किन गर्ने सम्झनाको संरक्षण ?
डायरी, चिट्ठीपत्र, तस्वीर, श्रव्यदृश्य सामग्री, उपहार, प्रयोगमा ल्याएका चीजबिज, पढेका किताब वा छोएका जुनसुकै वस्तु आदि । सम्झनालाई संरक्षण गर्ने यस्ता थुप्रै साझा चीज छन्, जुन समयक्रममा अमूल्य बन्छन् । व्यक्ति नरहे पनि तिनको अस्तित्वको आभास तिनले छाडेर गएका चीजहरूले दिलाउँछन् ।
इन्टरफेस नेपाल संस्थाकी कार्यक्रम निर्देशक शिखा प्रसाईंलाई नै लिऊँ । शिखासँग अहिले पनि ४७ वर्षअघिको आफ्नै पास्नीमा आमा शारदा प्रसाईंले हातैले बुनेको फ्रक साथै छ । उनी सेन्ट मेरी प्रिपाराटोरी स्कूलमा पढ्दा सन् १९७९ मा बुवा प्रजापति प्रसाईंले तिरेको ट्यूसन शुल्कको रसिद मात्र होइन, १९८० को दशकमा बुवाले तिब्बतको ल्हासाबाट ल्याइदिएको गहना पनि छ ।
“अहिले बुवा हुनुहुन्न, तर बुवाले ल्याइदिएका, बुवासँग जोडिएका सामान देख्दा उहाँको यादसँगै सामानको माया पनि लागेर आउँछ”, शिखा भन्छिन् । उनी स्वयंले भने विभिन्न समयका भिन्न देशहरूका हुलाक टिकट, तस्वीर, अटो बुक, यात्राका सामग्री, मुद्रा लगायतका केही सामग्री र बढ्दै गएका छोराछोरीको सानाका लुगा, खेलौना, उपहार, शुभकामना कार्ड, चित्रकलालाई पनि जतनसाथ राखेकी छन् । भन्छिन्, “एकसाथ सबै नहुँदा परिवारमा हामी लेखेर संवाद गर्छौं, लेखिएका धेरैजसो कागज राख्ने गरेकी छु ।”
सम्झना अर्थात् इतिहास
व्यक्तिको सम्झना संज्ञानात्मक स्नायु विज्ञानसँग सम्बन्धित हुन्छ । तर, व्यक्तिको मस्तिष्कको स्मरणभन्दा सम्झनाको आयु लामो हुन्छ । सम्झनालाई संरक्षण गर्न सके यो सम्पदा बन्छ, इतिहास बन्छ । जानकारहरू यस्ता सम्झना सचेततापूर्वक संरक्षण गर्न नसके समाज सामूहिक विस्मरणमा जाने खतरा देख्छन् ।
सम्झनाको एउटा सजीव माध्यम तस्वीर मार्फत इतिहास बताउने उद्देश्यले ललितपुरको फोटो सर्कलले सन् २०११ मा नेपाल पिक्चर्स लाइब्रेरी परियोजना शुरु गर्यो, जसमा अहिलेसम्म १ लाख २० हजार जति तस्वीरलाई डिजिटाइज गरिसकिएको छ । संकलित अधिकांश तस्वीरमा शासक वा विजेताहरूको नभई आम मानिस, महिला, दलित, आदिवासी, जनजाति, अल्पसंख्यक र विजित वर्गका कथा पाइन्छ । ‘फेमिनिष्ट मेमोरी प्रोजेक्ट’ तिनैमध्येको एक परियोजना हो ।
“संसारमा शक्तिको बलमा इतिहास लेखिन्छ, लेखाइन्छ । हामी समावेशी तस्वीरका माध्यमबाट घोकन्ते शैलीको इतिहासलाई चुनौती दिन चाहन्छौं”, लाइब्रेरीकी सह–संस्थापक एवं निर्देशक नयनतारा गुरुङ कक्षपति भन्छिन् । लाइब्रेरीले दृश्य मानवशास्त्र अनुसन्धान पद्धति मार्फत तस्वीरका साथै आवश्यक अन्य लेखोट र सामग्री संकलन पनि गरिरहेको छ । ‘कथ्य इतिहास’ पनि लाइब्रेरीको कार्यक्षेत्र हो ।
