ईयूमा भारतीय नागरिकता कानूनको विरुद्धमा परेको प्रस्ताव माथिको मतदान स्थगित
यूरोपीय संसद (ईयू) ले बिहीबार गर्ने भनिएको भारतीय नागरिकता कानून विरुद्धमा परेको प्रस्तावमाथिको मतदान स्थगित गरेको छ । अब सो मतदान ३० वा ३१ अप्रिलमा हुनसक्ने बताइएको छ ।
भारतीय प्रधानमन्त्रीको मार्च महीनामा हुने भनिएको ब्रसेल्सको भ्रमणलाई दृष्टिगत गरेर सो मतदान स्थगित गरिएको बताइन्छ ।
ईयूका सांसदहरूले भारतीय नागरिकता कानूनलाई भेदभावपूर्ण बताउँदै यसका विरुद्ध संयुक्त रुपले प्रस्ताव पारित गरेका थिए । तर, भारतले भारतीय नागरिकता कानून (सीएए) भारतको आन्तरिक विषय बताउँदै आएको छ ।
मानव अधिकार आयोगले पनि भारतीय नागरिकता कानूनलाई खारेज गर्नुपर्ने बताएको छ । गत महीना संयुक्त राष्ट्र संघको मानव अधिकार आयोगले सीएए भेदभावपूर्ण भएकाले खारेज गर्नुपर्ने बताएको थियो ।
भारतले नागरिकता कानून गत डिसेम्बरमा लागू गरेको थियो । यस कानूनमा पाकिस्तान, बांग्लादेश तथा अफगानिस्तानबाट आएका पीडित गैरमुस्लिम समुदायलाई नागरिकता दिने उल्लेख गरिएको छ ।
सीएए ल्याइएपछि भारतभर आन्दोलन तीव्र भएको थियो । आन्दोलनका क्रममा दर्जनौंको ज्यान गएको थियो । –एजेन्सीबाट