रिपोर्ट आइतबार, माघ १९, २०७६

के कोरोनासँग जुध्न नेपाल तयार छ ?

रामु सापकोटा

के कोरोनासँग जुध्न नेपाल तयार छ ?
स्राेत विश्व स्वास्थ्य स‌ंगठन

चीनको वुहान शहरबाट प्रकोपका रूपमा फैलिएको नोभल कोरोना भाइरसबाट नेपालमा पहिलो पटक एक जना संक्रमित भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको १० माघमा गर्‍यो । वुहान शहरबाट २४ पुसमा नेपाल फर्केका ३२ वर्षीय व्यक्तिमा भाइरसको संक्रमण देखिएको थियो । उनी काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

अस्पतालको ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बाँस्तोला संक्रमित युवालाई एन्टीबायोटिक सहितका औषधि चलाएर भाइरसमुक्त बनाइएको बताउँछन् । डिस्चार्ज भए पनि उनलाई अस्पतालले निगरानीमै राखेको छ ।

भाइरसको संक्रमण भएको आशंकामा पछिल्लो समय अन्य पाँच जनाले स्वास्थ्य परीक्षण गराइसकेका छन् । तर, प्रयोगशाला परीक्षण गर्दा संक्रमण देखिएन । कोरोनाको लक्षण मानिएको रुघाखोकी, उच्च ज्वरोको समस्या देखिनासाथै भाइरसको संक्रमण भएको त्रास र आशंका सर्वसाधारणमा बढ्न थालेको छ । डा.बाँस्तोला भने संक्रमण हुन नदिन सावधानी अपनाउनुपर्ने तर आत्तिइहाल्नु नपर्ने बताउँछन् । “अन्य रोग नभएका र युवा उमेरसमूहका व्यक्तिहरू कोरोना भाइरसबाट संक्रमित भइहाले पनि चिन्तित हुनुपर्दैन”, उनी भन्छन् ।

भाइरस देखिएको पहिलो ठाउँ वुहान शहर भएकाले त्यहाँबाट फर्केकाहरूमा रुघाखोकी र ज्वरोको समस्या देखिए संक्रमण भएको हुनसक्ने सम्भावना बढी हुन्छ । वुहानबाहेक बेइजिङ, साङ्हाई लगायतका ठाउँबाट फर्केका नेपाली र विदेशीहरू लक्षण देखिएर शुक्रराज अस्पतालमा उपचार गर्न पुगे पनि उनीहरूमा यो भाइरसको संक्रमण नभेटिएको अस्पतालको दाबी छ ।

जनस्वास्थ्य विषयका अनुसन्धानकर्ता डा.समीरमणि दीक्षित अहिले भाइरलजन्य रोग फैलिने मौसम भएकाले रुघाखोकी र ज्वरो देखिंदैमा कोरोना भाइरसको संक्रमण भएको ठान्न नहुने बताउँछन् । उनी आतंकित नहुन र सतर्कता अपनाउन सुझाउँछन् ।

विश्वव्यापी बाछिटा

स्राेत विश्व स्वास्थ्य स‌ंगठन

कोरोना भाइरसको संक्रमण पहिलो पटक चीनको हुपेई प्रान्तको वुहान शहरमा ३१ डिसेम्बर (१५ पुस) मा पहिचान गरिएको थियो । शुरूआती दिनमा खासै वास्ता नगरिएको यो भाइरसको संक्रमण १७ माघसम्म थाइल्याण्ड, मलेशिया, जर्मनी, फ्रान्स, अमेरिका, जापानसहित २६ मुलुकमा फैलिइसकेको छ (हे.इन्फो) । चीनबाट अन्य मुलुक पुगेकाहरूमा भाइरसको संक्रमण देखिएको हो । १९ माघसम्ममा चीनमा यो भाइरसबाट संक्रमितको संख्या १४ हजार ६४२ पुगेको छ भने ३०५ जनाको मृत्यु भइसकेको छ ।

