माथिल्लो तामाकोशी आयोजनाः असारसम्म परीक्षण उत्पादनको तयारी
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी असारभित्र परीक्षण उत्पादन शुरु गर्ने तयारी गरेको छ ।
ढिला भएको आरोप खेपिरहेको आयोजनाले ९८ प्रतिशत काम सकिएकाले आगामी असारसम्म परीक्षण उत्पादन शुरु हुने जनाएको हो ।
“हामी असारभित्र परीक्षण उत्पादन शुरु गर्ने तयारीमा छौं”, आयोजना प्रमुख दिनेशजंग राणाले भने, “केही समस्या देखिए १०\१५ दिन ढिला हुन सक्ला ।”
दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाका लागि ब्याज बाहेक ४९ अर्ब २९ करोड लागत प्रक्षेपित गरिएको जनाइएको छ ।
३६ अर्बमा निर्माण सम्पन्न हुने भनिए पनि विभिन्न कारणले आयोजनाको लागत बढेको तर अहिले पनि यो आयोजना नेपालको सबैभन्दा सस्तो आयोजना नै भएको आयोजना प्रमुख राणाले बताए।
आयोजनाको झण्डै ९८ प्रतिशत काम सम्पन्न भइसकेकोले आगामी असारभित्र एउटा टर्वाइनबाट ७६ मेगावाट परीक्षण उत्पादन हुने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए । आयोजनामा ६ वटा टर्वाइन रहेको र प्रत्येक टर्वाइनबाट ७६ मेगावाट विद्युत उत्पादन हुने पनि आयोजनाका प्रवक्ता डा न्यौपानेले बताए ।
लट १ को सिभिल कार्य अन्तर्गत बाँध, इन्टेक, डिस्यान्डर, विभिन्न सुरुङहरू, सर्ज ट्याङ्क, पेनस्टक, भूमिगत विद्युतगृह आदि निर्माण कार्यहरूका लागि चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडसँग खरीद सम्झौता गरी हेडवक्र्सको सम्पूर्ण कार्यमध्ये ९९.८ प्रतिशत कार्य सम्पन्न भई आगामी फागुन महीनासम्ममा परीक्षण गर्ने तयारी रहेको प्रवक्ता डा न्यौपानेको भनाइ छ ।
त्यसैगरी लट २ को हाइड्रो मेकानिकल अन्तर्गत बाँधमा गेटहरू जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । लट नं.२ का ठेकेदारले ३७३ मिटरको तल्लो प्रेसर स्याफ्टमा पेनस्टक पाइप जडान गर्न सक्ने कार्य सम्पादन गर्ने क्षमता नपाइएको हुनाले सो कार्य एन्ड्रिज हाइड्रो मार्फत गराउन आवश्यक सम्झौता गराई कार्य अगाडि बढाइएको छ।
शनिबारसम्म २ सय मिटर पेनस्टक पाइप राख्ने कार्य सम्पन्न भइसकेको र ३१० मिटरको माथिल्लो पेनस्टक साफ्टमा लट नम्बर २ का ठेकेदारबाट १ सय मिटर पाइप जडानको कार्य सम्पन्न गरिएको जनाइएको छ ।
त्यसैगरी लट ३ को इलक्ट्रोमेकानिकल अन्तर्गत अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रो जीएमबीएचसँग आयोजनाका मुख्य मेसिन र उपकरणहरू टर्वाइन, जेनेरेटर, ट्रान्सफर्मर, स्वीचगियर, भल्व, गभर्नर र सोसँग सम्बन्धित उपकरणहरूको डिजाइन, जडान, परीक्षण र कमिसनिङ गर्न खरीद सम्झौता गरिएको छ ।
ती सामानहरू साइटसम्म ढुवानी गरी १ देखि ६ नम्बर युनिट सम्मको जडान कार्य सम्पन्न गरी ड्राई कमिसनिङ कार्य समेत सम्पन्न भएकोे आयोजनाले जनाएको छ ।
लट ४ को प्रसारण लाइन तथा सबस्टेशन अन्तर्गत भारतीय कम्पनी केईसी इन्टरनेशनल लिसँग विद्युत गृहस्थल गोंगरदेखि खिम्ती सबस्टेशनसम्म २२० केभी क्षमताको ४७ किमी लामो प्रसारणलाइन र खिम्तीमा सबस्टेशन कार्यहरूको डिजाइन, निर्माण, परीक्षण र कमिसनिङ गर्न खरीद सम्झौता गरिएको छ ।
गोंगरदेखि खिम्तीसम्म निर्माण हुने १२७ वटा टावरहरूमध्ये हालसम्म सबै १२७ वटै टावरहरूको जग निर्माण कार्य तथा टावरहरूको जडान कार्य सम्पन्न भइसकेकोे, ४७ किमी लामो प्रसारण लाइनमा तार तान्ने कार्य समेत सबै सम्पन्न भएको आयोजनाका प्रवक्ता डा न्यौपानेले बताए।
सर्मिला बुढाथोकी