वीरेन्द्रनगरमा कर्फ्यू, गोली लागेर दर्जन बढी घाइते
चालकको लापरवाहीबाट घटना भएको भन्दै चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग राख्दै विरोध प्रदर्शन हुन थालेपछि मंगलबार साँझ कर्फ्यू लगाइएको सूचना स्थानीय प्रशासनले जारी गरेको छ ।
मंगलबार विहान टिप्परको ठक्करबाट युवकको ज्यान गएपछि दिनभर प्रदर्शन भएको र प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले मंगलबार बेलुकी साढे ६ बजेदेखि वुधबार विहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
मंगलबार विहान ८ बजे वीरेन्द्रनगरको एरिचोकमा मोटरसाइकलमा सवार भएको वेला कालिकोटको महावै गाउँपालिका–३ सिमखेतका २० वर्षीय केशरसिंहको घटनास्थलमै ज्यान गएको थियो । उनी सवार भे१प २१७८ नम्बरको मोटरसाइकललाई भे१ख २२४२ नम्वरको टिप्परले ठक्कर दिएको थियो ।
युवकको मृत्यु भएपछि स्थानीयले घटनाको विरोधमा दिनभर सडकमा टायर बालेर प्रदर्शन गर्दा बजार पूर्ण रुपमा बन्द भएको थियो भने यातायात ठप्प बनेको थियो ।
विरोध प्रदर्शन नरोकिएपछि जिल्ला सुरक्षा समितिको बैठकवाट कफ्र्यू लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार वीरेन्द्रनगरको पूर्व इत्राम खोला, पश्चिम बांगेसिमल, उत्तर कपासे ब्यारेक र दक्षिण राजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू आदेश गरिएको छ । घटनाको विरोधमा प्रदर्शन वढ्दै गएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको थियो ।
झडपमा अश्रुग्यास प्रहार गर्दा पनि नियन्त्रण नभएपछि प्रहरीले गोली चलाएको बताएको छ । गोली लागेर दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइसकिएको र घटनाबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।
यज्ञराज थापा, दैलेख