नेकपामा कहाँ हराए मनमोहन अधिकारी ?
पार्टी एकीकरणका डेढ वर्ष पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बुधबार राष्ट्रियसभा गृहमा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले उद्घाटन गरेको बैठक हप्ता दिनसम्म चल्न सक्ने अनुमान गरिएको छ ।
अध्यक्ष ओलीको उद्घाटन सम्बोधन गरेको बैठकमा अध्यक्ष द्वयको राजनीतिक प्रतिवेदन तथा महासचिव बिष्णुप्रसाद पौडेलको सांगठानिक प्रतिवेदन माथि छलफल हुने कार्यतालिका तय गरिएको छ । यसका लागि समूहगत छलफल हुनेछ ।
तर, एजेण्डाबारे धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरुले भने बैठक स्थलमा टाँगिएको तस्वीरबारे प्रश्न उठाएका छन् । उद्घाटन सत्रमा पुष्पलाल र मदन भण्डारीको तस्वीरसँगै अध्यक्षद्वय ओली र दाहालको पनि तस्वीर राखिएको छ ।
यसअगाडि पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर राखिदै आएको थियो । यसपटक भने मनमोहन अधिकारीको तस्वीर हटाइएको छ । गत वैशाखमा नेकपाले मनाएकाे स्थापना दिवसमा समेत मनमाेहन अधिकारीकाे तस्वीर राखिएकाे थियाे ।
अध्यक्ष द्वयको तस्वीर भने दायाँबायाँ राखिएको छ । जिवितै रहेका नेताहरुको तस्वीर राखेर बैठक चलाइएको भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाए ।
केन्द्रीय सदस्य राजेन्द्र राईले कार्यकर्ताका लागि एघार बुँदे आचारसंहिता जारी गर्दा नेतृत्वका लागि पनि संहिता बन्नुपर्ने बताए ।
राईको प्रश्न थियो, “कार्यकर्तालाई संहिता जारी गरिएको छ । तर, नेतृत्व आफैले आफ्नो तस्वीर राखेर बैठक चलाउने निर्णय कहाँबाट भयो ?”
उनले बैठक हलको तस्वीरले राजतन्त्रको झल्को दिएको बताएका थिए । राईको प्रश्न थियो, “हामी नमस्कार होइन, अभिवादन भन्छौं । कम्युनिष्टमा सवै साथी हुन्छन् । यो राजारानी जस्तो तस्वीर राखेर के गर्न खोजिएको हो ?”
अर्का केन्द्रीय सदस्य जगनाथ खतिवडाले अध्यक्षद्वयको तस्वीर राखिएकोमा आपत्ति जनाए । उनले सोधे, “अध्यक्षज्यू आफ्नै तस्वीर राखेर बैठक चलाउँदा कस्तो अनुभूति भइरहेको छ ?”
पार्टी एकीकरण अगाडि एमालेले माक्र्स, एङ्गेल्स र लेनिनको तस्वीर सँगै पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर राख्ने गरेको थियो भने माओवादी केन्द्रले भने माक्र्स, एङ्गेल्स, लेनिन र माओको तस्वीर राख्ने गरेको थियो ।