एमसीसीबारे धेरै भ्रम फैलाइयो, अब संसदबाट पारित हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न अनावश्यक ढिलाई भएको बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले एमसिसी नेपालको विकासका लागि नेपालको कानुनको र स्वाभिमानभित्रै रहेर गरिएको सम्झौता भएको बताएका हुन् ।
साथै उनले एमसीसी इन्डोप्यासिफिकसँग नजोडिनेसमेत प्रस्ट पारे । "हामी आफ्नो इन्ट्रेस्टका पक्षमा कुद्ने हो, अरुका निम्ति होइन," उनले भने ।
उनले अबको संसद्बाट छिटै एमसीसी पास हुने भन्दै यस विषयमा भ्रम नपाल्न आग्रह गरे ।
ओलीले एमसीसी सम्झौताको विषयमा अनावश्यक भ्रम फैलाइएको सम्झौताका कुनै पनि बुँदामा समस्या नरहेको प्रस्ट पारे ।
उनले एमसीसीमार्फत हुने सम्झौता अनुसार प्राप्त रकम विकासमा मात्र खर्च गर्न पाइने सर्त र सैन्य क्षेत्रमा खर्च गर्न नपाइने सम्झौता भएको दावी गरे ।
एमसीसी सम्झौता कार्यान्वयन गराएर जान नसक्दा अनावश्यक विवाद र खर्च बढेको उनको भनाइ थियो ।