भाइरसको संक्रमण बढी देखिएको हुपेई प्रान्तमा मात्रै संक्रमितको संख्या ४ हजार ९०० भन्दा बढी छ । त्यहाँ संक्रमितको संख्या दैनिक २५ देखि ३० प्रतिशतले बढिरहेको छ । यस्तै, चीनका अन्य प्रान्तका शहरहरूमा पनि कोरोना भाइरस संक्रमित बिरामीहरू भेटिएका छन् । कोरोना विरुद्ध लड्न करीब तीन अर्ब अमेरिकी डलर छुट्याएको चीन सरकारले संक्रमितको उपचारका लागि दुई हजार कामदार परिचालन गरेर १० दिनभित्रै एक हजार शय्या क्षमताको अस्पताल निर्माण गरिसकेको छ ।

Made with Visme Infographic Maker

 

भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले १७ माघमा ‘विश्व स्वास्थ्य आपत्काल’ घोषणा गरेको छ । संक्रमणको फैलावटका हिसाबले डब्लूएचओले चीनलाई ‘उच्च जोखिम’ क्षेत्रमा राखेको छ । भाइरसको भयावह विस्तार भइरहँदा संक्रमण शुरूआत भएको वुहान शहरमा रहेका नेपालीले उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । (हे. बक्स) 

चिकित्सकहरूले चीनमा कोरोना भाइरसको संक्रमण कति समयसम्म जारी रहन्छ भन्ने अनुमान गर्न सकिने अवस्था नरहेको बताएका छन् । १७ माघमा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओको स्वास्थ्य आपत्काल कार्यक्रमका कार्यकारी निर्देशक डा.माइकल रायनले भने, “भाइरसको संक्रमण उच्च विन्दुमा पुगेपछि मात्र थाहा हुनेछ, अहिले केही भन्न सकिंदैन ।”

कोरोनाको प्रकोपले विश्व अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे आकलन गर्न थालिएको छ । खासगरी विश्वकै ठूलो उत्पादन क्षमता भएको र विश्व बजारमा प्रभुत्व जमाइरहेको चीनलाई बढी धक्का लाग्ने विश्लेषकहरूको आकलन छ । भाइरस संक्रमणको अहिलेसम्मको विस्तार हेर्दा चीनको अर्थतन्त्रमा ६० अर्ब अमेरिकी डलरसम्मको नोक्सानी हुने अनुमान गरिएको छ ।

संक्रमण थप फैलिए क्षति पनि असीमित हुने प्रष्टै छ । यसअघि सन् २००२ मा चीनबाटै फैलिएको सार्स रोगको प्रकोपका कारण २००४ सम्ममा विश्व अर्थतन्त्रमा ४० अर्ब अमेरिकी डलर नोक्सानी परेको थियो । चीन अहिले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएकाले पनि त्यहाँ पर्ने आर्थिक असर विश्वभर फैलिने अर्थविद्हरू बताउँछन् ।

नेपालमा असर

छिमेकी देशमा देखिएको समस्याले नेपाललाई पनि धेरै पक्षमा असर पार्ने विश्लेषण हुन थालेको छ । चीन र नेपालबीच सर्वसाधारणको बाक्लो आवतजावत हुने भएकाले भाइरसको संक्रमण भित्रिने जोखिम त छँदैछ, यस बाहेक पर्यटन र आयातमा पनि असर पार्ने अर्थशास्त्रीहरू बताउँछन् ।

अर्थशास्त्री शिवराज अधिकारी कोरोनाको संक्रमणपछि चीन सरकारले आवतजावतमा कडाइ गरेका कारण मुलुकको पर्यटन क्षेत्रमा तत्कालै असर पर्ने बताउँछन् । पछिल्ला वर्षहरूमा नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दै गएको वेला ‘नेपाल भ्रमण वर्ष २०२०को शुरूआतमै कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पनि असर पर्ने देखिएको छ ।

१४ माघमा प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा फैलिएको कोरोना भाइरसको नाम नलिइकनै ‘भ्रमण वर्षको शुरूआतमै धक्का लाग्ने संकेत देखा परेको’ बताए । “धक्कालाई सावधानीपूर्वक सामना गर्नुपर्नेछ, सरकार त्यसको तयारीमा लागेको छ”, उनले भने । नेपालमा वार्षिक भित्रिने करीब १२ लाख पर्यटकमध्ये चिनियाँ पर्यटकको हिस्सा करीब १४ प्रतिशत छ ।

