समाचार शनिबार, माघ १८, २०७६

अपहरण गरी नेकपा नेता जोशीमाथि निर्घात कुटपिट, उपचार गर्न काठमाडौं ल्याइयो

रासस

अपहरण गरी नेकपा नेता जोशीमाथि निर्घात कुटपिट, उपचार गर्न काठमाडौं ल्याइयो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ ।

शुक्रबार अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा जोशीलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ ।

आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले बताए ।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा भेट्टिएको बताइएको छ । अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक जोशीले जानकारी दिनुभयो ।

कुटपिटबाट खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ । जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ ।

नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलनलाई यथाशीघ्र खोजी कानूनबमोजिम हदैसम्म कारवाहीको मागसमेत गरेको छ ।
अध्यक्ष जोशीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका जोशीलाई उपचारका लागि धनगढी सिफारिश गरिएको थियो ।

धनगढीमा पनि उपचार सम्भव नभएपछि काठमाडौँ ल्याइएको हो ।

प्रतिकृया दिनुहोस