रिपोर्ट मंगलबार, माघ २१, २०७६

सिम्रौनगढमा नयाँ खोज

हिमालखबर

सिम्रौनगढमा नयाँ खोज
सिम्रौनगढ क्षेत्रमा इलेक्ट्रोम्याग्नेटिक सर्भे गरिंदै ।

अहिलेको बाराको सिम्रौनगढ नगरपालिकामा इस्वी संवत्को ११औंदेखि १४औं शताब्दीसम्म तिरहुत राज्यको राजधानी थियो । कर्नाटवंशी राजा नान्यदेवले संवत् १०९७ मा यो राज्यको स्थापना गरेका थिए ।

१३३४ मा दिल्लीका तुगलक वंशका शासक गयासुद्दीन तुलगकको आक्रमणमा राजा हरिसिंह देव परास्त भएसँगै तिरहुत राज्यको अन्त्य भयो ।

यिनै तिरहुत शासकको पालामा पशुपतिनाथ मन्दिरका २१ वटै कोष (ढुकुटी) फोरेर सबै सम्पत्ति कुम्ल्याए । र, उता आफ्नो राज्यमा हिन्दू धर्म, कला र संस्कृतिको संरक्षण एवं जगेर्ना गरे ।

त्यसैले पनि भनिन्छ, सिम्रौनगढका जुनसुकै ढिस्को खनिए पनि आजसम्म पुराना, कलात्मक, प्रस्तरका कलाकृतिहरू भेटिन्छ, जसको ठूलो पुरातात्विक मूल्य र महत्व छ ।

कला, वास्तुकला र संस्कृतिले भरिपूर्ण सिम्रौनगढको यही मौलिक अस्तित्व र वैभवता बचाइराख्न, संभावित पुरातात्विक महत्वका स्थलहरूको पहिचान, संरक्षण एवं जगेर्ना गर्न गएको ४ माघदेखि एक सातासम्म सिम्रौनगढ नगरपालिकामा पुरातात्विक खोज गरियो ।

पुरातत्व विभाग र नगरपालिकाको सहकार्यमा गरिएको खोजमा पुरातत्व अधिकृत सुशील गौतम, विज्ञ पुरातत्वविद् देवेन्द्रनाथ तिवारी र बेलायतको डर्हम विश्वविद्यालयका पुरातत्वविद्द्वय रिचार्ड विलिस र एलिस नेलोरसहितको टोली सहभागी थियो ।

तिरहुतकालीन कलात्मक थाम ।

 

टोलीले सिम्रौनगढसँगै रौतहटको मौलापुर नगरपालिका, पतौरास्थित पुरातात्विक स्थलको पनि इलेक्ट्रोम्याग्नेटिक विधिबाट अध्ययन गरेको थियो । पतौराको अन्वेषणबाट कर्नाटकालीन भूतनाथ महादेव मन्दिरको प्राचीन भग्नावशेष फेला परेको छ ।

पतौराको पुरातात्विक अध्ययनमा हालै मात्र दिवंगत पुरातत्वविद्  तारानन्द मिश्रको योगदान पनि विशेष मानिन्छ ।

यसअघि सन् १९९१ मा पनि पुरातत्व विभाग र इटालियन मिसन (आईएसएम्ईओ) को टोलीले यस मध्यकालीन शहरको पुरातात्विक अध्ययन गरेको थियो ।

त्यसक्रममा गरिएको उत्खनन्बाट झ्ण्डै तीन हजार जति माटाका भाँडावर्तन, वनस्पतिका अवशेष, जारहरू, ग्रेवयेर, तामा निर्मित गज (हात्ती) फेला परेका थिए ।

पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका पुत्र जीतजङ्गको पालाको रानीवास मन्दिर यहाँको अर्को महत्वपूर्ण सम्पदा हो । सिम्रौनगढबाट प्राप्त कतिपय सेनकालीन कलाका नमूना हाल राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित एवं प्रदर्शित छन् ।

हजार वर्षअघिको प्राचीन तिरहुत राज्यको राजधानी सिम्रौनगढको पुरातात्विक सम्पदा संरक्षणमा स्थानीय सरकारको चासो प्रशंसनीय छ।

जनसंख्या बढ्दै जाँदा सिम्रौनगढका पुरातात्विक क्षेत्रमा अतिक्रमण पनि बढ्दो छ । तर, अहिले पनि कृषिका लागि जमीन खनजोत गर्दा, घरघडेरी सम्याउँदा वा निर्माणका क्रममा वेलावेला दुर्लभ कलाकृति, वस्तु फेला पर्ने गरेका छन् ।

यसको अर्थ यहाँको सिम्रौनगढका गर्भमा अझै थुप्रै रहस्य लुकेका छन् । कतिपय किल्लायुक्त पर्खालका ढिस्का त अहिले पनि देखिन्छन्, जसको संरक्षण अत्यावश्यक देखिन्छ ।

झ्ण्डै हजार वर्ष पुरानो सभ्यता र संस्कृतिको केन्द्र सिम्रौनगढका संभावित पुरातात्विक स्थलको पहिचान गरी योजनाबद्ध संरक्षण, सम्वद्र्धनका लागि स्थानीय तहको पनि विशेष भूमिका रहन्छ ।

यसका लागि नगरप्रमुख विजयशंकर यादवले देखाएको चासो प्रशंसनीय छ । यसो गर्न सके सम्पदारूपी सम्पत्तिको जगेर्ना मात्र होइन, पर्यटन मार्फत रोजगारीका अवसर समेत खुल्ने जानकारहरू बताउँछन् ।

 

प्रतिकृया दिनुहोस