विभिन्न रिपोर्टका अनुसार, चिनियाँ नयाँ वर्षको बिदा (२५ जनवरी–१ फेब्रुअरी) मा करीब ७० लाख चिनियाँले विदेश भ्रमण गर्ने योजना बनाएका थिए, जसलाई कोरोनाको संक्रमणले बिथोल्यो । सन् २०१९ को तुलनामा चिनियाँहरूले विदेश भ्रमण गर्ने दर सन् २०२० को शुरूआतमै ४० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरस फैलिएर प्रकोपको रुप लिएपछि चीन सरकारले वुहान शहरको यातायात बन्द गरेका कारण खाली
भएको सडक । तस्वीर सौजन्यः आसिस पौडेल

नेपाल र चीन जोड्ने प्रमुख दुई व्यापारिक नाका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी बाहेक ताप्लेजुङको रिवु–ओलाङचुङगोला, संखुवासभाको चेन्ताङ–किमाथांका, हुम्लाको पुलान–यारी, मुस्ताङको लिजी–नेचुङ नाकाबाट पनि आवागमन हुन्छ ।

यसैबीच, चीन सरकारले रसुवा–केरुङ नाका १५ माघदेखि १५ दिनका लागि बन्द गरेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार, कोरोना भाइरसको संक्रमण, तिब्बतमा परेको ल्होसार चाड र केरुङ जाने बाटो मर्मत भइरहेकाले चिनियाँ पक्षले नाका बन्द गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन विभागका अनुसार, कतारको दोहापछि सबैभन्दा धेरै यात्रु चीन हुँदै नेपाल आउने गरेका छन् । चीनका क्वाङ्चौ, कुन्मिङ, सिचुआन, छन्तु, ल्हासा लगायत ठाउँबाट दैनिक पाँच एयरलाइन्स कम्पनीका ६ वटा जहाजले नेपालमा उडान गर्छन् । (हे.इन्फो) विमानस्थल सञ्चालन विभागका निर्देशक समेत रहेका प्रवक्ता देवचन्द्र लाल कर्ण चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि यात्रुहरूमाथि निगरानी बढाएको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले ८ माघदेखि विमानस्थलमा शरीरको तापक्रम नाप्ने थर्मल स्क्यानर र हेल्थ डेस्क राखेर विदेशबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । यस्तै, सरकारले रसुवागढी र तातोपानी नाकामा चीनबाट आउने व्यक्तिहरूको स्वास्थ्य जाँच्न हेल्थ डेस्क राखेको छ ।

विमानस्थलले चीनबाट आएका कोरोना भाइरसका शंकास्पद बिरामी रहेको जहाजलाई ‘आइसोलेसन पार्क’ मा राख्ने व्यवस्था मिलाएको छ । प्रवक्ता कर्ण कोरोना भाइरसले प्रकोपको रूप लिए नागरिक उड्डयन प्राधिकरणले उडानबारे रणनीति लिने बताउँछन् । यसैबीच, चीनका विभिन्न शहरमा काठमाडौंबाट उडान गर्दै आएको नेपाली निजी विमान कम्पनी हिमालय एअरलाइन्सले १६ माघदेखि अनिश्चितकालका लागि उडान रद्द गरिसकेको छ । यसअघि अमेरिका, बेलायत लगायतका केही मुलुकले चीनका विभिन्न शहरहरूमा गर्दै आएको उडान रद्द गरिसकेका छन् ।

कोरोनाको बाछिटाले विश्व अर्थतन्त्रलाई सताउने चिन्ता जति छ, नेपालका लागि भने यस्तो संक्रमण सधैं परीक्षा बनिरहेको छ । किनकि, कोरोना भाइरस जस्ता नयाँ संक्रामक रोगको सामना गर्ने जनस्वास्थ्यको बलियो प्रणाली बन्न सकेको छैन ।

