थप समाचार आइतबार, माघ १९, २०७६

विषाक्त खानाले तीन गैँडा मरे

रासस

चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् ।

शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चा समेत थियो । श्रेष्ठका अनुसार, ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ । यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उनले बताए ।

श्रेष्ठले भने, “ती गैँडाका अङ्गको नमूना सुरक्षित राखेका छौँ, कहाँ विषादीको परीक्षण हुन्छ बुझ्ने काम भइरहेको छ ।”

मरेका तीनै गैँडाको अन्य महत्वपूर्ण अङ्गमा कुनै समस्या नदेखिएको उनले बताउनुभयो । सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उहाँले विशाक्त तोरीका कारण मरेका पनि हुनसक्ने अनुमान गरिएको जानकारी दिए ।

शनिबार सेहेरीमा भेटिएको गैँडा भाले हो भने अन्य दुई पोथी गैँडा हुन् । गत कात्तिकदेखि चालु महीनासम्म प्राकृतिक कारणले धेरै गैँडा मर्ने गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । गत साल प्राकृतिक कारणले ४३ गैँडा मरेका थिए । यस वर्ष सात महिना पुग्न लाग्दा १४ गैँडा मरेका छन् ।

तुलनात्मक हिसाबले कम गैँडा मरेका भए पनि निकुञ्जले प्राकृतिक कारणको मृत्यु दर अझ घटाउन गृहकार्यमा रहेको जनाएको छ ।

वन मन्त्रालयले प्राकृतिक कारणले गैँडा मर्नुका कारण पत्ता लगाउन समिति समेत गठन गरेको छ । अघिल्ला वर्षमा पनि वार्षिक २५ हाराहारी गैँडा कालगतिले मरेको तथ्याङ्क छ । हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा थिए ।

प्रतिकृया दिनुहोस