मेसीजस्तै ‘स्टार’ फाटी
स्पेनिस ला लिगाका चर्चित क्लब हुन्, बार्सिलोना र रियल मड्रिड । यो सिजनको २२ खेल सकिदा बार्सिलोना मड्रिडसँग तीन खेलले पछाडि परेको छ ।
शनिबार बार्सिलोनालाई रियलले ६ अंकले पछाडि छोडेको थियो । तर, आइतबार राति लेभान्टेसँग जित निकाल्दै बार्सिलोनाले तीन अंक थप्यो । लेभान्टे विरुद्ध जित निकाल्दा दुवै गोल आन्सु फाटीले गरे । २–१ ले बार्सिलोना विजयी हुँदा फाटीले ३०औं र ३१औं मिनेटमा गोल गरे ।
निर्धारित ९० मिनेट पछाडि थपिएको अतिरिक्त समयमा लेभान्टेले एक मात्र गोल फर्काए पछि फाटीकै गोल जितका लागि निर्णायक बन्यो । यही खेलबाट फाटीले कीर्तिमान पनि बनाए । विश्व फुटबलका स्टार खेलाडीको परीक्षण भइरहने ला लिगामा कम उमेरमा दुई गोल गर्ने कीर्तिमान उनले बनाए ।
१७ वर्षीय किशोर फाटीले विश्वका चर्चित स्ट्राइकर लियोनल मेसी, एन्टिनियो ग्रिजम्यान सँग खेल्दै गोल गरेका थिए । उरुग्वेका चर्चित स्ट्राइकर लुइस स्वारेजको ठाउँमा मैदान छिरेर फाटीले गोल गर्दा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले ‘नयाँ स्टारको संकेत’का रुपमा लेखेका छन् ।
हुन पनि डेम्बेले र स्वारेज जस्ता हस्तीको ठाउँमा मैदान छिर्नु फाटीलाई पक्कै सजिलो छैन । लेभान्टे विरुद्ध जित दर्ता गर्दै ला लिगामा नयाँ कीर्तिमान बनाए पछि फाटीले यसो विषय लुकाएनन् । उनले बार्सिलोनाका लागि ठाउँ बनाइरहन सामान्य मेहनतले नपुग्ने बताएका छन् ।
उनलाई नयाँ स्टारको संकेतका रुपमा व्याख्या गर्नुका पछाडि भने एकपछि अर्को कीर्तिमान बनाउनु नै हो । बार्सिलोनाबाट कम उमेर र ला लिगामा तेस्रो कम उमेरका खेलाडीका रुपमा गोल गरिसकेका छन्, फाटीले ।
फुटबल खेलाडी परिवारमै सन् २००२ मा जन्मिएका फाटीले गत डिसेम्बरमा मात्रै च्याम्पियन्स लिगमा सवैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाइसकेका छन् । उनले इन्टरमिलान विरुद्ध गोल गर्दै यो कीर्तिमान बनाएका थिए ।
६ वर्षकै उमेरबाट खेल्न थालेका फाटी गत २४ डिसेम्बर २०१९ बाट पाँच वर्षका लागि बार्सिलोनामा आवद्ध भएका हुन् ।
ला लिगामा डेब्यू गरेको छोटो अवधिमै चर्चामा आइसकेका फाटीले मेसी जस्ता जादुगरसँग खेल्ने अवसर मात्रै होइन, उनीजस्तै बन्न सक्ने संभावनाबारे समेत आँकलन हुन थालेको छ । जबकी मेसीले बार्सिलोनाको जुनियर टीमबाट खेल्न थालेको एक वर्ष पछाडि मात्रै फाटी जन्मिएका हुन् ।