सधैं जोखिम

संक्रामक रोगले छोटो समयमै तीव्र गतिमा फैलिएर जनधनको अकल्पनीय क्षति गर्ने भएकाले निगरानी र औषधोपचार सम्बन्धी पूर्वतयारी र निगरानीको संयन्त्र आवश्यक हुन्छ । तर, समस्या नदेखिंदासम्म नतात्ने सरकारी प्रवृत्तिका कारण कोरोना जस्ता संक्रामक रोगले जुनसुकै वेला महामारीको रूप लिएर अकल्पनीय क्षति निम्त्याउने जोखिम बढाएको छ । त्यसको उदाहरण हो, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ।

कोरोनाको प्रकोप बढेपछि मात्रै सरकारले १३ माघदेखि प्रयोगशालामा रहेको कोरोना भाइरस जाँच्ने उपकरण सञ्चालनमा ल्याएको थियो । त्यसअघि प्रयोगशालाको उपकरण सञ्चालन नगरी थन्क्याइँदा चीनबाट फर्किएका एक व्यक्तिमा कोरोनाको संक्रमण रहेको शंका लागेपछि नमूना परीक्षणका लागि हङकङ पठाउनुपरेको थियो ।

महामारीजन्य रोगका लागि जुनसुकै बखत स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राख्न नेपाल विगतदेखि नै चुक्दै आएको छ । सन् २०१४ मा पश्चिम अफ्रिकाबाट संक्रामक रोग इबोला फैलिंदा पनि मुलुकमा त्यससम्बन्धी नमूना जाँच्ने प्रयोगशाला थिएन । सन् २०१७ मा कंगोबाट फर्केका एक व्यक्तिमा ज्वरोको लक्षण देखिएपछि इबोलाको आंशकामा उनको नमूना अमेरिका पठाएर जाँच्नुपरेको थियो ।

यस्तै, एक वर्षअघि पनि ‘एचफाइभ एन वान’ भाइरस भए\नभएको पत्ता लगाउन बिरामीको नमुना विदेश पठाइएको थियो । धेरैजसो भाइरलजन्य रोग नेपालमै पत्ता लगाउन सकिए पनि भाइरसको प्रकार अनुसार संक्रमण भए\नभएको किटान गर्ने परीक्षणका लागि भने विभिन्न देशमा पठाउनुपर्ने बाध्यता छ ।

संक्रामक रोग अति संवेदनशील र जोखिमयुक्त हुने भएकाले यसको नमूना केही निश्चित जहाज मार्फत मात्र पठाइने गरेकाले तत्काल पठाउन नसकिएको सरकारी अधिकारीहरूको अनुभव छ । अर्कातिर, विदेशमा पठाइएका नमूनाको रिपोर्ट आउन पनि समय लाग्छ । त्यसैले भाइरलजन्य र संक्रामक रोग लागे\नलागेको थाहा पाउन स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सहितको पूर्वाधार र जनशक्ति व्यवस्था गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

कोरोना जस्ता भाइरस पत्ता लगाउन ‘रियल टाइम पीसीआर मेसिन’ चाहिन्छ । कोरोनाको ‘जीन’ पत्ता लगाउने पीसीआरसहितको प्रयोगशाला नेपालमा ६ वर्ष अघि नै स्थापना भएको थियो । जनशक्तिको पनि थियो । तर, भाइरस पत्ता लगाउन सघाउने रिएजेन्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग नहुँदा त्यो उपकरण सञ्चालनमा आउन सकेन । पछिल्लो समय प्रयोगशालाले तत्कालको समस्या टार्न अनुसन्धान गर्ने संस्था सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल (सिएमडिएन) बाट करीब एक सय थान रिएजेन्ट किनेको छ । प्रयोगशालाकी निर्देशक डा.रुणा झा थप रिएजेन्ट आवश्यक परे डब्लुएचओसँग सहयोग माग्ने बताउँछिन् ।

