अष्ट्रेलियन ओपन–२०२० को उपाधि जोकोभिच र केनिनलाई
अष्ट्रेलियाको मेलवर्नमा सम्पन्न वर्षकै पहिलो टेनिस ग्राण्डस्लाम टुर्नामेन्ट ‘अष्ट्रेलियन ओपन’ सर्वियाका नोभाक जोकोभिचले जितेका छन् ।
आज भएको पुरुष सिंगल फाइनल खेलमा जोकोभिचले अष्ट्रियाका डोमिनिक थियमलाई ६–४, ४–६, २–६, ६–३ र ६–४ ले हराएका हुन् ।
चार घण्टा लामो प्रतिस्पर्धात्मक खेलमा विजय हात पारेसँगै जोकोभिच विश्व वरियतामा १ नम्बर स्थान ओगट्न सफल भएका छन् । यस अघि १ नं. का स्थानमा रहेका स्पेनका राफेल नाडाललाई क्वाटर फाइनलमा हराएर सनसनी मच्चाएका थियमले पनि विश्व वरियतामा आफूलाई एक स्थान सुधार गरी विश्व नम्वर ४ बनेका छन् ।
योसँगै ग्राण्डस्लाम उपाधि १७ पुर्याएका जोकोभिचले अष्ट्रेलियन ओपनमा ट्रफी र ४१ लाख २० हजार अष्ट्रेलियन डलर नगद राशी हात पारेका छन् ।
त्यस्तै हिजो भएको अष्ट्रेलियन ओपनको महिला सिंगलमा अमेरिकी टेनिस खेलाडी सोफिया केनिनले स्पेनका गार्विन मुगुरुजालाई ४–६, ६–२, ६–२ ले हराएर उपाधि हात पारेका थिए ।