हिजोसम्म विद्यालयमा अटो बुक बनाएर साथीहरूलाई रुचिका सूची लेखाउने, तस्वीर टाँस्न लगाउने पुस्ता अब सामाजिक सञ्जालमै साथीहरूको समूह बनाउन थालेको छ । फेसबूक, इन्स्टाग्राममै अल्बम बनेका छन् । पुराना सम्झनाका लागि पनि सामाजिक सञ्जाल नै सारथि बनिरहेका छन् । सामाजिक सञ्जाल, इमेलबाटै ई–ग्रिटिङ कार्ड मार्फत शुभकामना प्रकट गर्न थालिएको छ, समारोहमा निमन्त्रणा गर्न थालिएको छ । चिट्ठी लेखेर मनका कुरा अभिव्यक्त गर्ने चलन अब दुर्लभ भइसक्यो । पोष्ट बक्स नम्बरको ठाउँ इमेल अड्रेसले लिइसकेको छ ।
व्यक्तिका निजी सम्झनाहरूलाई लिपिबद्ध गर्ने उद्देश्यले पछिल्लो समय आत्मकथा लेख्ने, लेखाउने प्रचलन बढेको छ । दिवंगतका नाममा स्मृति गन्थ प्रकाशित गर्ने, खोजीनिती गर्ने काम पनि बढेको छ । यो पनि सम्झना संरक्षणकै उपाय हो । शिखा बुवाको नाममा नौ वर्षअघि स्थापित पीपी प्रसाईं फाउण्डेसनले हरेक वर्ष उत्कृष्ट शिक्षकहरूलाई सम्मानित गर्ने काम पनि सम्झनाकै अङ्ग भएको बताउँछिन् ।
सूचनाप्रविधिको भर
हिजोसम्म विद्यालयमा अटो बुक बनाएर साथीहरूलाई रुचिका सूची लेखाउने, तस्वीर टाँस्न लगाउने पुस्ता अब सामाजिक सञ्जालमै साथीहरूको समूह बनाउन थालेको छ । फेसबूक, इन्स्टाग्राममै अल्बम बनेका छन् । पुराना सम्झनाका लागि पनि सामाजिक सञ्जाल नै सारथि बनिरहेका छन् । सामाजिक सञ्जाल, इमेलबाटै ई–ग्रिटिङ कार्ड मार्फत शुभकामना प्रकट गर्न थालिएको छ, समारोहमा निमन्त्रणा गर्न थालिएको छ । चिट्ठी लेखेर मनका कुरा अभिव्यक्त गर्ने चलन अब दुर्लभ भइसक्यो । पोष्ट बक्स नम्बरको ठाउँ इमेल अड्रेसले लिइसकेको छ ।
इन्टरनेट र डेटाको यो युगमा सम्झना संग्रहको माध्यम परिवर्तन भएको छ । तर, यसका जोखिम पनि छन् । इमेल ह्याक भएमा, सर्भर क्र्यास भएमा वा नयाँ प्रविधिले पुरानो भर्सनहरूलाई ‘सपोर्ट’ नगर्ने अवस्थामा हाम्रा डिजिटल डेटाको भविष्य के हुने भन्नेबारे पश्चिमाहरू सतर्क हुन थालेका छन् । ऐतिहासिक कागजात, पुस्तकको ‘डिजिटाइज’ अभिलेखीकरणले केही राहत त दिएको छ । तर, यसको ‘ब्याकअप’ सुरक्षाका लागि पनि डेटामै भर पर्नु परेको छ ।
व्यक्तिका लागि कुन वस्तु पछिसम्मका लागि सम्झनायोग्य हुनसक्छ, जवाफ फरक फरक हुनसक्छ तर समयसँगै परिवर्तन हुने चीजमा मात्र केन्द्रित हुन सके पनि सम्झनालाई केही हदसम्म सँगाल्न सकिन्छ । “हातैले चिठी लेख्न सक्नु अहिलेका लागि धेरै प्राचीन र भावनात्मक कुरा हुनसक्ला” नयनताराको सुझाव छ, “तर, तस्वीरहरू सामाजिक सञ्जालमा मात्र नराखेर अन्यत्र पनि सुरक्षित राख्नु विकल्प हुनसक्छ ।”