प्रयोगशालासँग मौज्दात रिएजेन्ट किन भएन त ? स्वास्थ्य मन्त्रालयले अनुसन्धानका लागि बजेट नदिनु नै यसको कारण भएको झा बताउँछिन् । “सरकारले संक्रामक र भाइरलजन्य रोगको अनुसन्धानलाई प्राथमिकता नदिंदा रोग परीक्षण र उपचारका लागि पूर्वाधार र जनशक्तिबारे निक्र्योल हुन नसकेको हो”, उनी भन्छिन् । उनका अनुसार, मन्त्रालयले प्रयोगशालाका लागि अघिल्लो वर्ष रु.३० करोड बजेट छुट्याएकामा चालु आवमा रु.१९ करोड मात्र दिएको छ ।

स्राेत विश्व स्वास्थ्य स‌ंगठन

देशका कुनै पनि भागमा संक्रामक रोग फैलिए त्यसबारे जाँच्ने काम काठमाडौं टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुन्छ । सरकारले सातै वटा प्रदेशमा रियल टाइम पीसीआर जस्ता उपकरण स्थापना गर्ने भनेर चर्चा गरे पनि अझैसम्म कार्यान्वयन गरेको छैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डे पनि संक्रामक र भाइरलजन्य रोगको अनुसन्धानका लागि बजेट लगायतको स्रोतसाधन नभएकोे गुनासो गर्छन् । देशभित्र नयाँ भाइरसको संक्रमण देखियो भने त्यसको वंशाणुबारे अनुसन्धान गर्नुपर्छ । यस्तै, त्यसले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा पार्ने असर, रोगको वातावरणीय र मौसमसँगको सम्बन्धबारे अनुसन्धान गर्नुपर्छ । तर, अनुसन्धान गर्ने बजेट अभाव भए देशभित्र पहिलो पटक देखिएको कुनै भाइरस पत्ता लगाउन नसकिने र त्यसबाट हुने क्षति काबु बाहिर हुने विज्ञहरू बताउँछन् ।

स्वास्थ्य क्षेत्रको यही पूर्वाधारशून्य अवस्थालाई प्रश्न गर्दै सामाजिक सञ्जाल ट्वीटर र फेसबूकमा ‘चीनमा फैलिएको कोरोना भाइरस नेपालमा फैलिएको भए के हुन्थ्यो होला’ भनेर धेरैले प्रश्न गरेका थिए । जसको जवाफ हो– भयावह र अकल्पनीय ।

शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बाँस्तोला रोगबारे आवश्यक अनुसन्धान नभएकाले संक्रामक र भाइरलजन्य रोगको जोखिम पहिचान हुन नसकेको बताउँछन् । कतिसम्म भने, अनुसन्धानको अभावमा संक्रामक रोगबारे थाहा नभएर अज्ञात रोगका कारण ज्यान गएको भन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । रोगबारे अनुसन्धान गरेपछि कस्ता खालका भ्याक्सिन चाहिन्छ भन्ने थाहा हुन्छ र मुलुकभित्रै बनाउन सकिन्छ ।

अध्ययन–अनुसन्धानको काम नहुँदा रोग विरुद्ध लड्ने पूर्वतयारी अपनाउन सकिंदैन, अन्ततः रोगले महामारीको रूप लिन्छ । गएको १ साउनदेखि १८ कात्तिकसम्म मुलुकका ६८ जिल्लामा करीब १४ हजार ६६२ व्यक्ति प्रभावित भएको डेंगी रोग सार्ने लामखुट्टेको प्रजातिबारे थाहा पाउन अनुसन्धान जरूरी थियो । तर, डेंगी जस्ता कीटजन्य रोगको अनुसन्धानका लागि हेटौंडामा सन् १९९७ देखि सञ्चालित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रलाई स्वास्थ्य मन्त्रालयले निकम्मा बनाएका कारण डेंगीबारे अध्ययन नै हुन सकेन । जसका कारण डेंगीले प्रकोपको रुप लिदा तीन महिनामा ६ जनाको मृत्यु भएको थियो ।

चीनको वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरी राखिएको विमानका पाइलटले सुरक्षाका लागि
लगाएको पहिरन। तस्वीर: सिन्ह्वा

