होइन। सचेत प्रयासबाट भएको हो।

‘बलिङ आएकाले ब्याटिङ’

साथीहरुसँग, म सहकार्यको अपेक्षा गर्छु। मेरो कुरा मन पर्दैन भने मलाई गाली गरे हुन्छ। तर, देशको अहित हुने खालको, देश अन्योल पर्ने खालको र जनताको अहित हुने खालको नहोस्। शान्ति र युनिटीको बलमा अगाडि बढ्नुपर्नेछ।

कहिलेकाँही, हामीले पनि त जवाफ दिनु पर्छ नि त। तपाईहरुले बलिङ गरेपछि हामीले ब्याटिङ गर्नुपर्छ नि। तपाइँहरु बलिङ गरेको गरै गर्ने..।

मैले बोलेको कुराले अप्ठ्यारो परेको भएँ, क्षमाप्रार्थी छु।

 

प्रतिकृया दिनुहोस