जामिया विश्वविद्यालयको सडकमा "आजादी" माग्नेलाई खोज्दै हिँड्ने बन्दुकधारी पक्राउ
भारतको जामिया विश्वविद्यालय बाहिरको सडकमा एक बन्दुकधारीले चलाएको गोली लागेर एकजना विद्यार्थी घाइते भएका छन् ।
हातमा पेस्तोल समातेर "आजादी माग्नेहरु अगाडी आउ" भनेर चिच्याउँदै पेस्तोल ताकी रहेका ती युवाले फायर खोलेपछि घाइते भएका विद्यार्थीको अहिले उपचार भइरहेको छ । उक्त हतियारधारी युवालाई प्रहरीले नियन्त्रणमा लिएको 'इन्डिया टूडे'ले जनाएको छ ।
उक्त व्यक्तिले हतियार देखाएर "ए लो आजादी" भन्दै सडकमा आतंक फैलाएका थिए ।
उक्त घटनाको फोटो र भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेका छन् ।
भारतमा केही महिनायता सीएए बिरोधी आन्दोलनले चलिरहेको छ । सत्तारुढ दल बीजेपीका एकजना मन्त्रीले यही हप्ता सीएए विरोधी आन्दोलन गर्नेहरुलाई ठेगान लगाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको खबर सार्वजनिक भएको थियो ।
"यसै हप्ता एकजना मन्त्रीले "देशका गद्दारहरुलाई गोली हान्नुपर्छ" भनेका थिए" वासिङ्टन पोस्टकी इन्डिया क्रसपोन्डेन्ट निहा मसीले ट्विटरमा भिडियो श्येर गर्दै लेखेकी छन् ।
जामियको छात्रवासमा केही समयअघि प्रहरी नै पसेर तोडफोड गरेको भन्ने घटना सार्वजनिक भएको थियो । पछिल्लो समय भारतमा यस्ता घटना लगातार दोहोरी रहेका छन् ।