केन्द्रले गर्नुपर्ने अर्काे महत्वपूर्ण काम हो, जनसंख्यामा आधारित मुसामार्फत सर्ने स्क्रब टाइफस रोगको जोखिम र यसको फैलावटबारे अनुसन्धान गर्ने । तर, केन्द्रले अहिलेसम्म यसबारे कुनै पनि अनुसन्धान गर्न सकेको छैन । कीराले सार्ने रोगबारे अनुसन्धान हुन नसक्नुको प्रमुख कारण उक्त केन्द्रमा दक्ष प्राविधिक जनशक्ति नहुनु हो । केन्द्रमा एक जना पनि कीटजन्य रोग विशेषज्ञ र भाइरस रोग विज्ञको दरबन्दी छैन ।

विडम्बना कस्तो छ भने, राजनीतिक नियुक्तिको शिकार हुँदा कीट विज्ञ खटाउनुपर्ने केन्द्रमा आयुर्वेद विषय पढेका व्यक्तिलाई प्रमुखको जिम्मेवारी दिइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्व निर्देशक डा.बाबुराम मरासिनी भन्छन्, “कीटजन्य रोग अनुसन्धान गर्ने केन्द्र स्वास्थ्यका हाकिमहरूलाई भागबन्डा लगाएर पदपूर्ति गर्ने थलो बनेको छ ।”

वैज्ञानिक आधारमा कार्ययोजना नबनाएका कारण रोगबारे अनुसन्धान र पूर्वतयारीको काम गर्ने महाशाखाले सीमित जनशक्ति र बजेटबाट काम गर्नुपर्ने बाध्यता छ । जसका कारण थोरै कर्मचारीले धेरैको रोग अवस्थाबारे जान्नुपर्दा रोग नियन्त्रणको काम प्रभावकारी भइरहेको छैन । महाशाखाका निर्देशक डा.विवेककुमार लाल संक्रामक रोग नियन्त्रणका लागि केन्द्रीयस्तरको रोग नियन्त्रण केन्द्र बनाउनुपर्नेमा जोड दिन्छन् । “ईडीसीडीले महामारीजन्य रोगमा मात्र काम गरिरहेको छ, यसको दायरा फराकिलो बनाउन र नयाँ रोग विरुद्ध लड्न पनि त्यस्तो केन्द्र आवश्यक छ”, उनी भन्छन् ।

सरुवा तथा संक्रामक रोगको उपचार गर्ने सुविधा अन्यत्र विस्तार नगरिंदा देशभरका सबै बिरामी ४० वर्षअघि बनेको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नुपर्ने बाध्यता छ । अस्पतालका निर्देशक डा.वासुदेव पाण्डे संक्रामक र सरुवा रोगको उपचार सेवा अन्यत्र विस्तारका लागि ढिलाइ गर्न नहुने बताउँछन् । उनका अनुसार, अहिलेसम्म मन्त्रालयले अस्पतालमा संक्रमण नियन्त्रण गर्ने संरचना निर्माणमा ध्यान नदिदा जोखिम मोलेर बिरामीको उपचार गरिरहनु परेको छ । “संक्रमणबाट सुरक्षित रहन बल्ल आइसोलेसन वार्ड बनाउने तयारी भइरहेको छ”, उनी भन्छन् । हालसम्म देशभरिका कुनै पनि अस्पतालमा अन्तर्राष्ट्रिय निर्देशिका अनुसारको आइसोलेसन वार्ड छैन ।

डा.पाण्डेका अनुसार इबोला, बर्डफ्लु लगायतका संक्रामक रोगको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना एकदमै धेरै हुन्छ । श्वासप्रश्वास र शारीरिक सम्पर्कबाट सर्ने यस्ता रोग लागेका बिरामीको उपचार छुट्टै आइसोलेसन वार्डमा राखेर गर्नुपर्छ । ईडीसीडीका पूर्व निर्देशक डा.मरासिनी भन्छन्, “एउटा रोगको उपचार गर्न अस्पताल गएको बिरामी अर्को रोग बोकेर फर्किनुपर्ने विडम्बना छ, यो स्थितिको अन्त्य गर्न संक्रमण नियन्त्रण गर्ने पूर्वाधार अत्यावश्यक छ ।”

हेल्थ डेस्क चलाउन कोरोनाको पर्खाइ !

