ब्लग आइतबार, माघ १९, २०७६

राजाको भाषणपछि बन्द रेडियो

हिमालखबर

राजाको भाषणपछि बन्द रेडियो

स्थानीय योङ्गस्टार क्लबको पहलमा सोलुखुम्बु सदरमुकाम सल्लेरी नजिकैको दोर्पुबजारमा एफएम रेडियो खोल्न, चलाउन सिकाएर उनीहरूकै जिम्मा लगाएर फर्कने जिम्मेवारीसहित म सोलुखुम्बु पुगेको धेरै भएको थिएन । एक डेनिस संस्थाको सहयोगमा खोलिएको सोलु एफएम जिल्लाकै पहिलो र एकमात्र एफएम थियो ।

-विनय शेखर

त्यो (१९ माघ २०६१) बिहान पनि उस्तै चिसो थियो । बिहान ९ः३० बजेतिर हुनुपर्छ, रेडियो वरिपरि सुरक्षाकर्मी जम्मा भए । सधैं चेकपोष्टमा बस्ने, आज यता किन ? चिसो पस्न थाल्यो । ‘राजाको भाषण बजाउनु अनि रेडियो बन्द गर्नु’ एकजना सुरक्षाकर्मीले एकाएक आदेश दिए ।

कुन भाषण ? कति वेला बजाउने ? किन रेडियो बन्द गर्ने ? सुरक्षाकर्मीलाई सोध्न सम्भव थिएन । अरूसँग कुरा गर्न न फोन थियो न इन्टरनेट । यसै पनि सोलुमा सडक सञ्जाल थिएन ।

फाप्लु विमानस्थलमा ओर्लने व्यापारी, सरकारी कर्मचारीले आक्कलझुक्कल नयाँ खबर ल्याउँथे । नत्र त रेडियोकै भर थियो– रेडियो नेपाल, सोलु एफएम, र बेलाबेला सुनिने माओवादीको एफएम ।

हाम्रो एफएम बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ् ५ देखि १० बजेसम्म दैनिक १२ घण्टा प्रसारण हुन्थ्यो ।

एफएम खुल्नुअघि नै सुरक्षाकर्मीले यस्तो आदेश दिएपछि देशमा के भइरहेको छ भन्ने पनि थाहा हुने कुरा भएन । नभन्दै राजा ज्ञानेन्द्रको सम्बोधनपछि रेडियो बन्द भयो । बल्ल किन यसो भनिएको रहेछ भन्ने थाहा भयो ।

सधैंजसो तनावमा देखिने सेनानी त्यो बिहान विजयी भावमा देखिन्थे। त्यही भावमा उनको आदेश थियो– हामीले खोल नभनेसम्म रेडियो नखोल्ने।

त्यसपछि मलाई ब्यारेक आउनू भन्ने खबर आयो । म रेडियोका तत्कालीन अध्यक्ष बुद्धिनारायण श्रेष्ठलाई लिएर सल्लेरी ब्यारेक पुगें । अरूबेला प्रायः तनावमा देखिने सेनानीले त्यो बिहान खुशी र विजयी मुद्रामा हाम्रो स्वागत गरे । र, कार्यकक्ष लगे ।

त्यसपछि भने उनको अघिपछिको अनुहार देखियो । उनी चर्को स्वरमा आक्रोश पोख्न थाले– “देशमा हजारौं सेना, प्रहरी मरिरहेछन्, उनीहरूको परिवारको बिचल्ली छ, भोकभोकै लडेका छन्, तर न उनीहरूको योगदानको चर्चा छ न मानवअधिकारकै बारेमा कोही बोल्छ । उनीहरू कुकुर मरेजसरी मरिरहेछन् ।

तिमी पत्रकारहरूलाई चाहिं कसैले छिसिक्क छुन नहुने ? आतङ्ककारीहरूको मात्र मानवअधिकार हुने तिमेरका लागि ? उनीहरूको मात्र समाचार ? आज सरकारले जे गरिबक्स्यो, ठीक भयो ।” आफ्नो एकोहोरो भाषणको अन्त्य गर्दै सेनानीले आदेश दिए– ‘हामीले खोल नभनेसम्म रेडियो नखोल्ने ।’

त्यहाँ उपस्थित प्रमुख जिल्ला अधिकारी र डीएसपीले औपचारिकता मात्र देखाए । उनीहरू कुरा गर्न वा सुन्न इच्छुक थिएनन् । किनकि जिल्ला प्रहरी कार्यालय र सिडिओ कार्यालय दुवै ब्यारेकभित्रै थिए । रेडियोका अध्यक्ष सरकारी कर्मचारी थिए । उनले प्रतिवाद गर्ने कुरा भएन । म भनें निरीह ।

जिल्लामा सोलु एफएम लोकप्रिय थियो। रेडियोले स्थानीयको दैनिकी बदलेको थियो। रेडियोमा ‘कायाकैरन’ बज्थ्यो जसले सोलुलाई देश–विदेशका खबरसँग साक्षात्कार गराउँथ्यो। हामी स्थानीय समाचार बनाउँथ्यौं। अचानक रेडियो बन्द हुँदा हामीभन्दा पीडित श्रोता र शुभचिन्तक थिए।

त्यो एक–दुई घण्टा पनि एकदिन जस्तो लाग्न थाल्यो । जिल्लामा सोलु एफएम लोकप्रिय थियो । रेडियोले स्थानीयको दैनिकी बदलेको थियो । रेडियोमा ‘कायाकैरन’ बज्थ्यो जसले सोलुलाई देश–विदेशका खबरसँग साक्षात्कार गराउँथ्यो । हामी स्थानीय समाचार बनाउँथ्यौं । अचानक रेडियो बन्द हुँदा हामीभन्दा पीडित श्रोता र शुभचिन्तक थिए ।

रेडियो बन्द भएको तेस्रो दिन ब्यारेकबाट रेडियो खोल्न सकिने सङ्केत आयो । तर शर्त थियो– गीत मात्र बजाउनु ।

त्यसको अर्को महीना, १६ फागुन बिहान माओवादीले एफएम रहेको दोर्पुबजार घेरा हाले । अघिल्लो रात रेडियो बन्द गरेर सुतेको घर बिहान उठ्दा बाहिरबाट बन्द थियो । बन्दूक भिरेका माओवादीले बाहिर निस्कनै दिएनन् । अघोषित नजरबन्द जस्तै थियो, त्यो क्षण ।

दुई हतियारधारी माओवादीको नियन्त्रणमा रेडियोका कर्मचारीले रेडियो त खोले । तर, गीत बज्दै गर्दा एकैछिनमा रेडियो प्रसारणबाटै बम र गोलीका आवाज सुनिन थाले ।

सल्लेरी ब्यारेकबाट दोर्पुको चेकपोष्ट हिंडेका सुरक्षाकर्मीको समूहलाई नयाँबजार कट्ने बित्तिकै माओवादीले एम्बुसमा पारे । भिडन्त भयो । करीब एकघण्टाको भिडन्तमा ८ जना सुरक्षाकर्मीको ज्यान गयो ।

सेनाका सहसेनानी अपहरण गर्न सफल माओवादी विजयी उन्मादसाथ फर्किए । केही समयपछि एफएम परिसरमा सेनाको हेलिकप्टर उत्रियो ।

प्रतिकृया दिनुहोस