कोरोना भाइरस संक्रमित भए वा नभएको जाँच्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले
सञ्चालनमा ल्याएको ल्याब परिसर । तस्वीर: बिक्रम राई 

स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने यात्रुबाट कुनै संक्रामक रोग नफैलियोस् भनेर पहिल्यै स्वास्थ्य परीक्षण गर्ने गरी सन् २०१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गर्‍यो । तर, लामो समय यो संयन्त्र झारा टारेर सञ्चालन गरियो । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि मात्रै तापक्रम नाप्ने थर्मल स्क्यानर पूर्ण रूपमा सञ्चालन गरेर यात्रुमाथि निगरानी गर्न थालिएको छ ।

अझै पनि हेल्थ डेस्क नजिकै राखिएको तापक्रम नाप्ने स्क्यानरले दिउँसो बाहिरको तापक्रम बढेका वेला यात्रुको वास्तविकभन्दा बढी तापक्रम देखाउने गरेको छ । यसबारे डेस्कमा रहेका कर्मचारीले १४ माघमा स्वास्थ्य मन्त्रालयलाई गुनासो गरेका थिए । गुनासोपछि त्यहाँ एयर कन्डिसन जडानको तयारी भइरहेको कर्मचारी बताउँछन् ।

विगतमा विमानस्थलको हेल्थ डेस्कमा स्वास्थ्य सम्बन्धी दक्ष कर्मचारी राखिएकोमा मन्त्रालयले उनीहरूलाई हटाएपछि सञ्चालनमा आउन नसकेकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्व निर्देशक डा.बाबुराम मरासिनी बताउँछन् । हाल हेल्थ डेस्क सम्हाल्न चन्द्रागिरि नगरपालिकामा पोस्टिङमा रहेका हेल्थ असिस्टेन्ट काजमा खटिएका छन् भने अन्य तीन जना कर्मचारी पनि खटाइएको छ । तर यसअघिको दुरवस्था हेर्दा हेल्थ डेस्क सञ्चालन दिगो हुनेमा आशंका छ ।

‘सरकारले छिटो उद्धार गरोस्’

पहिलो पटक कोरोना भाइरसको संक्रमण भेटिएको चीनको हुपेई प्रान्तस्थित वुहान शहरमा करीब १०० नेपाली छन् । भाइरसको संक्रमण व्यापक भइरहँदा भयपूर्ण मनस्थितिमा बसिरहेका उनीहरूले नेपाल सरकारसँग उद्धारका लागि आग्रह गरेका छन् ।

वुहान शहरस्थित वुहान विश्वविद्यालयको इञ्जिनियरिङ विभागमा स्नातक तह अध्ययनरत सिन्धुपाल्चोकका आशिष पौडेल भाइरसको प्रकोपका कारण डरैडरमा रहेका नेपालीहरूले स्वदेश फर्कने सरकारी पहल पर्खिरहेको बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोरोना भाइरस जाँच्ने ल्याबका
कन्सल्ट्यान्ट माइक्रोवायोलोजिष्ट डा. महेश अधिकारी ।

भाइरसको प्रकोपले शहरको सार्वजनिक जीवन ठप्प भएको र डेढ सातादेखि विश्वविद्यालयबाट बाहिर निस्किन नपाएको उनको भनाइ छ । “बजार, यातायात र शैक्षिक संस्था पूर्णरूपमा बन्द छन्, त्रासको स्थिति भएकाले सबै नेपालीले स्वदेश फर्किन चाहेका छन्”, उनी भन्छन् ।

कोरोना संक्रमणका बिरामी बढेपछि चीन सरकारले २३ जनवरीदेखि हुपेई प्रान्त बन्द गरेको थियो । बजार ठप्प भएपछि खानेकुरा किन्न नपाएका नेपालीसहितका विद्यार्थीलाई १४ माघदेखि वुहान विश्वविद्यालयले क्यान्टिनमा खाना खुवाउने व्यवस्था मिलाएको छ ।

पौडेलका अनुसार, विश्वविद्यालयमा २० जना नेपाली विद्यार्थी अध्ययनरत छन् भने वुहान शहरमा झण्डै १०० को हाराहारीमा नेपाली छन् । परराष्ट्र मन्त्रालयले भने अध्ययन र रोजगारीका सिलसिलामा हुपेईमा १५० भन्दा बढी नेपाली रहेको अनुमान गरेको छ । आफूहरू उद्धारको पर्खाइमा बसे पनि बेइजिङस्थित नेपाली दूतावासले बनाएको ‘वी–च्याट’ ग्रुप मार्फत नेपाली अधिकारीहरूसँग सम्पर्कमा रहने व्यवस्था मात्र मिलाइएको पौडेल बताउँछन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल भने वुहान लगायतका शहरहरुमा रहेका नेपालीलाई उद्धार तथा आवश्यक सेवाका लागि चीनस्थित कूटनीतिक नियोगहरू तयारी अवस्थामा रहेको बताउँछन् । “चीनमा रहेका कुनै पनि नेपालीलाई समस्या छ भने दूतावास र महावाणिज्य दूतावासलाई सम्पर्क गर्न सक्छन्”, उनी भन्छन् ।

कोरोनाः जोखिम कति ?

सन् २००२ मा चीनमै देखिएको महामारी रोग सार्स र नयाँ नोभल कोरोनाको भाइरसको प्रजाति एउटै रहेको अनुसन्धानले देखाएको छ । कोरोना भाइरस मानिसमा कसरी सर्‍यो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भाइरस मानिसबाट मानिसमा सजिलै सरेको उदाहरणहरू भेटिएका छन् । यो भाइरस जनावरबाट मानिसमा सरेको कुनै आधार नभेटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्क मार्फत विदेशबाट आउने यात्रुको शरीरको
तापक्रम नाप्न सञ्चालनमा ल्याइएको थर्मल स्क्यानर । तस्वीर: बिक्रम राई 

कोरोनाको संक्रमण कसरी हुन्छ भन्नेबारे वैज्ञानिक आधार नभेटिए पनि रुघाखोकी र श्वासप्रश्वासका बिरामीको सम्पर्कमा नरहे, नियमित हात धोए, बाहिर निस्किदा सुरक्षित मास्क लगाए संक्रमणको संभावना कम हुने चिकित्सकहरु बताउँछन् । अहिलेसम्म कोरोना विरुद्धको उपचार र भ्याक्सिन पत्ता नलागेकाले यो रोगले आतंक सिर्जना गरेको हो ।

रुघाखोकी लाग्नु, १००.४ डिग्रीमाथि ज्वरो आउनु, श्वासप्रस्वास तीव्र हुनु लगायत कोरोना भाइरस संक्रमणका लक्षण हुन् । तर, यी लक्षण नदेखिएका व्यक्तिमा पनि कोरोनाको संक्रमण पाइएपछि यसको नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ । यद्यपि सतर्कता अपनाए आत्तिनु नपर्ने चिकित्सकहरू बताउँछन् ।

रोगको संक्रमण फैलिएको अनुपातमा मृत्यु दर कम भएकाले पनि आतंकित हुनु नपर्ने विज्ञहरू बताउँछन् । १९ माघसम्ममा चीनमा मात्रै कोरोनाबाट झण्डै १४ हजार व्यक्ति संक्रमित हुँदा ३०५ जनाको मृत्यु भएको छ । संक्रमित र मृत्यु भएका बिरामीको संख्याका अनुपातमा यो रोगको मृत्युदर २.२ प्रतिशत मात्र रहेको डब्लूएचओको तथ्यांक छ ।

जबकि, सन् २०१५ मा महामारीको रूप लिएको इबोलाको संक्रमित व्यक्तिमा ५० देखि ७० प्रतिशतसम्म मृत्युदर देखिएको थियो । अन्य कुनै रोग नलागेको व्यक्तिमा यो भाइरस समयमा पहिचान गर्न सकिए औषधि उपचार गरेर निको पार्न सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बाँस्तोला बताउँछन् ।

 

प्रतिकृया दिनुहोस